स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा मुस्ताङको ‘यारुजो डाँडा’ (तस्बिरसहित)

 पुस २६, २०७६ शनिबार ११:४६:२९ | प्रताप बानियाँ
unn.prixa.net

मुस्ताङ – गाउँभन्दा माथि अग्लो डाँडा । डाँडामा बनाइएको भ्यू–टावर । त्यही भ्यू–टावरबाट चारैतिरको दृश्य नियाल्न पाइने । आँखै अगाडि निलगिरी, धौलागिरी हिमाल तथा अन्नपूर्ण रेन्जको अवलोकन गर्न सकिने । यो हो हिमालपारीको जिल्ला मुस्ताङको ‘यारुजो डाँडा’ । 

यारुजो डाँडा पछिल्लो समय पर्यटकीय क्षेत्रका रुपमा चिनिदै गएको छ । हिमाली जिल्ला मुस्ताङ आफैमा पनि सुन्दर, मनमोहक र आकर्षक छ । मुस्ताङको घरपझोङ गाउँपालिका–५, ठिनी गाउँदेखि माथि यारुजो डाँडा पर्दछ । जुन अहिले पर्यटकीय क्षेत्र बनेको हो ।

‘या’ भनेको याक, ‘रु’ भन्नाले याकको सिङ र ‘जो’ भनेको डाँडा अर्थात् याकको सिङ जस्तो देखिने यस डाँडालाई यारुजो नामाकरण गरिएको स्थानीयवासिन्दा बताउँछन् ।

समुन्द्री सतहदेखि ३ हजार ७ सय ५० मिटरको उचाइमा रहेको यारुजो डाँडाबाट पवित्र कालीगण्डकी नदी र वरिपरीको वस्ती निकै रोमाञ्चक देखिन्छ । यारुजो डाँडाको भ्यु–टावरमा चढेर हेर्दा निलगिरी, धौलागिरी, मानापाथी, टुकुचे, डोल्पाको हिमाललगायत अन्नपूर्ण हिमश्रृङ्खलाकासाथै १ दर्जन बढी हिमालहरु प्रत्यक्ष हेर्न सकिने मुस्ताङका पत्रकार निरज थकाली बताउनुहुन्छ ।

यारुजो डाँडा पछिल्लोपटक मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य रोजाइमा पर्दै जान थालेको छ । यारुजो डाँडाबाट मुस्ताङको सदरमुकाम जोमसोम बजारसहितका वस्तीहरु देखिन्छन् ।

यस्तै मुस्ताङको जोमसोम विमानस्थल तथा विमान अवतरण गरेको र उडान भरेको पनि यारुजो डाँडाबाट हेर्न सकिन्छ । त्यस्तै मार्फा, पाक्लिङ, फ्ल्याक, स्याङ, समलेक, कागबेनी, कोरला रेञ्ज, उपल्लो मुस्ताङको केही भाग र तिब्बतीयन प्लेट टु समेत देखिन्छ ।

यारुजो डाँडाको भ्रमणमा जाने विदेशी पर्यटकले यसलाई ‘गेट अफ हेभन’ अर्थात् ‘स्वर्ग जाने बाटो’ भन्ने गरेको पत्रकार थकालीको भनाइ छ ।

यारुजो डाँडा आसपासको वनजङ्गलका क्षेत्रमा लोपोन्मुख वन्यजन्तु भेटिने गरेका छन् । राष्ट्रिय पंक्षी डाँफे, हिउँचितुवा, कस्तुरी, मृग, नाउरलगायत जनावरहरु यस क्षेत्रमा पाइन्छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका–५, नम्बर वडामा पर्ने ठिनी गाउँमा थकाली समुदायको बाहुल्यता रहेको छ । मुस्ताङ सदरमुकाम जोमसोमबाट २ किलोमिटरको दुरीमा रहेको ठिनी गाउँको १ सय १० घरधुरीमध्ये अहिले १२ वटा घरमा होमस्टेको व्यवस्था छ ।

होमस्टेमा पुग्ने पर्यटकलाई ठिनी गाउँवासीले घ्युको टिका लगाई धुपीको फूल दिएर स्वागत गर्ने गर्दछन् ।

ठिनी गाउँ भ्रमण गर्न र होमस्टेमा बास बस्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई फापरको ढिँडो, पिठो, रोटीलगायत अर्गानिक खाना खुवाउने गरिएको होमस्टे सञ्चालक आइतबहादुर थकालीले जानकारी दिनुभयो ।

साँझ ठिनी गाउँमा बसेका पर्यटकहरु बिहान सबेरै उठेर यारुजो डाँडा र ढुम्बातालको अवलोकन गर्न जाने गर्दछन् । यारुजो डाँडा अवलोकन गर्न जाने पर्यटकहरुलाई लक्षित गरेर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमको सहयोगमा १० लाख रुपैयाँको लागतमा भ्यु–टावर बनाइएको हाे । 

 

अन्तिम अपडेट: बैशाख २, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया