प्रदेश ३ काे नामाकरण र हेटौँडा राजधानीका लागि सर्वदलीय सहमतिको प्रयास

 पुस २३, २०७६ बुधबार २०:१२:५५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौँडा र नाम वागमती कायम गर्न नेकपाले सर्वसहमतिको प्रयास थालेको छ ।

पार्टीभित्र केन्द्रीय नेताहरुको निर्देशन मान्ने र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका नेताहरुसँग सहमतिको प्रयास थालिएको नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिनुभयो ।

स्थायी राजधानीको टुङ्गो लगाउने काम दुई तिहाइ बहुमतबाट हुने भएकाले दुई तिहाइका लागि नेकपा आफैँले पुग्ने भए पनि सर्वसम्मतिबाट टुङ्गो लगाउँदा राम्रो हुने बताउँदै उहाँले भन्नुभयो, ‘सबै दलहरुसँग सहमतिको प्रयासबाट राजधानीको निर्णय गर्नका लागि गृहकार्य सुरु गरेका छौंँ।’

हेटौँडा राजधानी कायम गर्ने विषयमा नेपाली कांग्रेस पनि लचिलो बनेको छ । सबैको प्रयासबाट अब केही दिनमा राजधानीको टुङ्गो लाग्नसक्ने देखिएकाे छ । प्रदेशको नामाकरणमा लगभग सबैको सहमति भएपनि राजधानीमा केही समस्या भएपछि सर्वसम्मतिको प्रयास भएको हो । 

प्रदेशसभा बैठक सांसदहरुको धारणाः राजधानी हेटौँडाको पक्ष र विपक्षमा 

संसद बैठकमा बोल्ने अधिकांश सांसदहरुले बोल्ने क्रममा जुन जिल्लाबाट प्रतिनिधित्व गरेका छन् त्यही जिल्ला राजधानी उपयुक्त रहेको धारणा व्यक्त गरेका छन् । 

बुधबारकाे प्रदेशसभाको पाँचौ हिउँदे अधिवेशनको दोस्रो बैठक स्थगित हुनुअघि प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनमाछि छलफल चलेको थियो । समितिका संयोजक दीपक निरौलाले प्रतिवेदन छलफलको लागि संसदमा टेबुल गर्नुभएकाे थियाे । 

प्रदेश ३ को स्थायी राजधानी र नामाकणको विषयमा निर्णय गर्न सुरु भएको प्रदेश सभाको हिउँदे अधिवेशनका सांसदहरुले आफ्ना धारणा राखेका छन् । प्रदेशसभामा बोल्ने अधिकांस सांसदहरुले स्थायी राजधानी हेटौंडाको पक्ष र विपक्षमा आफ्ना धारणा राखेका छन् । केही हेटौंडा राजधानी उपयुक्त भनेपनि केहीले भने जुन जिल्लाबाट आफू साैसद भएको जिल्ला हो त्यही जिल्लामा राजधानी राखिनुपर्ने बताएका छन् । 

प्रदेशसभा बैठकमा सांसद बलाराम पौडेलले सबै हिसाबले हेटौँडा नै राजधानी हुन उपयुक्त रहेको बताउनुभयाे । हेटौँडा देशको ठूलो नाकासँग जोडिएको र सुरक्षाको दृष्टिकोणले पनि उपयुक्त रहेको उहाँकाे भनाइ थियाे

सांसद लक्ष्मण लम्सालले प्रदेश ३ को राजधानीको लागि काभ्रे सबैभन्दा उपयुक्त रहेको बताउनुभयाे । अधिकांश प्रदेशसभा सदस्यहरुले काभ्रेलाई सबैभन्दा उपयुक्त रहेको महसुस गरेको कारण पनि काभ्रेलाई राजधानी बनाउन उहाँले आग्रह गर्नुभयाे ।

त्यस्तै, सांसद इन्द्रमाया गुरुङले जनमतको कदर गरेर राजधानी तोक्नुपर्ने बताउनुभयाे । उहाँले राजधानीको हेटौँडा अलि टाढा भएको र नुवाकोट, रसुवा, दोलखाको लागि मकवानपुर कति सहज हाेला भन्ने प्रश्न समेत राख्नुभयाे।

प्रदेशसभा सदस्य विद्या श्रेष्ठले राजधानी हेटौँडा नै हुनुपर्ने बताउँदै सुरुङ मार्गको डीपीआरको काम भइरहेको र फास्ट ट्रयाक बनेपछि हेटौँडा नजिक हुने जिकिर गर्नुभयाे । 

कांग्रेस सांसद नरोत्तम वैद्यले हेटौँडा राजधानी हुँदै नहुने भन्दै बुधबार पनि संसदमा आफ्नो धारणा राख्नुभयाे । सोमबारको बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदनमाथि सभामा छलफल गर्दै उहाँले हेटौँडामा कांग्रेसको समर्थन नहुने भन्दै सार्वजनिक रुपमा बोलेपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले ‘हप्काउनुभएकाे’ थियाे । 

प्रदेश ३ को राजधानी भक्तपुर जिल्ला उपयुक्त रहेको त्यस क्षेत्रबाट निर्वाचित सांसद शशीजंग थापाकाे राय थियाे  । 

काभ्रेबाट निर्वाचित सांसद बसुन्धरा हुमागाईँले आफ्नै पार्टीको केन्द्रीय सचिवालयले राजधानी हेटौँडा र नाम वाग्मती राख्ने निर्णय गरेपछि दुविधामा परेकाे बताउनुभयाे । उहाँले राजधानी काभ्रे उपयुक्त हुने पनि धारणा राख्नुभयाे ।

बुधबार स्थगित भएकाे प्रदेशसभा बैठक पुस २४ गते बिहीबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएकाे छ ।प्रतिवेदनमाथि बिहीबार पनि छलफल चल्ने बताइएकाे छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया