विष खुवाएर नाबालक छाेराकाे हत्या गरेकाे कसुरमा आमालाई जन्मकैद फैसला

 पुस २९, २०७६ मंगलबार १४:०:८ | अमर सुनार
unn.prixa.net

दैलेख – आफ्ना दुई नाबालक छोराहरुलाई विष खुवाएर हत्या गरेको कसुरमा महाबु गाउँपालिका १ खरिगैराकी २४ वर्षीया कल्पना नेपालीलाई दैलेख जिल्ला अदालतले जन्मकैद फैसला सुनाएकोे छ । 

घटना प्रकृति र घटना सम्बन्धमा प्राप्त प्रमाणहरुका आधारमा कसुर गरेको ठहर भएकोले जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको एकल इजलासले यस्ताे फैसला गरेकाे दैलेख जिल्ला अदालतका सूचना अधिकारी विनाेद आचार्यले जानकारी दिनुभयो ।  

विसं २०७५ कात्तिक १० गते दिउँसो भुटेको भातमा मेटासिड घोलेर खुवाएपछि उपचारको लागि सदरमुकाम ल्याउँदै गर्दा सात वर्षीय जेठो छोरा आयुष नेपाली बाटोमा र तीन वर्षीय कान्छो छोरा अमित नेपालीको उपचारको क्रममा ज्यान गएकाे थियो ।

विष लागेको थाहा पाएपछि स्थानीयको पहलमा अस्पताल ल्याउँदै गर्दा आयुषको बाटोमै र अमितको भने उपचारको क्रममा २०७५ कात्तिक १५ गते कोहलपुर मेडिकल कलेजमा ज्यान गएकाे भनि जिल्ला प्रहरी कार्यालय दैलेखमा कात्तिक १६ गते ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो । 

आयुषको कात्तिक १० गते दैलेख जिल्ला अस्पतालमा र अमितको कात्तिक १५ गते कोहलपुर मेडिकल कलेजमा शव परीक्षण भएको थियो । शव परीक्षण प्रतिवेदनमा ती दुवै बालककाे विषकाे कारण ज्यान गएकाे उल्लेख छ । 

आरोपित कल्पनालाई प्रहरीले २०७५ कात्तिक २० गते हिरासत अनुसन्धान सकेर दैलेख जिल्ला अदालतमा मङ्सिर १० गते दर्ता गराएको थियो । त्यही दिन अदालतले पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा राखेको थियो । 

२०७५ भदौ १ गतेदेखि लागू भएको ‘मुलुकी फौजदारी कसुर र सजाय ऐन २०७४’ को दफा १७७ बमोजिम ज्यान मारेको ठहरेको र त्यही ऐनको दफा ४१ बमोजिम खाद्यवस्तुमा विष हालि मारेको खुलेको कारण जन्मकैद गरिएको फैसलामा उल्लेख छ । 

ऐनको उपदफा ४२ ले जन्मकैद भनेको २५ वर्ष कैद हुने प्रस्ट्याएकाे छ । ‘मुलुकी फौजदारी कसुर र सजाय ऐन २०७४’ अनुसार दैलेख जिल्ला अदालतले ज्यान मारेको कसुरमा जन्मकैद भएको याे पहिलो फैसला हो । 

कल्पनाले आफ्नो श्रीमान् गाउँबाट बिहानै रक्सी खाएर आएको विषयमा सामान्य विवाद भएको झोकमा तीन वटै छोरालाई भुटेको भातमा मेटासिड घोलेर खुवाए पनि ५ वर्षीय माइलो छोरा अमृतले भने नराम्रो गन्ध आएको भन्दै खाने कुरा छोडेका थिए । 

अमृतकाे पालनपाेषण घरतर्फका बाजे सन्तोष र बज्यै गङ्गा नेपालीले गरिरहनु भएकाे छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया