१३औँ साग : पुरुष क्रिकेटमा नेपालले जित्याे कांस्य पदक

 मंसिर २३, २०७६ सोमबार १२:११:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियाेगिता (साग) मा नेपाली पुरुष क्रिकेट टिमले काश्य पदक जितेको छ । माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले कांस्य पदक हात पारेकाे हाे ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङकाे निम्ताे पाएकाे माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायाे ।

माल्दिभ्सका लिम साफेगले अविजित १९ तथा मोहमद रिजवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन बनाए । अमिल माउरुफले १३ रन जोडे । नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए ।

जवाफमा नेपालले १६ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍याे । नेपालले सुरुवात भने राम्रो गर्न सकेन । पाँच रन हुँदा पहिलो विकेट गुमाएको नेपालले ४४ रनमा दोस्रो विकेट खेर फाल्यो ।

त्यसपछि पनि नेपालको विकेट झर्ने क्रम रोकिएन । उसले ६० रन बनाउँदा चार विकेट खेर फाल्यो । नेपालका लागि पारस खड्काले तीन रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २२ तथा आरिफ शेखले ३२ रन बनाए । यस्तै दिपेन्द्र ऐरी दुई रनमा पेभेलियन फर्किए । विनोद भण्डारी पनि १२ रनमा आउट भए ।

साग क्रिकेटमा नेपालले काश्य पदक जितेको याे पहिलो पटक हो । भारत र पाकिस्तान नभएको अवस्थामा नेपालले स्वर्णको लक्ष्य राखेको भए पनि श्रीलंका र बंगलादेशसँग पराजित हुँदा नेपालले कांस्यमा चित्त बुझाउन परेकाे हाे । महिला क्रिकेटमा पनि नेपालले कांस्य नै जितेको छ ।

पुरुषतर्फको क्रिकेट प्रतियाेगिताकाे स्वर्णको लागि सोमबार नै श्रीलंका र बंगलादेश खेल्ने छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया