नेकपा कार्यकर्ताको घरमा ‘तँ’, ‘तिमी’ को खैलाबैला, पारिवारिक बैठक नै भंग !

 माघ ११, २०७६ शनिबार ८:१७:३० | मिलन तिमिल्सिना
unn.prixa.net

‘सुन्नुहोस् त तपाईं पनि खाना पस्कनुहोस् सँगै खाउँला’ भात खान बसेका श्रीमानको बोली सुनेर श्रीमती झस्किइन् ।

कहिलेकाहीँ तिमी भन्नुबाहेक सधैं तँ भनेर बोलाउने श्रीमानलाई आज के भयो ? बिहानसम्म छिटो भात पस्क मलाई ढिलो भयो भनेर अरुभन्दा छिटो खाएर निस्कने श्रीमान आज किन सँगै खाउँ भन्दैछन् ? मलाई नै भनेका हुन् कि अरु कसैलाई ?

अचम्म मानेर श्रीमतीले यताउता हेरिन् । श्रीमान मात्रै छन् । छोराछोरी पनि आइपुगेका छैनन् । 

‘हैन तपाईंले कसलाई भन्नुभएको ?’ पस्कन लागेको भात त्यत्तिकै छोडेर श्रीमती श्रीमानतिर फर्किन् ।
‘हजुरलाई नै हो, हजुरबाहेक अरु को छ र यहाँ ? भात तरकारीलाई पनि तपाईं भन्नु त पार्टीले भनिसकेको छैन’ श्रीमान अप्ठ्यारो मानीमानी बोले ।

‘हजुर रे ? मलाई हजुर ?’ श्रीमती मुर्छा परेर हाँसिन् ।
‘किन हाँसेकी ? पार्टीले तँ नभन्नू भनेर सर्कुलर पठाएको सुनेकी छैनस् ?’ तँ नभन्नू भन्या छन् भन्दै श्रीमानले फेरि तँ नै भने ।

‘लौलौ तपाईंको पार्टीले पनि अनेक अनेक नाटक गर्न जान्या छ । अरु कामको चाहिँ मेसोमेलो मिलाउन जान्या हैनन्, नौटंकी मात्रै’ श्रीमती फतफताइन् ।

‘हा हा तँ नभन्नू भन्या छन् रे, फेरि सुनेकी छैनस् रे ?’ श्रीमती फेरि हाँसिन् ।
‘सरी सरी, झुक्किछु क्या..’ श्रीमानले टाउको निहुराए ।

‘हैन तँ नभन्नू भन्या भए तिमी भने भैगयो नि, अप्ठ्यारो मानी मानी किन तपाईं हजुर भन्नु ?’ श्रीमतीले भनिन् ।
‘बल्ल बल्ल तिमी भन्ने बानी पारौंला रे, फेरि भोलिपर्सि पार्टीले तिमी हैन तपाईं नै भन्नू भन्यो भने गाह्रो हुँदैन ? त्यसैले अहिलेदेखि नै तपाईं भन्ने बानी पारेपछि कुरै खत्तम’ श्रीमानले प्रष्ट्याए ।

‘लौलौ तपाईंको पार्टीले पनि अनेक अनेक नाटक गर्न जान्या छ । अरु कामको चाहिँ मेसोमेलो मिलाउन जान्या हैनन्, नौटंकी मात्रै’ श्रीमती फतफताइन् ।
‘ल ल धेरै नकरा, तँलाई किन बाठो हुन पर्‍याे ?’ हातमा पार्टीको सर्कुलर बोकेर बसेका श्रीमानले फेरि तँ भने । श्रीमती फेरि मुर्छा परेर हाँसिन् ।

त्यहीबेला छोराछोरी आइपुगे ।
‘बाबा पाईं अलि पर सर्नु त । यहाँ म बस्छु’ छोरीले हाँस्दै भनिन् ।
‘पाईं रे, के भन्छे यो छोरी ?’ आमा फेरि छक्क परिन् ।

‘अब कार्यकर्ताको घरमा पार्टीले तँ नभन्नू भन्या छ रे । तँपाईं भन्दा त तँ आइहाल्यो नि । त्यसैले पाईं मात्र’ छोरी मुर्छा परेर हाँसिन् ।
‘खै के हो के, पार्टीले पनि घरघरमा सबैलाई पागल बनाउँछ कि क्या हो’ कार्यकर्ताका श्रीमती फेरि फतफताइन् ।

‘ल ल सबैलाई खाना पस्कनुहोस्, सबै सँगै बसेर खानुपर्छ’ घरमुली कार्यकर्ताले भने ।
‘हैन बाबाले ममीलाई तपाईं भनेको ?’ छोराछोरी मुर्छा परेर हाँसे ।

‘ममीलाई मात्र हो र, अब तिमीहरुलाई पनि तपाईं भन्नुपर्छ मैले’ श्रीमानले सर्कुलरको पाना देखाए ।
‘अनि मैले पनि भाइलाई तपाईं भन्ने ?’ छोरीले सोधिन् ।

‘तपाईं त भन्ने हो नि, पार्टी कार्यकर्ताको घरमा अब तँ निषेध’ बाउले कडा निर्देशन दिए ।
‘म त सक्दिन है बाबा, भाइलाई तँ भन्नुको जस्तो मज्जा तिमी भन्दा पनि हुन्न’ छोरीले भनिन् ।

‘हो नि, मलाई पनि तँ भनेकै मन पर्छ । हुन्न बाबा तपाईं र ममीलाई तपाईं भन्ने हो, दिदीलाई त तँ नै भन्ने हो म पनि । सबैलाई एउटै भन्नुपर्ने भए बरु तपाईं र ममीलाई पनि तँ भन्ने’ छोरो जान्ने हुन खोज्यो ।

‘धेरै जान्ने नहोउ है, भनेको मान्ने, अब कसैले कसैलाई तँ नभन्ने, एकारान्त शब्द पनि प्रयोग नगर्ने’ बाउले पार्टीको सर्कुलर सुनाए ।

‘अनि खाना चाहिँ किन सँगै खाने नि ?’ छोरोले सोध्यो ।
‘यहाँ हेर न यी, परिवारका सबै सदस्य सँगै बसेर खाना खानू भनेर लेखिएको छ’ बाउले पार्टीले पठाएको सर्कुलर देखाए ।

‘अनि अप्ठ्यारो काम चाहिँ आफूले लिनु पनि भन्या रहेछ नि । अब भात खाएर भाँडा माझ्ने अप्ठ्यारो काम त हजुरले गर्ने होला नि, म त सक्दिनँ’ श्रीमतीले भनिन् ।

‘हरे भगवान । छोरोलाई ८ बजे स्कुल पठाउनुपर्छ । छोरी ११ बजे कलेजबाट आइपुग्छे । तपाईंलाई ९ बजे भात चाहिन्छ । कहिले बैठक भयो भने भात खानै आउनुहुन्न । कहिले ढिलोसम्म कुर्नुपर्छ । हैन सधैं सँगै कसरी खाना खान पाइन्छ हँ’ श्रीमतीले बाध्यता र वास्तविकता सुनाइन् ।

‘अरु कुरा थाहा छैन, आजदेखि सँगै खाने । बिहानै उठ्ने, अनि सँगै भात खाने र आआफ्नो काममा लाग्ने । बेलुका म नआइपुग्दासम्म कसैले खाना नखाने । घर फर्कन नसकेको दिन कसैले पनि भात नखाने’ श्रीमान एकोहोरो बोलिरहे ।

‘खै खै भाइ त्यो कागज ले त, म पढ्छु’ बाउको कुरा सुनेर दिमाग घुम्न थालेपछि छोरीले भाइको हातबाट सर्कुलर तानिन् ।

‘फेरि तँ भनी यसले, तँ नभन भनेको हैन’ बाउले पनि तँ नै भनेर छोरीलाई तँ नभन्न भने ।
सुनेर फेरि सबै गल्लल हाँसे ।

‘बेलाबेला परिवारका सदस्य सबै जुटेर पारिवारिक बैठक बसेर सल्लाह सुझाव तथा आलोचना गर्नू । घरको काममा कार्यविभाजन गर्नू, अप्ठ्यारो काम आफूले लिनू....’ छोरीले पार्टीको सर्कुलर पढिन् र हाँस्दै भनिन्, ‘बाबा बैठक पनि बस्नुपर्ने रहेछ नि, कतिखेर बस्ने हो ? आलोचना पनि गर्नु रे । तपाईंको गर्न पाइने हो कि होइन ?’

‘ल ल धेरै जान्ने नहोउ, छिटो भात खाएर बैठक बसिहाल्ने हो ?’ बाउले भने ।
‘अनि अप्ठ्यारो काम चाहिँ आफूले लिनु पनि भन्या रहेछ नि । अब भात खाएर भाँडा माझ्ने अप्ठ्यारो काम त हजुरले गर्ने होला नि, म त सक्दिनँ’ श्रीमतीले भनिन् ।

‘कहाँ त्यो अप्ठ्यारो काम हो त ? सबैभन्दा अप्ठ्यारो काम त बैठक बसाल्नु र निर्णय गर्नु हो । त्यो म गर्छु’ श्रीमान बाठो बने ।
‘हाहा चिटर बाबा....नेता नै पर्नुभयो नि...बाठो...’ छोराछोरीले एकै स्वरमा भने ।

‘ल ल खाना खाउँ, सबैलाई पस्क्यौ हैन ? ल एकैपटक सुरु गरौं त खान । एक, दुई, तीन.....’ श्रीमानले श्रीमती र छोराछोरीतिर हेर्दै गाँस हाले ।

खाना खाएपछि सधैंझैं श्रीमान थालमै चुठेर आगो ताप्न थाले । श्रीमतीले बल्लतल्ल भाँडा पखालपुखुल र पुछपाछको काम सिध्याइन् । 

‘अनि खर्च पनि कम गर्नु रे, महिना महिना दिनमा पिकनिक पनि जानू रे, तपाईंका पार्टीका कुरा त के के’ अँगेनोमा दाउरा घचेट्दै श्रीमतीले ओठ लेप्राइन् ।

‘ल काम सकियो हैन, बैठक बसौं त अब’ श्रीमानले भने ।
‘ल आज बैठक कस्तो हुन्छ भन्ने पनि थाहा हुने भयो’ छोराछोरी उत्साहित भए ।

‘आज धेरै कुरा नगर्ने । पार्टीको सर्कुलर मात्र पढ्ने, अनि सुत्ने’ धेरैजसो यस्तै झारा टराई बैठकमा बस्ने बानी भएका उनले सर्कुलर पढ्न थाले ।
‘....छोराछोरीको विवाहलाई सरल र मितव्ययी बनाउनू । जन्मदिन, ब्रतबन्ध, पास्नी जस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नू ।’

‘कहाँ त्यस्तो हुन्छ ? अस्ति भर्खर पल्लोघर सानो छोराको ब्रतबन्धमा गएको । अब हाम्रो छोराको ब्रतबन्धमा चाहिँ छिमेकीलाई बोलाएन भने के भन्लान्’ श्रीमती बोलिहालिन् ।

‘हो त नि...म पनि अस्ति साथीको बर्थडेमा गएर आएको, अब मेरो बर्थडे घरमै मात्र मनाएर कहाँ मिल्छ ? हुँदैन हुँदैन’ छोरीले सही थापी ।

‘पर्ख न पर्ख एकछिन पढेर सक्न देउ’ भन्दै घरमुली कार्यकर्ताले फेरि सर्कुलर पढे –‘महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनबीच वनभोज या सहभोज गर्नु....।’

सुन्नेबित्तिकै छोरो उफ्रियो, ‘हुर्रे त्यसो भए हरेक महिना पिकनिक जान पाइने भयो, कति रमाइलो ।’ ‘अनि खर्च पनि कम गर्नु रे, महिना महिना दिनमा पिकनिक पनि जानू रे, तपाईंका पार्टीका कुरा त के के’ अँगेनोमा दाउरा घचेट्दै श्रीमतीले ओठ लेप्राइन् ।

‘ल ल हिँड अब सुतौं, आजको बैठक यत्ति नै’ श्रीमानले सर्कुलरको पाना पोको पारेर अँगेनोमा फालिदिए ।

‘आफ्नो जीवनलाई नागरिकबीच खुल्ला किताबजस्तै राख्नू ।....भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितता जस्ता अपराध नगर्नू....’ यति पढेपछि श्रीमान पनि रोकिए ।

‘हैन के भयो बाबा, पढ्नुस् न अरु...’ सुनेर रमाइलो मानिरहेका छोराछोरीले भने । ‘ल यो पालना गर्न नसकिने सर्कुलर रैछ, कहाँ सकिन्छ भन्याजति सबै गर्न ?’ बाउ बल्ल लाइनमा आए ।

‘यस्ता नियम, कानुन, आचारसंहिता, प्रतिबद्धता, आश्वासन, चुनावी घोषणा यी सबै कुरा सुन्नलाई रमाइलो मात्र हो । व्यवहारमा देखाउनलाई हैन । बल्ल बुझ्नुभयो होला नि’ श्रीमतीले गाँठी कुरा खोलिन् ।

‘ल ल हिँड अब सुतौं, आजको बैठक यत्ति नै’ श्रीमानले सर्कुलरको पाना पोको पारेर अँगेनोमा फालिदिए ।

अन्तिम अपडेट: चैत १३, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया