अब विदेशमा कमाएको पैसाले नेपालमै व्यवसाय गर्ने सोच बनाएको छु

 पुस २६, २०७६ शनिबार १३:१५:५६ | मेरो कथा मेरो भोगाई

धिरज पौडेल । मोरङ, विराटनगर

म एसएलसी दिएर बसेको थिएँ । त्योभन्दा माथि पढाउन सक्ने घरको आर्थिक अवस्था थिएन । बस्नको लागि राम्रो घर पनि थिएन । हामी चार जना दाजुभाइ हो । जेठो दाइ कतारमै हुुनुहुन्छ । माइलो म । मपछि दुईजना भाइ छन् । साइँलो पनि कतारमा पाँच वर्ष बसेर अहिले गाउँमै छ । कान्छो भाइ स्नातक पढ्दैछ । 

एसएलसी पास गरेपछि मैले ११ कक्षा पढिनँ । कतारमा काम गर्ने ठूल्दाइको सल्लाहमा सीटीईभीटीबाट इलेक्ट्रिसियनको तालिम लिएँ । ठूल्दाइले कतारबाट कलिङ भिसा पठाउनुभयो । त्यसपछि म सन् २००४ मा कतार उडेँ । 

यहाँबाट सीप सिकेर गएकोले मलाई काम खोजिरहनु परेन । एउटा इलेक्ट्रिक कम्पनीमा टेक्निसियनको काम पाएँ । त्यतिबेला तलब कतारी रियाल साढे पाँचसय थियो । दुई वर्ष लगातार काम गरेपछि म सन् २००६ मा नेपाल आएँ । फर्किनेबेला मेरो तलब बढेर १४ सय रियाल पुगेको थियो ।  

नेपाल आएर दाइभाइको पैसा जम्मा पारेर घर बनाइयो । त्यसपछि दुई वर्ष घरमै बसेर म फेरि सन् २००९ मा कतार गएँ । त्यतिबेला त्यहाँको अल्मोक्ता बिल्डिङमा कन्स्ट्रक्सनको मेन्टिनेन्स डिभिजनमा इनडोरको रुपमा गएँ । एसी मर्मतको काम गर्नुपथ्र्यो ।

त्यसपछि मैले त्यही कम्पनीमा सात वर्षसम्म ईलेक्ट्रिसियनको रुपमा काम गरेँ । सुरुमा त्यो कम्पनीमा जाँदा तलब १४ सय रियाल थियो । सात वर्र्षपछि सन् २०१४ मा त्यहाँबाट फर्किनेबेला दुई हजार रियाल पुगेको थियो । 

सन् २०१४ मा स्वदेश फर्किएँ  र विवाह गरेँ । अगाडि कमाएको पैसा बिहे गर्नमा, घर बनाउनमा सकिएको थियो । भाइको पढाइ खर्च पनि मैले नै व्यहोर्छुँ । त्यसपछि एक वर्ष घरमा बसेर फेरि म त्यही कम्पनीमा कतार गएँ । चार वर्ष त्यहीँ काम गरेँ र सन् २०१८ मा घर आएँ ।

यसबेला आफ्नै घर बनाएँ, बिराटनगरमा । पहिलेको घर चाहिँ सबै दाजुभाइको साझा घर थियो ।

अहिले हामी तीनै भाइले आआफ्नो घर बनाइसक्यौँ । कान्छो भाइ पढिरहेको छ । अब देशमै केही काम गर्नुपर्छ भन्ने लागेको छ । घरको आर्थिक अवस्थालाई शून्यबाट माथि उठाएर गाउँमा शीर उठाउनेसम्मको बनाइसक्यौँ । घर बनाउँदा, बिहे गर्दा कमाएको सबै पैसा सकियो ।

नेपालमै केही गरौँ भन्दा अहिले साथमा पैसा छैन । अहिले म ३५ वर्षको भएँ । केही वर्ष फेरि कतार बसेर अब कमाएको पैसाले नेपालमै व्यवसाय गर्ने सोच बनाएको छु । सायद यो नै मेरो अन्तिम कतार बसाइ हुन सक्छ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया