मध्यपुर थिमिले स्वर्ण विजेता मन्डेकाजीलाई नगरपरिक्रमा गराउँदै दियाे ५ लाख रुपैयाँ पुरस्कार

 मंसिर २८, २०७६ शनिबार १६:३५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - मध्यपुर थिमि नगरपालिकाले तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा करातेमा दुई स्वर्ण विजेता मध्यपुरथिमि नगरपालिका–४, बालकुमारी निवासी मन्डेकाजी श्रेष्ठलाई नगद ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ ।

नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले सागमा राष्ट्रलाई पहिलो स्वर्ण पदक दिलाउने तथा दुई वटा स्वर्ण दिलाएर मध्यपुर थिमि नगरपालिकाको मात्र नभई राष्ट्रकै नाम उच्च राख्न सफल भएको भन्दै नगरपालिकाले नगदसहित सम्मान पत्र प्रदान गरेर सम्मान गरेको बताउनुभयो ।

स्वर्ण पदक विजेता खेलाडी मन्डेकाजी, खेल प्रशिक्षकलाई फूल माला लगाएर नगरपालिकाले शनिबार बाजागाजाका साथ बोडेबाट सुरु गरेको विशाल र्‍यालीसहितको नगर परिक्रमा नगदेश, चपाचोलगायत विभिन्न ठाउँको परिक्रमा गरी बालकुमारीमा आएर सम्मान गरिएको थियो ।

मेयर श्रेष्ठले मन्डेकाजीले नेपाली खेलकुदको इतिहासमा २० वर्षपछि सागमा देशलाई दुई वटा स्वर्ण पदक दिलाएर मध्यपुर थिमिसँगै देशको नाम अन्तर्राष्ट्रिय जगतमा पुर्‍याएको भन्दै चर्चा गर्नुभयो । एसियन गेम र ओलम्पिकमा समेत स्वर्ण जित्न शुभकामना दिँदै उहाँले यसका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।

कार्यक्रममा सम्मानित खेलाडी मन्डेकाजीले आफ्नै गुरु गंगाराम महर्जनले २० वर्ष अगाडि ल्याएको स्वर्णको रेकर्ड तोड्दै एकैपटक एकल काता र टिम कातामा स्वर्ण पदक ल्याउन सफल भएको बताउनुभयो । उहाँले मध्यपुरथिमिमा पनि यो खेललाई अगाडि बढाउन आफूले प्रशिक्षण सञ्चालन गर्ने समेत घोषणा गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका उपमेयर अञ्जनादेवी मधिकर्मी, मन्देकाजीका प्रशिक्षकद्वय गंगाराम महर्जन, सजन श्रेष्ठ, मन्देकाजीका पिता बाबुकाजी श्रेष्ठलगायतले मन्डेकाजीले खेल जगतमा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा स्थानीय बालप्रेमी माध्यमिक विद्यालयले पनि सम्मान गरेको थियो । यसअघि सरकारले मन्डेकाजीलाई ११ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ । 

सरकारले सागमा एक स्वर्ण जित्नेलाई ९ लाख, रजत जित्नेलाई ६लाख र कांस्य जित्नेलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ । त्यस्तै दुई वा दुईभन्दा बढी स्वर्ण पदक विजेतालाई भने सरकारले ११ लाख रुपैयाँ दिने घोषणा गरेको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया