बाटो काट्ने बेला ३ मिनेट रोज्ने कि ७० वर्ष ?

 माघ ४, २०७६ शनिबार ११:४१:४ | राेशन केसी
unn.prixa.net

दुई महिनाअघिको कुरा हो । तोकेरै भन्दा कात्तिक २ गते शनिबारको । म र एकजना साथी भैरहवाको देवकोटा चोकमा थियौं । हामीलाई सडक पारि जानु थियो । नजिकै थियो फलामको आकासेपुल । साथी सडकबाटै बाटो काट्न चाहन्थ्यो । मैले आकासेपुलबाट जाउँ, हाई वे हो, गाडी तीव्र गतिमा आएका हुन्छन्, जे नि हुन सक्छ भनेर कर गरें । 

बल्लबल्ल उसले मान्यो र हामी आकासेपुलबाट पारि गयौं । पारि त गइयो, तर साथी मसँग खुब रिसायो । उसको खुट्टामा समस्या थियो । मैले बुझेको थिएँ । तर जथाभावी बाटो काट्दा जिन्दगीभरीकै लागि समस्या हुनसक्ने जोखिम हुन्छ, जुन खुट्टाको समस्याभन्दा घातक हुन्छ । यही लागेर मैले आकासेपुलको प्रयोग गर्न लगाएँ, तर उ रिसायो ।

यसरी पनि बाटो काट्ने हो, कुरेर बाटो काट्नुपर्छ भन्दा उ सानसँग भन्थ्यो, ‘अँ गाडीलाई नि कुरेर बस्छन् । कुदेर गइहाल्नुपर्छ ।’ 

१२ कक्षामा पढ्दा कलेजबाट जोरपाटी चोकमा गाडी चढ्न जाँदा एक ठाउँमा बाटो काट्नुपर्थ्याे । बाटो काट्ने हामी ४/५ जना साथीहरु हुन्थ्यौं । अनि हामीमध्येको एकजना साथी भने गाडी आएको देख्दादेख्दै खुरर्र कुदेर बाटो काट्थ्यो । पारि पुग्थ्यो । 

यसरी पनि बाटो काट्ने हो, कुरेर बाटो काट्नुपर्छ भन्दा उ सानसँग भन्थ्यो, ‘अँ गाडीलाई नि कुरेर बस्छन् । कुदेर गइहाल्नुपर्छ ।’ 
अनि म सोच्थें, त्यो साथी छिटो कुद्छ होला कि गाडी ?

बाटो काट्न जेब्राक्रसको प्रयोग गर्ने, आकासेपुलबाट बाटो काट्ने, तोकिएको ठाउँबाट दायाँबायाँ हेरी गाडीको गति बुझेर बाटो काट्ने भन्ने त हामी सबैलाई थाहै छ । तर पनि यो कुरामा हाम्रो ध्यान किन जाँदैन भनेर मलाई आश्चर्य लाग्छ । 

गाडी आएको देख्दादेख्दै मान्छेहरु हतारहतार सडक पार गर्छन् । अरु त के कुरा गर्नु, धेरैले ‘यमराजको यान्त्रिक स्वरुप’ भन्ने गरेको ‘टिप्पर’ देख्दा पनि मान्छे रोकिंदैन । हात देखाएर लम्किन्छ सडकको अर्काे कुनामा पुग्ने महत्वपूर्ण यात्रामा ।

मृत्युको डर नै छैन बाटो काट्ने मान्छेलाई । त्यत्रो बढेमानको टिप्पर, बस आउँदा पनि मान्छे हात देखाएर हिँड्छ । शायद यस्तै डर नभएको भएर होला नेपालीले संसारकै साहसिक र बहादुरको ताज पाएको । 

नेपालीले यसरी हात देखाएर बाटो काटेको अङग्रेजी फिल्मका सुपर हिरोले देखे भने लाजले भुतुक्कै हुन्छन् होला । तिनलाई पनि लाग्दो हो, हरेक नेपालीको घर–घरमा सुपर हिरो छन् । जसले बस, टिप्पर, ट्रक जस्ता टन भार भएका गाडीहरुलाई सामान्य हातले रोकिदिन सक्छन् । 

छिमेकी देश भारतमा अभिनेता सन्नी देवलको ढाई किलो अर्थात् साढे दुई किलोको हातको निकै चर्चा हुने गर्छ । तर तिनै देवलले पनि नेपालीको यो हात देखे भने लाजले आफ्नो हात लुकाउँछन् होला । 

बुद्धको देश हो, नेपाल । उनको ध्यान, तपस्याको चर्चा विश्वभर हुने गरेको छ । तिनै बुद्धले ध्यान र एकाग्रता भारतको गयामा गएर पाए । यदि अहिले बुद्ध हुन्थे भने उनले यो एकाग्रता नेपालका हरेक सडकमा बाटो काट्ने मान्छेबाट पाउँथे, भारतको गया जानै पर्ने थिएन । 

मानौं कि सडकको एकछेउमा उभिएको एउटा कुनै पात्र छ । उसको एउटै लक्ष्य सडकको पारि पुग्नु हो । चाहे कार, बस, ट्रक, टिप्पर जे सुकै आओस् । अहँ उसलाई मतलब हुन्न । मोटरसाइकलको त गन्ती नै हुन्न । साइकल पनि हुन्छ र झैं उसलाई लाग्छ । उसको एउटै गन्तव्य सडक पारि जाने हो । कुनै बाधा अड्चनले उसको त्यो लक्ष्यप्रतिको मोह र एकाग्रतालाई तोड्न सक्दैन । 

नेपालीलाई यति हतारो हुन्छ नि । श्रीमान्–श्रीमतीको बाटो काट्ने हतारो देख्दा लाग्छ, उनीहरुले एकदिनमै छोराछोरी जन्माएर बिहेबारी भ्याउँछन्, तिनको । 

साथीसँग कुरा गर्दै, प्रेमीप्रेमिकासँग जिस्किँदै, फोनमा गफिंदै जसरी नै बाटो काट्दा होस्, उसको त्यो सडक पार गर्ने एकाग्रता भङ्ग हुनेमा कुनै शंका नै हुन्न । अब यस्तो युगमा बुद्ध भएका भए के जानु पर्थ्याे होला त एकाग्रताको लागि भारतको गया । सडकमा उभियो, हेर्‍यो बाटो काट्ने मान्छेलाई ।

अर्काे कुरा, बाटो काट्ने मान्छेलाई निकै हतारो हुन्छ । शायद नासाले पनि यो खोज गर्न सक्दैन कि हामी नेपालीलाई हतार के को लागि हुन्छ भनेर । ट्राफिक प्रहरीले अहिले त काठमाण्डौको विभिन्न ठाउँम समय देखाउने ट्राफिक बत्ती राखेको छ । त्यहाँ कति समय कुर्नुपर्छ, सबै देखाउँछ । समय सकिनेबित्तिकै हरियो बत्ती बल्छ अनि सुरक्षित रुपमा सडक पारि जान सकिन्छ । तर वीर नेपालीलाई त्यसले पनि रोक्न सक्दैन । 

अझै त्यो घडीसहित एक जना ट्राफिक बसेका हुन्छन्, भिडमा रहेका नेपालीलाई रोक्न । सिट्टी फुकेर, हातले इशारा देखाएर, चिच्याएर ट्राफिकले रोक्न खोज्छ सडक पार गर्ने महान उदेश्य बोकेको नेपालीलाई । तर वीर नेपालीलाई रोक्न गाह्रो छ । 

उ बेलामा अँग्रेजको गोली र तोपले रोक्न नसकेको नेपालीलाई त्यो जाबो ट्राफिक, ट्राफिकले बजाएको सिट्टी, देखाएको हातको इशारा अनि बत्तीले रोक्न खोज्नु आफैंमा मूर्खता हो नि ।

नेपालीलाई यति हतारो हुन्छ नि । स्कुल, कलेज हिँडेकाको हतारो देखेर लाग्छ कि त्यो बाटो छिट्टो कट्न पाए त उसले एकदिनमै पूरा किताबको कोर्स सक्छ । 
अफिस हिँडेकाको हतारो देखेर लाग्छ, यिनीहरुले त एकदिनमै महिनाभरको तलब पाउँछन् । 

श्रीमान्–श्रीमतीको बाटो काट्ने हतारो देख्दा लाग्छ, उनीहरुले एकदिनमै छोराछोरी जन्माएर बिहेबारी भ्याउँछन्, तिनको । 

साँच्चै, हतार चाहिँ के को बुझ्न गाह्रो छ । लाग्छ सबै बाटो काट्ने नेपाली संसारका धनी मान्छे हुन् । एक सेकेण्ड पनि ढिला भयो भने अर्बौंको नोक्सानी बेर्होनुपर्छ ।

जबसम्म गाउँ र दुर्गमका खोलामा पुल बन्दैनन्, तबसम्म हामीले पनि सडकका पुलको प्रयोग गर्दैनौं भनेर नेपालीले सरकारसँग गरेको अघोषित अन्दोलन पो हो कि आकासेपुल प्रयोग नगर्नु ?

२०१९ मा फोर्ब्सले सार्वजनिक गरेको धनी मान्छेको सूचीको एक नम्बरमा रहेका मार्क जुकरबर्ग नेपाल आए अनि नेपालीको यो बाटो काट्ने हतारो देखे भने लौ अर्काेपल्टको फोर्ब्स को सूचीमा आफू दोस्रो पो हुने भइयो भन्ने डर लाग्न सक्छ उनलाई । 

जेब्राक्रसबाट बाटो काट्नुपर्छ भन्ने थाहा छ । तर हामी यसको प्रयोग गर्दैनौं । नाम जेब्राक्रस हो । जेब्रा भनेको घोडा, क्रस भनेको काट्नु । त्यसैले घोडाले बाटो काट्ने ठाउँबाट हामी मान्छेले किन बाटो काट्नु भनेर हो कि नकाटेको ? यो बुझ्न कठिन छ ।

आकासेपुल पनि बाटो काट्नको लागि हो । तर हामीलाई यो पनि छ र झैं लाग्छ । शायद देशको दुर्गम ठाउँमा खोलामा त पुल छैन । हामीले सुविधा खोज्दै सडकमा पुल हालेका छौं । जबसम्म गाउँ र दुर्गमका खोलामा पुल बन्दैनन्, तबसम्म हामीले पनि सडकका पुलको प्रयोग गर्दैनौं भनेर नेपालीले सरकारसँग गरेको अघोषित अन्दोलन पो हो कि आकासेपुल प्रयोग नगर्नु ? यो बुझ्न झन् अप्ठ्यारो छ ।

जे होस्, सडक अनुशासनको पालना हाम्रै सुरक्षाको लागि हो । यसको पालनाले हामीलाई सुरक्षित बनाउँछ भन्ने हामीले किन नबुझेको ? यो बुझ्न र बुझाउन झन् जटिल छ ।

नेपालको शिक्षा किताबमा मात्र सीमित छ भन्ने कुराको ज्वलन्त उदाहरण हो, सडक अनुशासनको उल्लङ्घन र अवमूल्यन । होइन भने हामीले सानामा पढेकै हो, अनुशासन मानिसको गहना हो । तर हामीले बुझेको खोइ ? यो अनुशासन कक्षाकोठाको मात्रै हुँदैन, सडकको पनि हुन्छ । 

अहिले नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिंहदरबार लगायतका केही ठाउँमा ट्राफिक बत्ती र सँगै पिलपिल गरेर समय देखाउने घडि देख्न सकिन्छ । त्यो ट्राफिक बत्तीमा हुने घडिले कति समयपछि पालो आउँछ भनेर चालकलाई जानकारी दिन्छ । यो अत्याधुनिक प्रविधि हो । यो घडिको आधारमा चालक, पैदलयात्री र सडक प्रयोगकर्ता नियम पालना गर्छन् । 

यस्तै, प्रविधिको प्रयोग गरेर मैले चीनका स्यान्चेन शहरमा बाटो काटेको थिएँ  । यस्तो प्रविधि नेपालको सडकमा पनि अहिले आएको छ ।
तर अहिले नेपालमा आएको यो प्रविधिको पनि कसैलाई मतलब छैन । यस्तो ट्राफिक बत्ती भएको ठाउँमा पनि मानिसले त्यो घडिको बेवास्ता गरेर बाटो काटेको देखिन्छ । शायद नेपाली निकै व्यस्त भएर होला यसो भएको । 

काठमाण्डौमा रहेका ट्राफिक बत्तीहरुमा पैदलयात्रीलाई बाटो काट्नका लागि ३० सेकेण्डदेखि बढीमा ३ मिनेटसम्मको समयसीमा तोकिएको छ ।

यस्तो समय देखाउने ट्राफिक बत्ती भएको ठाउँमा धेरैबेर कुर्नुपर्ने भएर हतार गरेको हो कि जस्तो मलाई लाग्यो । मलाई यो बारेमा अलिक थाहा भएन । किनकी मैले चीनमा बाटो काट्दा त्यो घडिमा जम्मा ३५–३६ सेकेण्ड जति बाँकी थियो । अब कति समय त्यसले देखाउँछ, कति कुर्नुपर्छ मलाई थाहा भएन । 

अनि यो कौतुहल मेटाउन मैले ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठसँग एउटा पैदलयात्रीका लागि बाटो काट्न कति समय तोकिएको हुन्छ भनेर सोधें । उहाँले कुनै पनि चोकमा हुने गाडीको चाप, सडकको अवस्था, बिहान र बेलुका हुने गाडीको चापका आधारमा त्यो समय निर्धारण हुने बताउनुभयो ।

काठमाण्डौमा रहेका ट्राफिक बत्तीहरुमा पैदलयात्रीलाई बाटो काट्नका लागि ३० सेकेण्डदेखि बढीमा ३ मिनेटसम्मको समयसीमा तोकिएको उहाँले जानकारी दिनुभयो । 

तर मैले बुझ्न नसकेको नेपालीलाई बढीमा ३ मिनेट कुर्ने समय पनि किन हुँदैन ? यो बुझ्न निकै गाह्रो छ ।

विश्व स्वास्थ्य सूचकांकमा नेपाली पुरुषको आयू ७० वर्ष र महिलाको आयू ७१ वर्ष छ । पुरुषको आयूलाई मिनेटमा रुपान्तरण गर्ने हो भने ३ करोड ६२ लाख ८८ हजार मिनेट हुन आउँछ । अनि महिलाको आयू ३ करोड ६८ लाख ६ हजार चार सय मिनेट हुन्छ । अनि ट्राफिकले बाटो काट्नको लागि हाम्रा लागि बढीमा ३ मिनेट छुट्याएको छ । 

अब यो तपाईको हातमा छ, तपाई ३ मिनेट छान्नुहुन्छ कि ३ करोड ६२ लाख ८८ हजार मिनेट ।

अब यो तपाईँकाे चाहना हो, ३ मिनेट कि ३ करोड ६८ लाख ६ हजार चार सय मिनेट ।
साँच्ची भन्नोस् त ३ मिनेट कि ७० वर्ष ? 

अन्तिम अपडेट: फागुन १, २०७६

राेशन केसी

केसी उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

1 Comments

  • यशोदा

    Jan. 18, 2020, 6:22 p.m.

    ब्यग्यात्मक, उपदेशमुलकर सुझाव मुद्रित को यो post writing.राम्रो लाग्यो। लेखक लाई धन्यवाद।

  •  0 Reply

तपाईको प्रतिक्रिया