'बलात्कार हाेइन' भन्दै गलत रिपाेर्ट बनाउने दुई जना डाक्टरलाई जेल सजाय

 पुस २, २०७६ बुधबार १८:२४:३७ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - बलात्कार घटनामा गलत रिपोर्ट दिने  तत्कालीन जनकपुर अञ्चल अस्पतालका दुई चिकित्सकलाई ‍अदालतले जरिबानासहित कैद सजाय ताेकेकाे छ ।

मंगलबार विशेष अदालत काठमाण्डाैले डाक्टर विजयकुमार सिंह र डाक्टर रम्भा गाेइतलाई ६ महिना कैद र २५ हजार रुपैयाँ जरिबाना ताेकेकाे हाे । 

धनुषाको जनकनन्दिनी गाउँपालिकाकी भएकाे एउटा बलात्कारकाे घटनामा बालिकाको नमुना परीक्षणपछि बलात्कार नभएको गलत प्रतिवेदन दिएको मुद्दामा डा. सिंह र डा. गोइतलाई अदालतले कैद सजाय सुनाएको हो ।

विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अस्पतालमा कार्यरत रहेका उनीहरुले अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै १६ कात्तिक २०७५ मा मुद्दा दायर गरेको थियो ।

डाक्टर सिंह र डाक्टर गोइतलाई  न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहारविपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै उनीहरुको व्यावसायिक प्रमाणपत्र यसअघि नै निलम्बन गरिएको थियो । घटनाबारे अध्ययन गर्न नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानबिन समितिले दुई डाक्टरलाई चिकित्सकीय अभ्यासबाट वञ्चित गराउने निर्णयसमेत गरेको थियो ।

२०७५ भदौ ८ गते धनुषाको जनकनन्दिनी गाउँपालिका-२ की बलात्कृत बालिकाको नमुना परीक्षणपछि बलात्कार नभएको प्रतिवेदन उनीहरुले दिएका थिए । अपराधीलाई जोगाउन उनीहरुले यस्तो प्रतिवेदन दिएको अध्ययनमा पाइएको थियो ।

जनकपुर र सिरहामा बालिकाको नमुना परीक्षणको फरक फरक प्रतिवेदन आएपछि मेडिकल काउन्सिलले डाक्टर कालुसिंह खत्रीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो ।

समितिले बयानका लागि बोलाउँदा अटेर गरी बसेको भन्दै जिल्ला अस्पताल सिरहाका चिकित्सक सिंहलाई सात दिनको म्याद दिई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको समितिका प्रवक्ता डाक्टर कृष्णप्रसाद अधिकारीले जानकारी दिएका छन ।

धनुषाको जनकनन्दनी गाउँपालिकाकी १२ वर्षीया बालिकालाई २०७५ भदौमा घरमा सुतिरहेका बेला छिमेकी २३ वर्षीय किरण खत्वेले बालात्कार गरेका थिए । तर त्यस घटनामा यी दुई चिकित्सकले अपराधीलाई जोगाउन बलात्कार नै नभएको भन्ने गलत रिपोर्ट दिएका थिए । तर, पीडित परिवारले अञ्चल अस्पतालको रिपोर्टमाथि चित्त नबुझेपछि गत भदौ २५ गते जिल्ला अस्पताल सिरहामा बालिकाको पुनः स्वास्थ्य परीक्षण गराउँदा बलात्कार भएको रिपोर्ट आएको थियो ।

आरोपित खत्वेले प्रहरीसमक्ष आफूले बलात्कार गरेकाे स्वीकार गरिसकेका छन् । त्यही बयानको आधारमा जिल्ला अदालत धनुषाले उनलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो ।

तर यी दुवै चिकित्सकमाथि केही कारबाही नहुँदा मुद्दा जिल्ला अदालतमा विचाराधीन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अन्तिम अपडेट: असोज २६, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया