वर्षाैँपछि जिल्ला अस्पताल अनुगमन : कार्यालय सहयाेगीले सुपरिन्टेन्डेन्टलाई टेरेनन्, अस्पतालमा समस्याकाे चाङ

 पुस २१, २०७६ सोमबार ७:५४:१२ | देव पचभैया
unn.prixa.net

पाल्पा – वर्षाैपछि जिल्ला अस्पताल पाल्पामा अनुगमन गरिएको छ । अनुगमनका क्रममा समस्यै समस्या भेटिएको छ ।

अस्पतालका सेवा, पूर्वाधारलगायतका बारेमा जानकारी दिन सङ्घीय सांसद, नगर प्रमुख, राजनैतिक दलका प्रतिनिधि, पत्रकारलगायतका समूहले गरेको अनुगमनमा आवश्यक औषधि नभएको, रिफरका बिरामी घण्टौँ लाइनमा बस्नु परेको, शौचालय व्यवस्थित नभएको, बिरामीले पिउने पानी नपाएको जस्ता समस्या देखिएको अस्पतालका नवनियुक्त अध्यक्ष नेत्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

अस्पतालले समयमै सेवा दिन नसकेको, कर्मचारीको व्यवहार राम्रो नभएको, इमर्जेन्सीमा आएका बिरामीलाई समेत फर्काइएको जस्ता गुनासो भेटिएको अध्यक्ष पाण्डेले बताउनु भयो । अस्पताल निरीक्षणमा पुग्नु भएका सङ्घीय सांसद सोमप्रसाद पाण्डेयले अस्पतालको भवन चुहिएको, वायरिङ बिग्रिएर दुर्घटना हुन सक्ने अवस्थामा रहेको, बिरामीले शौचालय प्रयोग गर्न सक्ने अवस्था नभएको जस्ता धेरै समस्या देखिएको जानकारी दिनुभयो ।  

अस्पताल र अस्पतालका कर्मचारीले गर्न सक्ने काम पनि नगरेको पाइएको अनुगमनमा सहभागी राष्ट्रिय जनमोर्चा पाल्पाका जिल्ला अध्यक्ष विशाल दर्लामीले गुनासो गर्नुभयो  । 

अनुगमनपछिको छलफलमा अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष नेत्रप्रसाद पाण्डेयले अस्पतालका कार्यालय सहयोगीले अस्थायी मेडिकल सुपरिन्टेन्डेन्टलाई टेर्ने अवस्था नरहेकाे भन्दै दुःख लागेको बताउनु भयो । केही महिनाभित्रै अस्पतालको व्यवस्थापन पक्ष र अस्पतालले दिइरहेको सेवामा सुधार गरिने योजनासहित आफूहरू अघि बढेको अध्यक्ष पाण्डेको भनाइ थियो ।

प्रदेश सभासद् डा. पुरनमान बज्राचार्यले अस्पतालको भौतिक अवस्था सुधार गर्न प्रदेश सरकारले पहल गर्ने भन्दै आन्तरिक पक्ष सुधार गर्न व्यवस्थापन समिति आफै लाग्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले कर्मचारीको मनोबल बढाउने र कामै नगर्ने कर्मचारीलाई कारबाही गर्न सके अस्पताल सुध्रिने बताउनु भयो । जिल्ला अस्पताल अहिले प्रदेश सरकारको मातहतमा आएपछि नयाँ व्यवस्थापन समिति नियुक्त गरिएको हो । 

अन्तिम अपडेट: चैत १४, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया