कोरोना भाइरसबाट जोगिन सप्तरीमा ‘हेल्थ डेस्क’ स्थापना

 माघ २५, २०७६ शनिबार १९:५२:१९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - कोरोना भाइरसबाट जोगिन सप्तरीमा हेल्थ डेस्क स्थापना गरिएको छ । 

भाइरसबाट जोगिन सप्तरीमा रहेकाे नेपाल–भारत सीमानाका तथा राजविराज विमानस्थलमा हेल्थ डेस्क स्थापना गरी शनिबारदेखि विदेशी तथा पर्यटकहरुको स्वास्थ्य जाँच गर्न थालिएको हो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले गरेको परिपत्रअनुसार स्थानीय सरकारले तिलाठी कोइलाडी गाउँपालिका–१, बेल्ही भन्सार तथा राजविराज विमानस्थलमा ‘हेल्थ डेस्क परामर्श स्वास्थ्य सेवा’ स्थापना गरिएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिनुभयो ।

अरु देशबाट आउनेलाई स्वास्थ्य परीक्षण गरेर नेपालतर्फ भित्र्याइने भएकाले यसले केही हदसम्म कोरोना भाइरस नियन्त्रण गर्नमा मद्दत पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

बाहिरबाट विमानस्थल भएर आउने पर्यटकहरुलाई समेत स्वास्थ्य परिक्षण गरेर प्रवेश गराउने कुरा रहेको उहाँले जानकारी दिनुभयो । बिहान १० बजेदेखि राति ६ बजेसम्म हेल्थ डेस्कमा शंका लागेका विदेशी तथा पर्यटकहरुको स्वास्थ्य परीक्षण कार्य भइरहेको छ ।

हेल्थ डेस्कमा परीक्षण गरिएका व्यक्तिहरुमा कोरोना भाइरसको लक्षण देखिनेबित्तिकै राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पताल पठाउने योजना रहेको तिलाठी कोइलाडी गाउँपालिकाका स्वास्थ्य संयोजक शैलेश साहले बताउनुभयो ।

‘बेल्हीमा रहेकाे हेल्थ डेस्कमा बिहीबार नेपालतर्फ आइरहेका २७ जना भारतीय नागरिकको स्वास्थ्य परीक्षण भयो’, उहाँले भन्नुभयाे, ‘तीमध्ये कोही पनि शंकास्पद बिरामी देखिएनन् ।

अन्तिम अपडेट: चैत २५, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया