सचिव पद त्यागेर विदेशी संस्थामा जागिरे हुन लागेका जिसीलाई प्रश्न : राजीनामा दिंदा मनमा चसक्क भएन ?

 माघ २४, २०७६ शुक्रबार १७:३४:४२ | अर्जुन पोख्रेल
unn.prixa.net

उच्च सरकारी पदबाट राजीनामा दिएर विदेशमा जागिर खान जाने चलन बढ्दै गएको छ । मुख्यसचिव सोमलाल सुवेदी र स्वास्थ्यसचिव पुष्पा चौधरीले राजीनामा दिएर विदेशी संस्थामा जागिर खान गएको एक वर्ष नबित्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले सचिव पदबाट राजीनामा दिएर संयुक्त राष्ट्रसंघको विश्व खाद्य संगठनमा जागिर खान जान लाग्नुभएको छ ।

जिसीको राजीनामा स्वीकृत भैसकेको छ, उहाँ फागुन १ गते थाइल्याण्ड पुगेर  विश्व खाद्य संगठन, दक्षिण एसिया तथा प्रशान्त क्षेत्रीय कृषि निर्देशनालयमा कृषि निर्देशकको रुपमा पद बहाली गर्दै हुनुहुन्छ ।

नेपाल सरकारले ठुलो लगानी गरेका उच्च पदस्थहरु धेरै तलवको लोभमा राजीनामा दिएर विदेश जाँदा देशप्रति बेइमानी भैरहेको आरोप पनि लाग्न थालेको छ । यिनै विषयमा राजीनामा दिएका कृषि सचिव युवकध्वज जिसीसँग अर्जुन पोख्रेलले गरेको कुराकानी :

सचिव जस्तो विशिष्ट पदबाट किन राजीनामा दिनुभयो ?

मैले नेपाल सरकारको सचिव पदबाट राजीनामा दिएर विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकको रुपमा काम गर्दैछु । मैले खासमा दुई वटा कुरा हेरेर राजीनामा दिएको हो । एउटा यो पदभन्दा अझै राम्रो व्यवसायिकता भएको पदको लागि र दोस्रो तलब लगायत सेवा सुविधाको कुरा पनि स्वभाविक रुपमा आइहाल्छ ।

व्यवसायिकतामा रहेर काम गर्ने मेरो सोच आएकाले अहिले मैले यो निर्णय गरेको हो । र विगतदेखि मैले पटक पटक अरु जागिर पनि छाड्दै आएको छु । मेरो जीवनमा सचिव पद आठौं जागिर हो र यसअघि  तीन पटक त मैले सरकारी जागिर नै त्याग गरेको थिएँ ।

प्राथमिक विद्यालयको शिक्षकदेखि विश्वविद्यालयको उपप्राध्यापकसम्म र नेपाल सरकारको वरिष्ठ वैज्ञानिक हुँदै सचिवसम्म जागिर गरेँ । म सधैँ अस्थिर भएकैले जागिर त्यागेँ या परिवर्तन गरेँ भन्ने होइन । मैले वर्तमानमा भन्दा राम्रो व्यवसायिकता निभाउने अवसर पाएपछि सधैँ जागिर छाड्दै आएको छु । यसपटक पनि त्यही भएको हो । र मेरो लागि पनि देशको लागि पनि फाइदाजनक हुनेछ । 

देशका लागि भन्दा पनि तपाइँका लागि धेरै फाइदा हुने होला, देशको लागि के फाइदा हुन्छ त ?

मैले सचिवको जागिर छाडे पनि देशको सेवा गर्न सक्छु । एउटा राम्रो पदमा पुगेको छु, क्षेत्रीय निर्देशक भएको नाताले नेपालको बारेमा पनि मैले हेर्नुपर्छ । मैले त्यहाँ निष्पक्ष भएरै काम गर्नुपर्छ, कसैप्रति आग्रह पूर्वाग्रह राख्न मिल्दैन । 

तर नेपाललाई अलि बढी फाइदा हुने खालका निर्णय गर्न सक्ने अवस्थामा मैले मेरो धर्म सम्झनेछु, नेपाललाई थप हित हुने काम गर्न सक्नेछु । निर्देशकको हिसाबले परियोजना छनौटमा पनि केही बढी अधिकार हुन्छ नै । त्योबेला देश सम्झेर सक्दो राम्रो गर्ने कुरा रहन्छ । आफ्नो सालनाल गाडेको ठाउँ, आफ्नो मातृभूमि यसलाई मैले नबिर्सेर सेवा गर्नेछु ।

सजिलै पाएको जागिर हो कि कसैमार्फत नियुक्त हुनुभएको हो ?

यो विश्वव्यापी प्रतिस्पर्धा थियो, यसमा संसारका धेरै व्यक्तिको आवेदन परेको थियो । यसमा धेरै मेहनत, अध्ययन र डकुमेन्टपछि मात्रै म छनोट भएको हो । मेरो पहिलेदेखिकै फिल्ड भएकाले पनि यो जागिरमा केही सहयोग पुग्यो होला ।

धेरैजसो निजामती कर्मचारीको सपना सरकारको सचिव पदसम्म पुग्ने हुन्छ । तर तपाईंले त सचिव पद पनि छाड्नुभयो, सजिलै चटक्कै छाड्न सकिने रहेछ यो पद ?

मैले सरकारी जागिर चटक्क छाडेको यो तेस्रोपटक हो । मैले यसलाई मेरो थप उन्नतिबाटो सुरु गरेको रुपमा लिएको छ । सचिव पद मैले सानो दुःख र संघर्षले पाएको होइन, यसमा मेरो र राज्यको ठूलो लगानी छ ।

तर यो भन्दा पनि माथि रहेर मैले विदेशबाट पनि देशको सेवा गर्न सक्छु भन्ने सोचेर राजीनामा दिएको हो । भौतिक रुपमा म नियमित मन्त्रालयमा आउन सक्ने छैन । तर मेरो मन, आत्मा नेपाल र नेपालको कृषि क्षेत्रमा नै हुनेछ । 

सरकारी जागिर खाएपछि तपाईंले पनि देशको लागि केही योगदान गर्नुभयो होला । तर राज्यले तपाइँलाई सचिव बनाउन ठूलो लगानी गरेको छ । अब ठूलो पदमा पुगेर देशलाई प्रतिफल दिने बेलामा राजीनामा दिएर विदेश जानु त देशप्रति बेइमानी भएन र ?

यसलाई देशघात भन्न मिल्दैन । हो, मलाई राज्यले लगानी गरेको छ । म राज्य र सरकारप्रति अत्यन्तै अनुग्रहित छु । मैले राजीनामा दिने कुरा प्रधानमन्त्रीलाई भनें । मन्त्रीहरु र माथिल्लो निकायका व्यक्तिहरुलाई सुनाउँदा उहाँहरु पनि भावुक हुनुभयो । 

मेरो डिग्री इंल्याण्डबाट भयो, पीएचडी स्वीजरल्याण्डको थियो । ४५ वर्षको उमेरमा म ४२ जनालाई पछि पार्दै छड्के सेवामार्फत सहसचिवमा छनोट भएको थिएँ । त्यसपछि सरकारले मलाई वातावरण र कृषि विभागको महानिर्देशक बनायो । त्यसपछि सचिवमा पदोन्नति गर्‍यो । म सचिव भएको ३ वर्ष भयो । 

यसलाई मैले सरकारको लगानीकै रुपमा बुझेको छु । डिग्री भनेको मेरो शरीर थियो,  सचिव पद मेरो गहना थियो । यही गहनाकै कारण नेपाल जस्तो पछि परेको देशबाट पनि ठूलो पदमा पुग्न पाएँ । यो देशको लागि पनि गौरवको कुरा हो, यसलाई मैले चटक्कै छाडेको, माया मारेको भन्न मिल्दैन । 

राजीनामा दिने बेलामा मनमा चसक्क भएन ?

त्यो त असाध्यै भयो । त्यो रातभरी म सुत्नै सकिन, पसिना आयो, मनमा अनेक तर्कना खेले । तर म नेपाल सरकारप्रति कति पनि असन्तुष्ट भएर राजीनामा दिएको पनि त होइन भन्ने निष्कर्षमा पुगें ।

अलि अलि हाम्रो निजामती ऐनमा भएका केही प्रावधानलाई पनि पुनरावलोकन गर्नुपर्ने हो कि भन्ने आभाष भयो । किनकी ७ वर्ष विश्वविद्यालयमा स्थायी सेवा गरेको थिए । त्यसपछि म नेपाल सरकारको जागिरेको रुपमा आएँ । त्यतिबेला मलाई लागेको थियो, उताको ७ वर्ष पनि यता 

जोडिन्छ होला, तर त्यसो रहेनछ ।

लोकसेवा आयोगले त्यो बेला ७ वर्षको अनुभव मागेको थियो । त्यो अनुभव आधार के थियो भने ४५ वर्षमा कुनै मान्छे निजामती सेवामा प्रवेश गर्छ ५८ वर्षमा रिटायर्ड हुँदा १३ र पहिलेको ७ वर्ष जोडेर २० वर्ष गणना हुन्छ भन्ने नै हो ।

तर निजामनी सेवा संशोधनको छैटौं संशोधनले मेरो पहिलेको ७ वर्षे सेवा नजोडिने र निवृत्तिभरण पाउन नसक्ने व्यहोरा रहेछ । यो कुरा सम्झिएँ र राजीनामा दिएकोप्रति चित्त बुझाएँ । 

सचिव पद भनेको र मयार्दाले पनि ठूलो र तलबले पनि राम्रो हो भनिन्छ । जागिरै छाड्नुपर्ने गरी त्यस्तो थोरै तलव छ ?

त्यसो होइन । नेपालमा अहिले काम र जिम्मेवारी अनुसारको तलव सुविधा राम्रो छ ।  तर आफूलाई दिएको जिम्मेवारीका आधारमा तलवको अपेक्षा गरिन्छ । 

मेरो कुरा गर्दा २५ वर्षअघि बेलायत सरकारको सहयोगमा सञ्चालिन लुम्ले कृषि विकास परियोजनामा तेस्रो श्रेणीको अधिकृतबाट सेवा प्रवेश गरेको थिएँ । त्यही पदमा नेपाल सरकारको तलब साढे ७ हजार रुपैयाँ थियो, मेरो २५ हजार रुपैयाँ थियो । तर पछि मैले त्यस्तो राम्रो तलब भएको जागिर छाडेर विश्वविद्यालयको प्राध्यापक हुँदै सचिवसम्म पुगें । 

हाम्रो सिधै आउने तलब केही कम होला । तर भत्ता, गाडी अनि चालक सुविधा, स्वास्थ्य उपचारको सुविधा लगायतका कुरा हिसाब गर्दा तलब राम्रो हो । अहिले मैले तलबको  लागि मात्रै राजीनामा दिएको होइन । अन्तर्राष्ट्रिय अवसरको सदुपयोग र ठूलो क्षेत्र समेटिने ठाउँमा रहेर काम गर्नको लागि हो ।

अलिअलि तलबको कुरा त आइहाल्छ । गाउँमा  जन्मिएको गरीब किसानको छोराले यत्रो ठूलो अवसर पायो भन्ने कुरा अरुले पनि गर्व गर्न सक्छन् भन्ने हिसावले पनि मैले यो जागिर छाडेको हो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

2 Comments

  • Padam Bhandari

    Feb. 9, 2020, 12:51 p.m.

    विश्व खाद्य संगठन, दक्षिण एसिया तथा प्रशान्त क्षेत्रीय कृषि निर्देशनालय, थाइल्याण्डमा कृषि निर्देशकको रुपमा पद बहाली गर्दै हुनुहुन्छ भन्ने कुरा सुन्दा खुसी लाग्यो । गाउँमा जन्मिएको गरीब किसानको छोराले यत्रो ठूलो अवसर पायो भन्ने कुरा सबैले गर्व गर्ने अवसर प्रदान गर्नुभयो । सफल कार्यकालको लागि शुभकामना ।

  •  0 Reply
  • हरी देवकाेटा

    Feb. 7, 2020, 7:24 p.m.

    He is good in his view.... Good bye sir..

  •  0 Reply

तपाईको प्रतिक्रिया