चालक र गाडीबारे शंका लाग्नेबित्तिकै प्रहरीलाई खबर गर्नुहोस्

 पुस ७, २०७६ सोमबार १३:५८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दुर्घटना कम गर्न र सुरक्षित यात्रा गर्नको लागि सडक सञ्जालसँग जोडिएका सबैको भूमिका उत्तिकै प्रभावकारी हुन्छ । चाहे त्यो ट्राफिक प्रहरी, चालक, यात्रु, यातायात व्यवसायी, सडक छेउमा घर हुने नागरिक नै किन नहोस् । सबैले आआफ्नो तर्फबाट सचेत भएमा मात्रै दुर्घटनामा कमी ल्याउन सकिन्छ ।

सडक छेउमा घर हुने बासिन्दाको भूमिका

आफ्नो क्षेत्रमा कुनै पनि दुर्घटना नहोस् भन्नका लागि सडक छेउमा घर भएका बासिन्दाले अवरोध हुने खालको कुनै पनि कुरा सडकमा राख्नु हुँदैन । बाटोमा जथाभावी बिस्कुन सुकाउने, चौपाया छोड्ने, बालबच्चाहरुलाई सडकमा निर्वाध खेल्न दिने जस्ता कुराले सडकमा अवरोध  पुर्याउँछ । यसरी सडकमा अवरोध हुँदा गाडी चिप्लने, ठोक्किने, लड्ने हुनसक्छ । यसले दुर्घटना हुने सम्भावना बढाउँछ । 

गाउँघरतिर बिना अध्ययन र बिना इञ्जिनियरिङ बाटो बनाउने गरिन्छ । यस्तो गर्नु हुँदैन । भौगोलिक अवस्था हेरेर, त्यो ठाउँको आवश्यकताअनुसार इञ्जिनियरिङ र विज्ञहरु लगाएर सडक बनाउँदा सुरक्षित हुने गर्छ । साथै  बनिसकेको बाटो पनि प्राविधिक परीक्षण गरेर मात्र सञ्चालनमा ल्याउनुपर्छ ।

स्थानीय बासिन्दा र सबै यात्रुलाई अर्काे अनुरोध भनेको आफ्नो ठाउँमा आएको बसमा जबर्जस्ती ओभरलोड हुने गरी नचढ्नुहोस् । छतमा बसेर यात्रा नगर्नुहोस् । उहाँहरुलाई, चालक र गाडीको सम्मान गर्दै सुरक्षित यात्रा गर्न अनुरोध छ । 

यातायात व्यवसायी र पालिकाको भूमिका

पहाडी सडकमा धेरै दुर्घटना हुने गरेका छन् । एक त बाटोको अवस्था राम्रो छैन ।  अर्काे, गाडीको कन्डिसनले पनि दुर्घटना निम्त्याइरहेको छ । सबै यातायात व्यवसायीलाई विशेष अनुरोध गर्छु कि त्यस्तो ठाउँको बाटोमा राम्रो र सजिलोसँग चल्नसक्ने गाडी पठाउनु होला । बाटोको अवस्था बुझेर त्यो स्थानमा रहेका यात्रुको संख्यालाई पुग्ने किसिमको गाडी पठाउनु उहाँहरुको कर्तव्य र जिम्मेवारी हो । 

गाडी र यात्रुको जिम्मेवारी चालकको हातमा रहेने भएकाले उसको अवस्था बुझेर, राम्रोसँग चलाउन सक्ने अनुभवीलाई मात्र पठाउन आग्रह गर्छु ।  

अहिलेको कानुनले पालिका सरकारलाई ट्राफिक व्यवस्थापन, ट्राफिक सुरक्षा, सडक सुरक्षाका विषयमा कारवाही र नियमन गर्ने अधिकार दिएको छ । त्यसैले आफ्नो क्षेत्रमा भइरहेको ट्राफिक नियम उल्लङ्घनका विषयमा चनाखो भएर लाग्न अनुरोध छ । 

चालक साथीलाई अनुरोध र सुझाव

गाडीको सबै जिम्मेवारी चालकको हातमा हुने भएकोले उहाँहरुलाई आफ्नो अवस्थाको राम्रो ख्याल राखेर मात्रै गाडी चलाउन अनुरोध गर्दछु । चालक साथीहरु, हरेक क्षण चनाखो हुन जरुरी हुन्छ । उहाँहरुलाई  लापरवाही नगर्न, आवेशमा नआउन, तनावमा नआई गाडी चलाउन आग्रह गर्छु । साथै, लामो यात्रामा जाँदा ४ घण्टा गाडी चलाएपछि आराम गरेरमात्रै गाडी चलाउन सुझाव दिन्छु । 

जाँडरक्सी खाएर गाडी चलाउनु चाहिँ कदापी पनि हुँदैन है । अनि आफ्नो ध्यान भड्किने गरी फोनमा कुरा नगर्नुहोस् । साइडमा आफ्नो मान्छे राखेर कुरा गर्ने नगर्नुहोस् । यात्रुले पनि चालकलाई डिस्टर्ब हुने किसिमको कुरा वा क्रियाकलाप नगर्नुहोस् । चालक साथीहरुले कसैको दवाबमा परेर  गाडी नचलाउनु होला । 

यसरी गाडी चलाउँदा असहज व्यवहार गरेमा, कुनै समस्या परेमा, यात्रुले पनि अभद्र व्यवहार गरेमा तुरुन्त १०३ मा फोन गरेर जानकारी गराउनु होला । किनकी यात्रालाई तपाईंले सुरक्षित बनाउनु पर्छ । धेरै यात्रुको जीवन मेरो हातमा छ, मैले सबैलाई सुरक्षित राख्नुपर्छ भन्ने भावना राखेर गाडी चलाउन म सुझाव दिन्छु । ओभर लोड गरेर चलाउने, जबरजस्ती हाँक्ने, तीव्र गतिमा चलाउने जस्ता कार्य नगर्न अनुरोध गर्छु ।  

यात्रुलाई आग्रह

यात्रुलाई विशेष अनुरोध छ कि यदि तपाईं चढेको गाडी चालकले राम्रोसँग चलाएको छैन, तीव्र गतिमा हाँकेको छ, दायाँबायाँ गरी चलाएको छ वा गाडी कन्डिसनमा छैन, पुरानो देखिन्छ भने तत्काल हामीलाई खबर गर्नुहोस् ।  

यो तपाईको जिम्मेवारी पनि हो । त्यस्तै, चालकलाई दबाब दिने, झर्किने, चालकको ध्यान भड्डकाउने काम नगर्न अनुरोध गर्छु । 

पैदलयात्रुसँग अनुरोध 

मेरो र सबै ट्राफिक प्रहरीको पैदलयात्रुसँग अनुरोध भनेको, बाटो काट्दा र सडकको प्रयोग गर्दा विशेष ध्यान दिनुहोस् । सकेसम्म बाटो काट्दा जेब्राक्रस, आकाशे पुलको प्रयोग गर्नुहोस् ।

याे सबै नभएको ठाउँमा तोकिएको ठाउँबाट मात्रै बाटो काट्नुहोस् । यदि बाटो काट्न अप्ठ्यारो हुन्छ भने नजिकै रहेको प्रहरी वा ट्राफिक प्रहरीको सहयोग लिनुहोस् । 

यी सबै कुरामा हामीले ध्यान दिने हो भने हुन सक्ने दुर्घटनाबाट हामीले आफू र अरुलाई सुरक्षित बनाउन सक्छाैँ ।                                                           

(ट्राफिक प्रहरी प्रमुख, एसएसपी भीमप्रसाद ढकालसँग कार्यक्रम सडक र सवारीमा गरिएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत १०, २०८०

1 Comments

  • raju

    Dec. 25, 2019, 10:33 a.m.

    यत्तिका खबर लेखिसकेपछि कुन नम्बरमा प्रहरीलाई सम्पर्क गर्ने हो , त्यो पनि लेखिदिए हुने नि ....पत्रकार महोदय !

  •  0 Reply

तपाईको प्रतिक्रिया