हेटाैँडा उपमहानगरपालिकाका मेयर नागरिकका गुनासाे सुन्न गाउँगाउँमा, स्थानीय आफ्नाे समस्या राख्दै

 पुस १३, २०७६ आइतबार १०:५६:२४ | हरि हुमागाईं
unn.prixa.net

हेटौँडा – हेटौँडा उपमहानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा रहेका नागरिकहरुका धेरै किसिमका समस्या छन् । 

विकट क्षेत्रमा रहेका नागरिकका समस्या बुझ्न हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत शनिबार हेटौँडा उपमहानगरपालिका १६ को आकाशधारा पानीसारा क्षेत्रमा पुग्नु भएको थियो । वडाध्यक्ष रामकृष्ण कोइरालासँगै पुग्नुभएका मेयर महतसमक्ष त्यस क्षेत्रका बासिन्दाहरुले आफ्ना समस्या पोखे । 
 
मकवानपुरको विकट गाउँपालिकाको रुपमा लिइन्छ, आकाशधारा पानीसारा क्षेत्रलाई । यस क्षेत्रमा उपमहानगरपालिकाका मेयर महत र वडाध्यक्ष कोइरालाको पहलमा बल्ल सडक पुगेको छ । 

बिजुली र पानीको व्यवस्था अझै पनि हुन सकेको छैन । स्थानीय बासिन्दाहरुले सडक, पानी र बिजुली जस्ता आधारभूत आवश्यक्ता पूरा गर्नका लागि मेयरसँग आग्रह गरेका छन् ।

हेटौँडा बजारबाट ३० किलोमिटर दुरी पार गरेपछि आकाशधारा पानीसारा पुगिन्छ । बाराको निजगढ नगरपालिका १३ सँग सिमाना जोडिएको यस क्षेत्रका नागरिकका समस्या समाधान गर्न आफू तयार रहेको मेयर महतले बताउनुभयो ।

उपमहानगरपालिका भए पनि सामान्य आधारभूत सेवा सुविधासमेत नभएको यस क्षेत्रमा कुनै पनि खालका मोबाइल सम्पर्क हुँदैन । हिउँदमा मात्र चल्ने सडक तयार भएको छ । 

यहाँका बासिन्दाले बिजुली बत्ती बाल्न पाएका छैनन् । विद्यालयमा शिक्षकको दरबन्दी खाली छ । तर उपमहानगरपालिका भएपछि यस क्षेत्रका बासिन्दाका समस्या बुझ्न र समाधान गर्न मेयर महत र वडाध्यक्ष पटक-पटक पुग्नु भएको छ । 

यसै वर्ष १० लाख रुपैयाँको लागतमा १० किलोमिटर सडक निर्माण भएको बताउँदै वडाध्यक्ष रामकृष्ण कोइराला भन्नुहुन्छ, ‘१० लाख रुपैयाँ बजेट प्राप्त भएपछि सडक त बनाइयो । तर सडक वर्षायाममा पनि चल्ने बनाउन बजेट अभाव भएको छ ।’ 

आफ्नो गाउँमै आएर मेयरले समस्या बुझ्ने गरेकोमा आकाशधारा पानीसाराका लालबहादुर गोलेले खुशी व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: चैत ७, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया