सन्ताेषलाई घरेलु लिगमा १०० गाेल पूरा गर्ने माैका

 पुस ९, २०७६ बुधबार ७:२७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार दुई वटा खेल हुँदैछन् । 

तेस्रो चरणको पहिलो खेलमा उपाधिको लक्ष्यमा रहेको मच्छिन्द्रले फ्रेण्ड्स क्लबसँग खेल्नेछ । यस्तै अर्को खेलमा च्यासलले न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो खेल सातदोबाटोको एन्फा मैदानमा दिउँसो १२ बजेबाट सुरु हुनेछ । जारी लिगमा दुई खेलमा अपराजित रहेको मच्छिन्द्रले पहिलो खेलमा ब्रिगेड ब्वाइनलाई दुई–शून्यले हराएको थियो । दोस्रो खेलमा च्यासलसँग बराबरी खेलेको थियो । बुधबारको खेलमा फ्रेण्ड्सलाई हराउँदै लिगको शीर्ष स्थानमा उक्लने लक्ष्यमा मच्छिन्द्र हुनेछ ।

राष्ट्रिय टिमका स्टार खेलाडीले भरिएको मच्छिन्द्रको दबाबलाई तोड्न पनि फ्रेण्ड्स क्लब तयार छ । फ्रेण्ड्सले पहिलो खेलमा त्रिभुवन आर्मीसँग हारेको थियो । दोस्रो चरणको खेलमा पनि  फ्रेण्ड्स ब्रिगेड ब्वाइजसँग दुई–शून्यले पराजित भएको थियो । फ्रेण्ड्स आफ्नो हारको श्रृङ्खलालाई पूर्णविराम लगाउने लक्ष्यमा रहेको छ ।

बुधबार नै दोस्रो खेलमा दशरथ रंगशालामा च्यासल क्लबले न्युरोड टिम एनआरटीसँग खेल्नेछ । च्यासल पनि जारी लिगमा अपराजित रहेको छ । 

च्यासलले पहिलो खेलमा संकटालाई दुई–शून्यले हराएको थियो । अर्को खेलमा च्यासलले मच्छिन्द्रसँग एक–एक गोलको बराबरी गरेको थियो । 

दुबै खेलमा च्यासलका लागि सन्तोष शाउखलले गोल गरेका थिए । बुधबारको खेलमा सन्तोषलाई नयाँ इतिहास रच्ने मौका रहेको छ । 

घरेलु लिगमा ९९ गोल गरेका सन्तोषले बुधबारको खेलमा एक गोल गरेमा एक सय गोल पूरा गर्नेछन । जुन नेपाली फुटबलमा सन्तोषको नयाँ इतिहास हुनेछ ।

यता पहिलो खेलमा सरस्वतीविरुद्ध चार–शून्यको जित निकालेको एनआरटी दोस्रो खेलमा संकटासँग एक–शून्यले पराजित भएको थियो । 

च्यासलविरुद्धको खेलमा एनआरटीको लक्ष्य अंक खोस्ने रहेको छ । यो खेलमा एनआरटीले बराबरी गरेमा पनि उसलाई फाइदा हुनेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया