कविता - म शिक्षक !

 पुस ५, २०७६ शनिबार १४:५२:१९ | विष्णु ढुंगेल
unn.prixa.net

हो, म शिक्षक हुँ ।
एउटा दृढ संकल्प,
अटल भरोसा,
समृद्ध सोचाइ ,
अनि परिवर्तित मानसिकता बोकेर
समाजमा चेतनाको सन्देश छर्ने,
विकृति र विसङ्गति विरूद्ध धावा बोल्ने,
नुतन आविष्कारमा रम्ने,
अनि सम्मानित भएर जिउने,
हो, यस्तै सोच लिएर,
म शिक्षक भएको हुँ ।

मलाई कसैको धन चेतनाले छुँदैन ।
न त छिमेकीको महलको डाह छ,
न त नेताजीको पजेरोको चाह छ,
सिर्फ मलाई यति मात्रै थाहा छ,
म शिक्षक हुँ ।

मैले समाज परिवर्तनको अगुवाइ गर्नुछ ।
कामचोर, अल्छे अनि ठगको उपमा मेट्नु छ ।
हरेक झुपडीबाट आइस्टाइन र डार्बिन खोज्नु छ
मैले यो पनि बुझाउन जरूरी छ कि,
म मेरो सम्पत्ति बढाउन काम गर्दै छैन
अनि मैले पैसाको लागि इज्जत बेच्ने होइन ।
मेरो दिमाग समृद्ध भोलिको खोजीमा छ,
त्यसैले म,
फुरूक्क हुन्छु,
मेरा शिष्यहरूको प्रगति देखेर,
उनीहरूको खुशी देखेर,
सफलता र प्रगति देखेर
किनकि,
म शिक्षक हुँ ।

मेरो खुम्चिएको कपडामा अनुभव लुकेको छ,
खुइलिएको तालुभित्र दक्षता भरिएको छ,
अनि फुस्रिएका आँखामा दुनियाँ सजिएको छ ।
अब मैले,
महलवासीलाई सिकाउनु छ,
बुद्धिले धन प्राप्त हुन्छ,
ज्ञानले चन्द्रमा नजिकिन्छ,
सिपले सागरमा बस्ती बस्छ,
खोजले दोस्रो दुनियाँ मिल्छ ।
त्यसैले,
म त्यस्ता महानयात्रीहरूको विकासमा लागेको छु ।
जसलाई संसारले चिनोस्,
दुनियाँ उसकै अनुयायी बनोस्,
अनि घर ठेगाना सोध्दा,
छाती फुलाएर म नेपाली हुँ भन्न सकोस् ।
किनकि म मात्रै त्यस्तो पात्र हुँ,
जसले हरेक बालमष्तिष्कमा देशको नाम भराउँछ,
जीवनभर अरूको प्रगतिको लागि कराउँछ ।
अनि त भन्छु नि म शिक्षक हुँ ।

मेरो पनि परिवार छ,
समाज छ,
मैले पनि संघसंस्थामा जानुपर्छ,
तर मैले मेरो जवानी भनिनँ,
आज मेरो घरमा श्राद्ध छ भनिनँ,
न त म आफन्तको प्यारो छु,
न त सरकारको प्रिय छु,
म त केबल सबैको आँखाको तारो बनेको छु,
किनकि म शिक्षक हुँ ।

तर म गर्व गर्छु शिक्षक भएकोमा ।
मेरो भरोसा थियोे मेरो शिक्षकमा
र मेरो भरोसा रहनेछ मेरा विद्यार्थीमा
किनकी म थिएँ, छु र हुनेछु
एक शिक्षक !

अन्तिम अपडेट: चैत १४, २०८०

विष्णु ढुंगेल

ढुंगेल श्री कालिकादेवी माध्यमिक विद्यालय, थुलुङ दुधकोशी-७, पञ्चन, सोलुखुम्बुमा अध्यापनरत हुनुहुन्छ ।   

तपाईको प्रतिक्रिया