ऊ र म

 पुस १९, २०७६ शनिबार ११:३:३५ | प्रज्ञा निराैला
unn.prixa.net

सिमलका फेदमा बसेर भुवा खेलाउँदा खेलाउँदै दिन बितेको पत्तै हुन्थेन । बरका हाँगामा बसेर पिङ खेलेको अझै ताजा याद छ । पाकेका बर र पिपलका दाना चराले झार्दा तलबाट बटुलेर डोकामा भरि पार्दा र हावाले हल्लाएर झारेका घाँस बटुल्दा सँगसँगै बटुलेको आनन्द अहिले सहरमा आएर विलासी जीवन बिताएका क्षणभन्दा निकै आनन्ददायक लाग्छन् ।

जीवन जिउँदाजिउँदै समयले फन्को मारेर आफ्नै गलामा पासो बनेको बेला ती अतीतका दिनहरुले झस्काईदिन्छन्, फेरि पनि आफ्नै आनन्दका दिनहरुको याद आइदिन्छ । गमलामा सजाइएको फूलजस्तो कति राम्रो जीवन थियो त्यो । सबै कुरा आफ्नै सामु आइदिन्थ्यो । केही कुराको तनावविना नै बसीखेली खान पाउँदा कति आनन्द थियो त्यो क्षण । सीमित चौघेरामा बस्दा अर्कै आनन्द आउँदो रहेछ । सीमितता भन्दा परको संसारको परिकल्पना नगर्नु नै सुखको आनन्द रहेछ सायद ।

यस्तै आनन्दका दिनहरुमा हामी दुवै जना एउटै घरको छानामुनि थियौँ । सायद उस्तै उस्तै दिनचर्या भोग्थ्यौँ हामी । त्यति धेरै फरक चाहिँ थिएन तर अलिकति भावनात्मक फरक चाहिँ पक्कै थियो, त्यो भन्दा बाहेक केही फरक थिएन । ऊ र म सँगै खेल्यौँ, हुर्क्याैँ, बढ्यौँ, पढ्यौँ । लैंगिक भिन्नताका भए पनि आआफ्ना भागमा परेका कामहरु गरेर समय बिताएका थियौँ । ऊ पनि काम नगरी धर पाउदैनथ्यो, पुर्ख्याैली भागबन्डाका कामहरु गरेर हामी दुबै बेफुर्सदिला थियौँ । यति भएर पनि केही भिन्नता भने त्यति बेलादेखि नै थियो ।

हामी दुबै जना विहान सँगै घाँस दाउरा गरेर घरमा आउँथ्यौं । दुवै जना खाना खाएर स्कुल जान्थ्यौं । ऊ खाना खाएर तयार हुन्थ्योत: म भाँडा पनि माझेर तयार हुनुपर्ने । ऊ मलाई सध्रैं छिटो गर भनेर गाली गर्थ्याे तर म मुसुक्क हाँसेर हतार हतार तयार हुन्थेँ । बाटामा ऊ छिटो हिँड्न सक्थ्यो तर म अलि ढिलो हुन्थेँ, ऊ फेरि कराउँथ्यो म दगुर्दै गएर उसलाई भेट्थेँ । हतारहतार गरेर दुई घन्टामा स्कुल पुग्दा थकाइले निद्रा लाग्थ्यो तर पनि गुरुले पढाएको पाठ पढेर हामी घर फर्कन्थ्याैँ, बेलुका आमाले पकाएको खाना खाएर फेरि पनि दैनिकी पूरा गर्नु नै हाम्रो जीवन थियो ।

कामको सिजन अनुसारका कामहरु गरेर हामी दुवैले जीवनका झन्नै १५,१६वर्षहरु एउटै छानामुनि बितायाैँ । जब एस.एल.सी परीक्षा दियौँ तव हाम्रा दिनचर्याहरु एक सिक्काका दुई पाटाजस्तै रहे । समयको छालले हामी दुई बीचको सानो अन्तरलाई फराकिलो पारेर लग्यो । ऊ पढ्नका लागि शहरको शरणमा पर्यो, म घरमा बस्न बाध्य भएँ । शहरमा पसेपछि उसले त आफ्नो जीवन परिवर्तन गर्दै गएछ । आफ्नो पढाइ पनि सँगसँगै अगाडि बढाएछ । यो सँगसँगै उसमा धेरै भिन्नताहरु आएछन् ।

परिवर्तित रुपमा ऊ कहिले दाजुभाइ बनेर आयो, कहिले साथी बनेर आयो, कहिले गुरु बनेर आयो, कहिले प्रेमी बनेर धायो, कहिले भुत बनेर खायो, कहिले को त कहिले को बनेर मेरा सामु परिचित वा अपरिचित बनेर विभिन्न स्वरुपमा मेरो नजिकमा आइरह्यो तर उसको र मेरो सम्वन्धका पाटाहरु सकारात्मक भन्दा नकारात्मक रुपमा प्रवल बनेर मेरो सामु आइरहे । म आफ्नो अस्तित्वको रक्षा गर्दै सधैं संघर्षमा रहिरहेँ । अचम्म त यो लाग्छ कि ऊ सधैं मेरो जीवनमा एकै स्वरुपमा रहिरहेन तर पनि म सधैँ उसका विविध रुपसँग लडाइँ खेलिरहन बाध्य भएँ ।

ऊ कहिले आँधीबेहरी बनेर आउँथ्यो, त्यसमा रुमलिएर म टुक्रुक्क बसिरहन्थेँ, सामना गरिरहन्थेँ । आँधीको झोक्का शान्त बनुन्जेलसम्ममा ऊ पर पुगेर मलाई हेरेर खिस्स हाँसिरहेको हुन्थ्यो । म मनमनै कुँडिएर ठूला आँखाले हेर्न सिवाय केही गर्न सक्दिनथेँ । ऊ कहिले बाढी भएर आउँथ्यो, मलाई आफूसँगै लैजान खोज्थ्यो । म आफ्नो अस्तित्व रक्षाका लागि कुनै जराको आडमा निसासिरहन्थेँ । त्यो बेला ऊ धेरै डाँडापारि पुगिसकेको हुन्थ्यो । म आफ्नो ढुक्ढुकीलाई शान्त पार्न नपाउदै ऊ बिलाएको हेर्न बाध्य हुन्थेँ ।

त्यसरी नै ऊ कहिले शिशिरको झरी बनेर रुझाउँथ्यो, कहिले गृष्मको आगो बनेर पोल्न आउँथ्यो, कहिले सहारा बन्न चाहन्थ्यो । आत्तिएको मनले सहाराको हात अगाडि बढाइदिन्थेँ तर ऊ त केके भयो केके । कुनै दिन पनि मैले ढुक्क भएर शान्त हुन सकिनँ ।

सम्बन्ध जेजस्तो भए पनि ऊ र म जीवनका हरेक क्षणमा सँगसँगै बस्न बाध्य भयौँ । यो संसारको नियम यस्तै छ । छुट्टै संसार पनि त थिएन । आफू ताक्छु मुढो तर बन्चरो ताक्छ घुँडो भनेझैं म आफूमा भएको नारीवादी भावनाले द्रविभुत बनाउन चाहन्छु, ऊ आफ्नो पुरुषत्व देखाउन चाहन्छ । म साथी बन्न चाहन्छु, ऊ माथि बन्न चाहन्छ, म समानता चाहन्छु, ऊ अहमता चाहन्छ । ऊ मौनवाची छ, तर यो होइन कि ऊ वाक्यविहीन छ । विश्वविद्यालयका कक्षाहरुमा उसले धेरै नम्बर ल्याएर उतीर्ण भएको छ ।

ऊ आफ्नो पुरुषत्वलाई बोलेर वा नबोलेर नै प्रकट गर्न खोज्छ । बोलीको गोलीभन्दा मौनताको धार झन् खतरनाक हुँदोरहेछ । कहिले झर्केर त कहिले फर्केर अनि कहिले थर्काएर ऊ मलाई आफ्नो वशमा राखिरहन्छ । ऊसँग शिक्षा छ तर ऊ शिक्षित छैन किनकि ऊ व्यवहारिकतामा कहिल्यै आउन चाहदैन । सर्टिफिकेटको नम्बरमा अब्बल तर व्यवहारमा शून्य, भावनामा शून्य अनि हुनु र नहुनुको भाव नै नहुने ढुंगाजस्तो बनाउने यस्तो शिक्षा हुनुभन्दा त नभएको नै भए वेस हुँदो हो भन्ने लाग्छ । तर पनि ऊ आफूलाई अब्बल ठान्छ, धेरै कुरामा मसँग तुलना गर्छ । आफू ठूलो भएकोमा गजक्क पर्छ ।

ऊ समाजका आँखाले उत्पादनशील क्षेत्रमा तल्लिन रहँदा म घरभित्रका सुसेधन्दामा व्यस्त रहन्छु, ऊ विश्व परिवर्तन गर्ने सोचमा रहँदा म भान्साको स्वाद परिवर्तन गर्नमा व्यस्त रहन्छु । ऊ देस विकासका खाकाहरु कम्प्युटरमा इडिट गरिरहँदा म ट्वाइलेट वाथरुम, भान्सा कोठाचोटाका फोहोरहरु डिलिट गरिरहन्छु तर पनि ऊ मलाई तुलनात्मक रुपमा हेर्छ र आफू अगाडि बढेकोमा गजक्क पर्छ ।

ऊ अड्डा अफिसमा गएर देस परिवर्तनका ठूलाठूला योजना बनाइरहँदा म घरका सदस्यहरुको सेवामा तल्लिन रहन्छु, ऊ राजनीतिक समारोहमा गएर नारीवादी भाषण गर्दा म कम्मरमा पटुका बाँधेर खुइय्य गरेर एकछिन टेलिभिजनमा उसलाई हेरिरहन्छु, अदालतमा महिला अस्मिताको बचाउको वारेमा वहस गरेको समाचार पढ्दा मेरो मुटु चरक्क चिरिन्छ । पत्रिकाभरि उसको असली अनुहार नाचिरहन्छ ।

विद्यालयमा नैतिक शिक्षाको पाठ पढाएको सुनेर मन त्यसै धमिलो भएर आउँछ । विभिन्न ठाउँमा काम गरेर उसको घर आउने समयसम्म म भान्सामा कुरिरहन्छु, मेरो समयको कुनै मूल्य छैन तर उसको समयको मूल्य तलब भत्ताको हिसाबकिताबमा महिनाको अन्तिममा म बेकामकी बोझ बनिदिन्छु । ऊ समाजको प्रतिष्ठित व्यक्ति कहलाउँदा म बेकामकी गृहिणी बन्न पुग्छु । उसको साथीभाइसँग म बोल्न नजान्ने लाटी बनिदिन्छु । ऊ अस्पतालमा डाक्टरसाब बन्दा म ओच्छ्यानमा पक्षघातले ढलेकी हुन्छु । उसका सफलताका खुशीयालीमा बाँडेको मिठाइ थाप्ने बेला मेरा हातमा गोबर लत्पतिएको र मस्को भरिएको हुन्छ, हात धोएर खान खोज्दा म लोसे हुन्छु ।

तनावले जीवन तातेको कराही बन्दा म उसलाई सकभर पानी बनेर बर्सन आग्रह गर्छु तर ऊ गृष्मको रापिलो घाम बनेर आइदिन्छ । जीवन शिशिरको कठ्यांग्रिदो तुषाराले तहसनहस बनेको बेला न्यानो घाम बनिदिन आग्रह गर्दा भयंकर कालो बादल बनेर छोपिदिन्छ । आशाका किरणहरु आशामै बिलाइसकेपछि निराशाले मन मारिदिन्छ । ऊ सफलताको सिँढी चढ्दै आकासतर्फ उचालिएको छ । म निराशाको घुम्टीभित्र अपमानको घुड्की पिउँदै धर्तीभित्र भासिएकी छु ।

उसको र मेरो सम्वन्धमा नजिकपनको आभास समेत छैन । ऊ स्वच्छन्द भएर उन्मुक्त हाँसो हाँसेर हिँड्न सक्दा म सतर्क भएर हिँड्नुपर्छ । दिनभर पराक्रम गरेर घर आएको उसलाई सधैं पाहुनाजस्तो स्वागत गर्नुपर्छ । सदैव औपचारिक बन्धनमा बाँधिनुपर्छ । सामाजिक सुरक्षाको खोलभित्र घटेका काला कर्तुतलाई चुपचाप सहिदिन्छु । आवश्यकतावमोजिम कहिले गलैंचा र कहिले फलैचा बन्दैमा र कहिले सूचीकार, कुचीकार, भान्से, धोविनी र धाइमा परिणत हुँदै दिन बिताइरहेकी छु । 

ऊ सत्तामा रहँदा सत्ता र भत्ताले अन्धो बनेको हुन्छ त्यसैको आडमा ऊ अजंगको बनिदिन्छ । आफू सानैदेखि परिस्थितिको दास बनेकीले कुनै सत्ता र भत्ताको मोहले छुनै पाउँदैन । समयको चक्रसँगै बैंसालु जीवनहरु घुमिरहँदा भित्तामा झुन्ड्याइएका र फेरिएका क्यालेन्डरहरु हेर्ने फुर्सद नपाउँदै बुढ्यौलीले झ्याप्पै छोपेछ तर समयको चक्रले त विभेद गरेनछ नि । सानाठूला, धनीगरिब, सबैलाई समान व्यवहार गर्छ । ऊ पनि बूढो हुन्छ, म पनि बूढी हुन्छु ।

ऊ आफ्नो रवाफिलो प्रतिष्ठित जीवनबाट अलग भएर हाल अवकास जीवन व्यतित गरिरहेको छ । आज उसका दिनहरु पट्यार लाग्दा छन् । बैंस र सम्पत्ति छउन्जेल सारा विश्व नै आफ्नो पोल्टोमा बाँधेर राखेको उसले आफ्ना बन्धुबान्धव, इष्टमित्र, बाबुआमा छोराछोरी, आफन्त, नातागोता कसैको कुनै पर्वाह गर्ने फुर्सदै भएन । आवतजावत बोलचाल केही गरेन, कसैलाई वास्ता पनि गरेन । ऊ केवल भौतिक सम्पत्तिको आडमा विश्व किनिरहेको थियो । तर जव आज उसका दिनहरु विरक्त लाग्दा भएका छन् । बल र बैंस सकिएको छ । विगतका संझन लायक क्षणहरुमा पनि रमाउन छोडिसकेको छ ।

रेस्टुरेन्टको परिकारको साटो उसलाई जाउलीको आवश्यकता परिरहेको छ । उसलाई आफन्त बन्धुवान्धव, नातागोता, आफन्त सबैले बिर्सिसकेका छन् तर उसलाई ती सब झल्झली याद आइरहेका छन् । ऊ आफन्त बनाउन चाहन्छ, जीवनमा साहारा चाहन्छ तर उसका आफन्तले जीवनमा यति लामो समयसम्म उपेक्षा सहेकाले अहिले रेविज लागेको कुकुरले पानी देखेजस्तो गरिदिन्छन् ।

ऊ पछिपछि दौडन खोज्छ, उनीहरु झन् टाढा पुगिदिन्छन् । खै किन हो नबोलेरै ऊ धुरुधुरु रुन्छ । म पक्षघातले ओच्छ्यानमा ढलेकी हुन्छु । आखिर मेरो छेऊमा आएर आफ्नो टाउको ठोकाउदै रुन्छ । म आफ्नो हातले उसको टाउकोमा सुम्सुम्याउँदै नरोउ भन्दै सम्झाउन खोज्छु । उसको दुःख म आफैं लिन चाहन्छु र भन्न खोज्छुः दुःख त मेरो भागमा परेको मेरो साथी हो तर तिम्रो  भागमा त सुख मात्र परेको थियो तर मेरा हात र बोली बन्द भइसकेका हुन्छन् ।

ऊ आफ्ना विगतका खुसी र सुखलाई आँसुका धारा र चीत्कारबाट ओकलिरहेको हुन्छ । समयको चक्रले खेलेको खेल पुन एकपटक रोटे पिङ बनेर फनन घुमिदिन्छ मानसपटलमा । म चुपचाच हेरिरहन्छु, केवल चुपचाप । मेरो वशमा नै के छ ? अवको वाँकी समय कसरी जाला खै ?

अन्तिम अपडेट: असोज २६, २०७७

1 Comments

  • विष्णु वि.क.

    Feb. 3, 2020, 9:52 a.m.

    हाम्रो समाजको यथार्थ चित्रण, अव्वल लेखन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया