सिप्रदीको ‘स्किल अप’ कार्यक्रम : ६ महिने नि:शुल्क तालिम

 पुस १, २०७६ मंगलबार २०:२७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिप्रदीयन सहायता संस्था र सिप्रदी ट्रेडिङ प्रालिको सहकार्यमा निशुल्क ‘स्किल अप’ तालिम कार्यक्रम भइरहेको छ ।

सिप्रदी ट्रेडिङ प्रालिको ग्लोबल सर्भिस क्याम्प सुरु भएको दिन डिसेम्बर ५ तारिखमा यस वर्षको स्किल अप तालिम कार्यक्रमकाे उद्घाटन गरिएको छ । यो कार्यक्रम सिप्रदीको विभिन्न च्यानल पार्टनरहरु जस्तै आधिकारिक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज, आकस्मिक मर्मत सेवा लगायतबाट सिफारिस गरिएका प्रशिक्षार्थीको लागि ६ महिने तालिम कार्यक्रम हो ।

तालिममा डडेल्धुरा, अछाम, रामेछाप लगायत जिल्लाका १५ जना प्रशिक्षार्थीहरुले भाग लिएका छन् । कार्यक्रमको उद्देश्य सिप्रदीको कम्पनी सँगसँगै च्यानल पार्टनरहरुको पनि विकास गरी दक्ष र तालिम प्राप्त प्राविधिकहरु उत्पादन गर्नुको साथै पछि सिप्रदीको च्यानल पार्टनरमा गएर काम गरुन् भन्ने हाे ।

तालिममा सहभागी हुनका लागि एसईई  वा टी–एसईई  पास गर्नुपर्ने हुन्छ ।अटोमोबाइल क्षेत्रमा प्रयोग हुने सामान अत्याधुनिक बन्दै गइरहेका बेला जनशक्ति पनि त्यही अनुसारको चाहिने हुँदा तालिम दिन थालिएको हाे ।

यो ६ महिने तालिममा प्रशिक्षार्थीहरुलाई होस्टेलमै राखिन्छ । सुरुको २ महिना प्रशिक्षार्थीहरुका लागि सिप्रदीको तालिम केन्द्रमा टाटा गाडीका विभिन्न टेक्नोलोजिको बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गर्ने र त्यसपछि ४ महिना सिप्रदीकै विभिन्न वर्कशपमा अन द जब तालिमको लागि पठाउने व्यवस्था मिलाइएको छ । वर्कशपमा अन द जब तालिम गर्न थालेपछि भने उनीहरुलाई तालिम भत्ता पनि दिइन्छ ।

तालिम सकेपछि प्रशिक्षार्थीहरुको लिखित र प्राक्टिकल परीक्षा लिएर त्यसमा उत्तीर्ण हुनेलाई सुरुमा तालिमका लागि सिफारिस गरेको च्यानल पार्टनरको वर्कशपमा काम गर्न पठाइन्छ ।

यस वर्ष चलिरहेको स्किल अप कार्यक्रम दास्रो संस्करण हो । कार्यक्रमको पहिलो संस्करण यसअघि डिसेम्बर २, २०१८ देखि मे ३१, २०१९ सम्म चलेको थियो ।

सिप्रदीयन सहायता संस्थाको बारेमा 

सन् २०१२ देखि सञ्चालनमा रहेको सिप्रदीयन सहायता संस्था गैरनाफामूलक, गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्था हो । सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्व जिम्मेवारीसम्बन्धी गतिविधिहरू सञ्चालन गर्न यस संस्थाको स्थापना गरिएको हो ।

यस संस्थाले योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम गाउँहरूमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहयोग प्रदान गर्ने उद्देश्य लिएको छ । साथै संस्थाले जेष्ठ नागरिकहरु, टुहुरा बालबालिकाहरु, अपाङ्गता भएका  व्यक्तिहरुलाई सेवा र सहयोग पुर्याउने लक्ष्य लिएको छ ।

यसका साथै संस्थाले प्राकृतिक विपद् र प्रकोपबाट पीडितहरूको आपतकालीन उद्धार, सहयोग तथा पुनर्स्थापनासम्बन्धी कामामा सहयोग गर्दै आएको छ । यसै सन्दर्भमा सिप्रदीको निशुल्क ‘स्किल अप’ तालिम कार्यक्रम पनि भइरहेको छ ।

अटोमोबाइल्स क्षेत्रमा दक्ष प्राविधिक जनशक्तिको कमी

नेपालमा प्राविधिक क्षेत्रमा काम गर्ने जनशक्ति कम छन् । त्यसैले पनि अटोमोबाइल्स क्षेत्रमा आवश्यक  दक्ष प्राविधिक जनशक्तिको अभाव छ । पछिल्लो समय विद्यालयस्तरबाटै प्राविधिक शिक्षा दिन थालिएकोले भविष्यमा अटोमोबाइल्स क्षेत्रमा पनि पर्याप्त जनशक्ति आउने कुरामा आशावादी हुन सकिन्छ ।तर अहिलेको अवस्थामा दक्ष प्राविधिक जनशक्तिको अभाव नै छ ।

अटोमोबाइल्स क्षेत्रमा आबद्ध कम्पनीहरुको दायित्व गाडी बेच्नु मात्र होइन । मेशिनरी वस्तु भएकाले गाडी बिग्रन सक्छ त्यसैले बिक्रिपछिको सेवालाई ध्यानमा राखेर प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने हुन्छ ।

यसै अनुरुप सिप्रदीले कम्पनीसँग आबद्ध संघसस्थाका प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम दिइरहेको छ । यसभन्दा बाहिर रहेका तर अटोमोबाइल्स क्षेत्रमा काम गर्ने थुप्रै जनशक्तिका लागि पनि सिप्रदीले बेलाबेलामा तालिम कार्यक्रमको आयोजना गरिरहेको हुन्छ । सिप्रदीको ट्रेनिङ अन ह्वील्स कार्यक्रम छ जुन कार्यक्रमले सबै जिल्लामा गएर वर्कशपहरुमा तालिम दिन्छ ।


( सिप्रदीको मानव संशाधन शाखा प्रमुख शारदा रानासँग सहकर्मी मल्लिका थापाले गर्नुभएको कुराकानीमा आधारित )
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया