एमसीसीविरुद्धकाे बहस 'चुइगम चपाएकाे' जस्तै हाे : परराष्ट्र मन्त्री ज्ञवाली

'एमसीसीको 'फूलफर्म' थाहा नभएकाहरुले यसको विरुद्धमा बजारमा बहस सुरु गरे'

 माघ २१, २०७६ मंगलबार १२:३२:५५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विरुद्धमा बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताउनु भएको छ ।

उहाँले सरकारले देश र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर यस विषयलाई उठान गरेकोे भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्रराष्ट्रहरुसँगकाे सम्बन्धलाई कसैले पनि तितो बनाउन नहुने धारणा व्यक्त गर्नु भएको छ । 

मङ्गलबारदेखि गुल्मीमा सुरु हुन लागेको स्वास्थ्य बीमा घोषणा कार्यक्रमको उद्घाटन गर्न गृह जिल्ला आइपुग्नु भएका मन्त्री ज्ञवालीले प्रेस सङ्गठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्ताे बताउनु भएकाे हाे । 

नेपालको राष्ट्रिय हित र जनताको लाभ र देशको विकास जे मा हुन्छ सरकार त्यसैमा अघि बढ्ने भन्दै एमसीसीको 'फूलफर्म' थाहा नभएकाहरुले यसको विरुद्धमा बजारमा बहस सुरु गरेको टिप्पणीसमेत गर्नुभयो । 

उहाँले जसरी चुइगम चपाउँदा चपाउँदा रस सकिएर दाँतमा टासिन्छ र त्यसपछि त्यसको कुनै स्वाद नहुने भन्दै अहिले बजारमा चलिरहेको एमसीसीको बजार बहस पनि त्यस्तै प्रकृतिको भएको तर्क गर्नुभयो ।

पार्टीहरु लोकतन्त्रका आधार स्तम्भ भएको भन्दै पार्टीहरु कमजोर हुँदा लोकतन्त्रसमेत कमजोर हुने उहाँले बताउनु भयो । दुई वर्षको कार्य सम्पादनबाट वर्तमान सरकारको आत्मविश्वास बढ्दै गएकाे भन्दै मन्त्री ज्ञवालीले नेकपा अहिलेको सर्वाधिक लोकप्रिय दलको रुपमा स्थापित भएको समेत दाबी गर्नुभयो ।  

जनताको वर्षौदेखिको समृद्धिकाे सपना वर्तमान  सरकाले पूरा गर्ने बताउँदै मन्त्री ज्ञवालीले त्यसमा कोही पनि द्विविधामा नपर्न आग्रह गर्नुभयो । नेपाली जनताले वर्तमान सरकार ठूलो जिम्मेवारी सुम्पिएको भन्दै उहाँले त्याे जिम्मेवारी इमान्दारितासँग पूरा गर्न सरकार लागिपरेको बताउनु भयाे ।

अन्तिम अपडेट: चैत १५, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया