यूएईमा एक वर्षमा १ सय ३ जना नेपाली श्रमिकले ज्यान गुमाए

 माघ ६, २०७६ सोमबार १२:५३:४९ | उमाकान्त पाण्डे

यूएई –सन् २०१९ मा यूएईमा १ सय ३ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ९९ जना पुरुष र ४ जना महिला रहेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । 

दूतावासकाअनुसार ५८ जनाको हृदयघात, मस्तिष्क पक्षघात तथा रक्सी पिएर ज्यान गएको हो । यस्तै १७ जनाले आत्महत्या गरेका हुन् भने पाँच जनाको हत्या भएको छ ।

त्यस्तै सडक दुर्घटनामा परेर, डुबेर र जलेर २३ जनाको ज्यान गएको दूतावासले जनाएको छ । दूतावासका अनुसार सन् २०१९ मा ज्यान गुमाएका सबैको शव नेपाल पठाइसकेको छ ।

पछिल्लो ७ वर्षमा यूएईमा ४ सय १४ पुरुष र ४३ महिला गरी ५ सय ५७ जना नेपालीको ज्यान गएको छ । सन् २०१८ मा १ सय ७, २०१७ मा ८४, सन् २०१६ मा ६६ र सन् २०१५ मा ६४ नेपाली श्रमिकको ज्यान गएको थियो । त्यस्तै सन् २०१४ मा ६३ जना र सन् २०१३ मा ७० जना श्रमिकले यूएईमा ज्यान गुमाएका थिए । 

दुर्घटना र जाँडरक्सी पिएर ज्यान गुमाउनेको संख्या बढेको र सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये धेरैजना पहिलो पटक विदेशिएका नेपाली रहेको तथ्यांकले देखाएको छ ।

दूतावासले नेपाली श्रमिकको मृत्युदरलाई कम गर्न विभिन्न खालका जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । दूतावासले अघिल्लो वर्षबाट विभिन्न कम्पनीमा कार्यरत कामदार बस्ने मजदुर क्याम्पमै गएर जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
 

अन्तिम अपडेट: चैत ४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया