स्याङ्जाकाे सीडीओ कार्यालयको सेवा अब इलाका प्रशासन कार्यालय वालिङबाट पनि

 पुस १८, २०७६ शुक्रबार १९:३०:१४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - जिल्ला सदरमुकाम पुतलीबजारमा रहेको जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्रवाह अबदेखि इलाका प्रशासन कार्यालय वालिङबाट पनि सञ्चालन हुने भएको छ ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले हरेक शुक्रबार इलाका प्रशासन कार्यालय वालिङबाट जनताको सेवा प्रवाह गर्न सुरु गर्नुभएको हो । जिल्लाको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै इलाका प्रशासनबाट सेवा लिने सेवाग्राहीका लागि जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्न भन्दै प्रजिअ कुरुम्बाङ्ले कार्यको सुरुवात गर्नु भएको हो । 

जनसंख्याको आधार र सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट भन्दा इलाका प्रशासन कार्यालयबाट बढी हुँदै आएको छ । ४० प्रतिशत नागरिकता, एमआरपी पासपोर्ट जिल्ला प्रशासनबाट वितरण हुन्छ भने ६० प्रतिशत वालिङबाटै हुदै आएको छ । इलाका प्रशासन प्रमुखको तहभन्दा माथिबाट गर्नुपर्ने कामका लागि प्रमुख जिल्ला अधिकारीले गर्ने व्यवस्था अनुरुप वालिङ तथा पश्चिमका जनता जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो । 

संघीय सरकारको निर्देशन अनुसार जनताको नजिक बसेर सेवा प्रवाह गर्नु भन्ने अदेशलाई पालना गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिनुभयो । कर्मचारी सरकारको प्रतिनिधि हो प्रजिअ कुरुम्बाङ्ले भन्नुभयो, ‘जनतालाई दुख दिने काम कर्मचारीबाट हुनुहुँदैन।’

जनताको सेवकका रुपमा काम गरेमा जनताबाटै आशिर्वाद हामीले पाउँछौँ उहाँले थप्नुभयो ।

राष्ट्रसेवक कर्मचारीबाट जनतालाई दुख दिनुहुन्न भन्ने मान्यता अनुरुप जिल्लामा खटिएका कर्मचारीलाई पनि त्यसै बमोजिम निर्देशन दिएको प्रजिअ कुरुम्बाङ्को भनाइ छ ।

गैरसरकारी संस्था, नागरिकता संशाेधन, विपद् व्यवस्थापन, सुरक्षा लगायतका विषयका लागि यस भेगका जनता जिल्ला सदरमुकाम पुग्नुपर्छ । प्रजिअ हरेक शुक्रबार वालिङ आउने भएपछि यहाँका जनता निकै खुशी भएका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया