मध्यरातमा दैलेखकाे ठाँटीकाँध गाउँपालिका अध्यक्ष र श्रीमती अपहरणमा

 पुस ६, २०७६ आइतबार १०:४२:३८ | अमर सुनार
unn.prixa.net

दैलेख – ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उहाँकी श्रीमती इला शाही अपहरणमा पर्नुभएको छ । 

उहाँहरुलाई विप्वल नेतृत्वको नेकपा समूहले शनिबार राति वडा नम्बर २ को सेरीपाटामा रहेको घरबाट अपहरण गरेकाे प्रहरीले आशंका गरेकाे छ । पक्राउ पर्नुभएकी शाही पत्नी इला त्यही ठाउँको कृष्ण मावि लकान्द्रकी प्रधानाध्यापक हुनुहुन्छ । 

राति साढे १२ बजेतिर १५ जनाभन्दा बढीको समूहमा हतियारसहित आएका समूहले गाउँपालिका अध्यक्ष र उहाँकी पत्नीलाई अपहरण गरेको प्रहरीले जनाएको छ । 

त्यसअघि विप्लव नेतृत्वकाे नेकपाले गाउँपालिका अध्यक्षका भाइ शिक्षक हस्तबहादुर शाहीलाई पनि एक घण्टा टाढा रहेको भाँटीचौर पुर्‍याएर छोडेका थिए ।  

अध्यक्ष दम्पतीको अपहरण भएको भन्नेबारे जानकारी आएको र उद्धारको लागि सुरक्षा रणनीति बनाइएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

प्राप्त सूचनाअनुसार अपहरणपछि अध्यक्ष दम्पतीलाई विप्लव समूहले बिसला हुँदै कालिकोटको शुभकालिका गाउँपालिकाको भर्ता पुर्‍याएको छ । विप्लव समूहले कालिकोटलाई ‘आधार इलाका’ भन्ने गरेको छ ।

गाउँपालिकाको बजेट दुरुपयोगमा अध्यक्ष दम्पतीकै संलग्नता रहेकोले सचेत गराउन मात्र अपहरण गरेको नेकपा समूहको दाबी छ । 

विप्लव समूहले गएको वर्ष नै दैलेखका सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजीनामा दिन पत्र लेखेको थियो । 

अन्तिम अपडेट: चैत ३, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया