अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
अमेरिका र इरानबीच बढ्दै गएको तनावको असर नेपालका दूर दराजका गाउँहरुमा पुग्न थालेको छ ।
कमाउन खाडी देश गएका नेपाली कामदारका परिवारजन र आफन्तको भोक र निंद्रा तनावले नराम्ररी बिथोलेको छ । सरकारले आफ्ना दूतावासलाई नेपालीसँग सम्पर्क गर्न र त्यहाँ कार्यरत नेपालीलाई दूतावासमा सम्पर्क गर्न भने पनि धेरै नेपाली कामदार र तिनका परिवारले सरकारको चिन्तालाई ओठे मात्र ठानेका छन् ।
फोन गर्दा नउठाउने, आफ्नो समस्या भन्न खोज्दा नसुन्ने र गुनासो लिएर दूतावाससम्म पुग्दा पदाधिकारी नभेटिने वर्षौंदेखिको दूतावासको रबैयाले अप्ठेरोमा पर्दा समेत नेपाली नागरिक दूतावास र कर्मचारीबाट असन्तुष्ट छन् । इरान र अमेरिकाबीच बढ्दो तनावलगत्तै सरकारले गरेको आग्रहपछि पनि नागरिकका यस्ता गुनासा आईरहेकै छन् । कामदारहरु भन्छन् – सानातिना समस्यामा पर्दा समेत वास्ता नगर्ने दूतावासबाट यस्तो अप्ठेरोमा के आश गर्नु ?
अमेरिका र इरानबीचको तनाव बढेर अर्को खाडी युद्ध होला कि भन्ने चिन्ताले अहिले संसारकै ध्यान त्यता तानेको छ । अहिलेको तनाव मात्रै कायम रह्यो भने पनि मध्यपूर्वमा काम गर्न गएका नेपाली, तिनका परिवार र आफन्तको डर र चिन्ता लम्बिन्छ ।
अमेरिका र इरानबीचको तनाव बढेलगत्तै परराष्ट्र र श्रम मन्त्रालयमा बैठक बसेको छ । बैठकले खाडीका देशमा रहेका दूतावासलाई त्यहाँ रहेका नेपालीहरुबारे बुझ्न, सम्भावित परिस्थितिको आंकलन गर्न र बद्लिदो स्थितिबारे अनुगमन गरी काठमाण्डौमा जानकारी गराउन निर्देशन दिएको र नेपाली नागरिकलाई दूतावाससँग सम्पर्कमा रहन भनेको छ । इरान र इराकसँगै खाडीका अरु देशहरुमा रहेका नेपालीको सुरक्षामा सरकारले देखाएको यो चिन्ता र प्रयास सकारात्मक कामको शुरुवात हुनसक्छ ।
अहिले करीब २० लाख नेपाली नागरिक खाडीका देशमा छन् । इराक र इरान जस्ता देशमा नेपालीको संख्या उल्लख्य नभए पनि अमेरिका र ईरानको तनावले नेपाली धेरै भएका साउदी, ओमान, कतार, संयुक्त अरब इमिरेट्स जस्ता देशहरूमा असर गर्न थालिसकेको छ ।
सरकारको अनुमान अनुसार, मध्यपूर्वका देशमध्ये साउदीमा सबैभन्दा धेरै नेपाली रहेको अनुमान छ । मोटामोटी अनुमान अनुसार, साउदीमा ४ लाख ५० हजार, कतारमा ४ लाख, यूएईमा ३ लाख ५० हजार, कुवेतमा ७० हजार, बहराईनमा २५ हजार, ओमानमा २० हजार, इराकमा १८ हजार, लेबनानमा १२ हजार, जोर्डनमा १२ हजार र इजरायलमा १० हजार नेपाली कामदार छन् । रोजगारीमा गएर करार अवधिमा स्वदेश नफर्किएका नेपालीको संख्या थप तीन लाख भएको अनुमान छ । यस्तै भिजिट भिसामा जाने, अनि खाडी हुँदै अमेरिका, क्यानडा र यूरोपका अरु देश जाने नेपालीको संख्या समेत जोड्दा मध्यपूर्वमा करीव २० लाख नेपाली रहेको अनुमान छ ।
अमेरिका र इरानबीचको द्वन्द्व बढ्दै गए नेपाली कामदार कामबिहीन हुने, असुरक्षित हुने र उनीहरुले तत्काल काम गरिरहेको देश छाड्नै पर्ने अवस्था सृजना हुनेछ । तर सरकार र दूतावासको चासो र चिन्ता हेर्दा सरकारले अवस्थाको गाम्भीर्यतालाई सही किसिमले बिश्लेषण गरेको अनुभव हुँदैन । त्यसमाथि नेपालका आफ्नै सीमितता छन् । सुरक्षा अवस्था बिग्रेको अवस्थामा आफ्ना नागरिकको उद्धार गर्न न नेपालसित हवाईजहाज छन्, नत सबै देशसित हवाइ सम्बन्ध छ, न त आप्mना नागरिकलाई सामुद्रिक मार्ग मार्फत ल्याउने क्षमता नै छ । यस्तो बेला यस अघि हामीले भर पर्ने गरेको भारतसित हो, तर इरान र अमेरिका दुबैतिर समान सम्बन्धमा बसेको भारतले आफ्ना नागरिक अलपत्र हुञ्जेल नेपाललाई सहयोग गर्छ भनेर आश गर्न सकिदैन ।
नेपाली जहाँ रहे पनि उनीहरुको सुरक्षाको दायित्व त नेपाल सरकारकै हो । सरकारले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकता राखेको बताए पनि त्यसको कार्यान्वयन त्यति सजिलो छैन । तर जतिसुकै असजिलो भए पनि यो कामबाट सरकारले पन्छिन पनि मिल्दैन ।
त्यसैले सरकारले आफ्ना दूतावासका ओठे कुरा सुनि मख्ख पर्न छाडेर दूतावास र कर्मचारीले नेपाली नागरिकसित सही व्यवहार गर्न, उनीहरुका कुरा सुन्न र समस्या सल्टाउन के गरिरहेका छन् भन्ने अनुगमन पनि गर्नुपर्छ । त्यसो भयो भने मात्र दूतावास र त्यहाँका कर्मचारीले यस अघि गरेका बेवास्ता र अपहेलनामा पिल्सिएका नेपाली कामदारले देशमा सरकार छ र सरकार जिम्मेवार पनि छ भन्ने अनुभूति गर्नेछन् । खाडीमा चिन्तित नेपालीका समस्या तत्काल र सजिलै समाधान गर्ने हैसियत र क्षमता त नेपाल र नेपालको सरकारसित छैन, तर आफ्ना नागरिकको भरोसा मात्र जित्न सके पनि सरकारप्रति उनीहरुका परिवार र आफन्तको भरोसा टुट्ने छैन । अहिलेका लागि सबैभन्दा महत्वपूर्ण कुरा पनि यही हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।