पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
चितवन – नारायणगढ–मुग्लिन सडक खण्डमा काटिएको भित्ता (चट्टाने भिर) खोपेर पहिरो रोक्ने प्रयास थालिएको छ । पहिरो जोखिम क्षेत्र छानेर अहिले सयौँ मजदुर चट्टाने भिर खोप्न व्यस्त छन् ।
‘रक क्लाइम्बिङ’ खेल जस्तै टल्कने ज्याकेट र पहेँलो हेल्मेट लगाएका मजदुर भिरभिरमा छन् । एक त पहिरो खस्ने जोखिम, त्यसमाथि ठाडे भिरमा चट्टान खोप्नु अत्यन्तै सकसपूर्ण काम हो । मजदुर जोखिम मोलेर दुई हप्तादेखि पहिरो रोक्न क्रियाशील छन् ।
मजदुर कतै फलामको डण्डीको भर्याङ (स्काफोल्डिङ) मा बसेर काम गरिरहेका छन् त कतै रुखमा बाँधिएको डोरीको अङ्कुशेमा अडिएर काम गर्न व्यस्त छन् । कोही जाली बिच्छ्याउँदै र कोही चट्टानमा रड (किला) ठोकेर नटबोल्टको काम गरिरहेका छन् ।
यो कामलाई ‘रक नेटिङ’ र ‘रक बोल्टिङ’ प्रविधि भनिन्छ । कतै बायोइन्जिनियरिङ काम पनि भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिवप्रसाद खनाल बताउनुहुन्छ । उहाँले अहिले नारायणगढ–बुटवल सडक खण्डको काम हेर्ने जिम्मासमेत पाउनु भएको छ ।
‘विगतमा विभिन्न ठाउँमा गरिएको रक नेटिङ प्रभावकारी छ, दुर्घटनाको जोखिम कम भयो, पहिरो खसे पनि एकैचोटी तल खस्न दिएन, त्यसैले अहिलेको जोखिम क्षेत्रमा पनि त्यही काम थालिएको हो’, खनालले भन्नुभयो ।
चट्टान खोप्न यहाँको सडक सवारीसाधनका लागि बिहान ११ बजेबाट ३ बजेसम्म बन्द गरिन्छ । यो क्रम यही पुसको २२ गतेसम्म जारी रहनेछ । त्यसपछि आवश्यकता हेरेर नयाँ निर्णय लिइने आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार यहाँको विभिन्न आठ वटा ठाउँमा काम जारी छ । गाईघाट, भोर्ले, घुमाउने, भालुढुङ्गा, जलविरे, चार किलो, तोपे खोला र काली खोलामा पहिरो रोक्न मजदुर खटाइएको छ ।
सबैभन्दा ठूलो पहिरोको जोखिम चार किलो र तोपे खोलामा छ । पहिरो रोक्ने कामका लागि बज्रगुरु–छिमसगरमाथा र न्यु टेक्निकलको ‘ज्वाइन्ट भेञ्चर’मा काम भइरहेको छ । ६ महिनाका लागि १४ करोड रुपैयाँमा ठेक्का दिइएको हो ।
विश्व बैंकको बजेटबाट बचेको पैसाले यहाँको विभिन्न क्षेत्रको चार वटा पुल र रक नेटिङको काम गरिएको हो । विगतमा तीन वटा पुल सम्पन्न भएको छ । जलविरेको बाँकी छ । गएको वर्ष केही क्षेत्रमा रक नेटिङको काम भएको थियो । रकम बचेकाले यसपालि पनि प्रयोग गरिएको आयोजनाको भनाइ छ ।
यसरी गरिँदैछ काम
यो कामका लागि अहिले एक सय ४ जना मजदुर चट्टान खोपेर पहिरो रोक्न खटिएका छन् । पहिलो चरणमा खस्न लागेको चट्टान र माटो निकालिन्छ । त्यसपछि चट्टान खोपेर ड्रिल गरि रड (किला) गाडिन्छ ।
सबै क्षेत्रको रडमा जाली राखेर नट कस्ने आयोजनाका सहायक इन्जिनियर कमल नेपालीले बताउनु भयो । उहाँका अनुसार चट्टाने भिरको उचाइ १ सय ५ मिटरसम्मको छ । तोपे खोलामा १ सय ५ मिटर उचाइ र ६० मिटर लम्बाइमा काम भइरहेको छ । एउटा बोरामा आलु हाले जस्तै गरी चट्टानलाई मोर्ने गरिन्छ । जसका कारण चट्टान तल खस्न पाउँदैन र अन्ततः त्यहीँ जाम हुन्छ ।
माथिल्लो क्षेत्रको ढुङ्गामा पनि यसरी नै रड लगाइन्छ । एकअर्कामा तार जेलेर राखिन्छ । तलबाट पहिरो खस्न थाल्यो भने माथिको ढुङ्गाले पहिरो खस्न दिँदैन । यदि खसिहाल्यो भने पनि जालीमा अड्किएर बस्छ । ठूलो पहिरो आए बिस्तारै खस्ने भएकाले मानवीय जोखिम कम हुन्छ । कतिपय पहिरो झुण्डिएर बसेको हुन्छ । समय निकालेर फ्याँक्न सकिन्छ । यो प्रविधि अन्तर्राष्ट्रियरूपमा प्रयोग हुन्थ्यो । तर यो आयोजनाले प्रयोग गरेकाले विगतको अनुभवमा जोखिम कम भएको छ ।
एसियाली मापदण्डको सडक
नारायण–मुग्लिन सडक निर्माण (स्तरोन्नति) को काम २०७२ सालबाट थालिएको थियो । कुल दुई अर्ब ९० करोड रुपैयाँको ठेक्का सम्झौता भएको थियो । १५ महिना ढिला गरि आयोजना २०७५ सालमा सम्पन्न भयो । आयोजनाको सबै गरेर कुल बजेट भने तीन करोड ९० लाख डलरको हो ।
सडकको कुल लम्बाइ ३४ किलोमिटरको हो । सडक चौडाइ बढीमा ११ र कम्तीमा नौ मिटरको बनाइएको छ । यो सडक एसियाली मापदण्डको बनेको छ । अहिले यहाँ यात्रा गर्ने यात्रु र चालक सहज महसुस गर्छन् । त्यही सडक स्तरोन्नति गर्दा काटिएको भित्तो खस्नाले विगतमा प्रहरीको गाडी नै बगाएको थियो ।
सडक विस्तारको काम थालिएपछि पहिरोमा सात जनाको ज्यान गएको छ भने एक जना प्रहरी हराइरहेका छन् । ६० वटा गाडीमा क्षति पुगेको विवरण छ ।
नारायणगढ–मुग्लिन सडकको ३४ किलोमिटर क्षेत्रलाई तीन खण्डमा छुट्याएर नेपाल भारतका ६ वटा निर्माण कम्पनीले सडक चौडा पार्ने काम गरेका हुन् । चितवनको नारायणगढदेखि दासढुङ्गा १ नम्बर, दासढुङ्गादेखि सिमलतालसम्म २ नम्बर र त्यसपछि मुग्लिनसम्म ३ नम्बर क्षेत्र छुट्याएर काम भएको हो ।
एक खण्ड बीएलए तथा श्रेष्ठ निर्माण कम्पनी, अर्काे खण्ड उडहिल तथा लामा निर्माण कम्पनी र तेस्रो खण्ड सुप्रिम तथा रौताहा निर्माण कम्पनीले काम गरेको हो । हरेक निर्माण कम्पनीमा एक–एक कम्पनी भारतीय थियो ।
विसं २०३६ मा नारायणगढ–गोर्खा सडकका रूपमा त्यो सडक निर्माण भएको थियो । साँघुरो भएपछि नेपाल–भारत व्यापार आयोजनाअन्तर्गत सडक विस्तारको काम २०७२ सालबाट थालिएको हो ।
भारतबाट यही सडक भएर ८० प्रतिशत सामान आयात हुने गर्छ । राजधानी काठमाण्डौलाई देशको पूर्वी र पश्चिमी भागसँग यो सडकले जोड्छ । चितवन प्रहरीका अनुसार यो सडक भएर दैनिक १० हजार गाडी गुड्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।