भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
इलाम – आइतबारदेखि इलाममा ‘राष्ट्रिय नाटक महोत्सव’ सुरु भएको छ ।
सांस्कृतिक संस्थानको आयोजना तथा इलाम नगरपालिका साहित्यक कला सङ्गीत प्रतिष्ठान र चेतना नाट्य समूहको सहकार्यमा महोत्सव सुरु भएको हो । पाँच दिनसम्म हुने महोत्सवमा समाजका मौलिकपन जोगाउन सात प्रदेशलाई समेटेर लोक जनजीवनमा आधारित रहेका नाटक प्रस्तुत हुनेछन् ।
महोत्सवको समयवधिमा सात प्रदेशबाट छनोट भएका आठ वटा नाटक प्रदर्शन हुनेछन् । जसमा आइतबार चेतना नाट्य समूहले ‘थान’ शीर्षकको नाटक मञ्चन गरेको छ । सुरेश पोर्तेलको लेखन तथा निर्देशनमा मञ्चन भएको नाटकमा धामी झार्की लगाएत घरमा चिन्ता राख्ने चलनलाई मुख्य विषय बनाएको थियो । समाजका यस्ता चलनलाई दुरुस्तै उतारिएको नाटकले हेर्ने दर्शकको मन जितेको प्रष्ट देखिएको थियो ।
आइतबार मञ्चित नाटकको स्कृप्ट जस्तै गरी कलाकारहरुले खारिएको नाट्यकला प्रस्तुत गरेका थिए । नाटकमा भावना मगर, प्रकाश मगर, सुसान्त चापागाईं राम आचार्य, प्रतिमा रिजाल, प्रिजन दाहाल, दिक्षित घिमिरे लगायतका कलाकाहरुको अभिनय थियो ।
महोत्सवमा सोमबारदेखि दिनको दुई वटा नाटक प्रस्तुत हुनेछन् । सोमबार बिहान पहिलो चरणमा एक नम्बर प्रदेशको तर्फबाट प्रविण पुमाको लेखन र किशोर अनुरागको निर्देशनमा ‘सुम्निमा पारुहाङ’ शीर्षकको मञ्चन हुनेछ ।
यस्तै दोस्रो चरणमा दुई नम्बर प्रदेशका तर्फबाट कुन्दन थारुको लेखन र कुन्दन चौधरीको निर्देशनमा ‘करन हरलता’ मञ्चन गरिनेछ । मङ्गलबार वाग्मती प्रदेशबाट श्रीराम दाहालकाे लेखन र कृष्णभक्त महर्जनको निर्देशनमा ‘राजकुमारको मल्ल युद्ध’ र गण्डकी प्रदेशबाट फूलमान बलको लेखन र निशा पाख्रिनको निर्देशनमा ‘नम बुद्ध’ मञ्चन गर्ने कार्यतालिका छ ।
यस्तै बुधबार प्रदेश नम्बर ५ बाट कमली नाई ठाकुरको लेखन तथा सुदीप पटेलको निर्देशनमा ‘कजरी’ प्रस्तुत हुँनेछ । कर्णाली प्रदेशबाट गणेश उपाध्यायको लेखन तथा निर्देशनमा ‘मेरो छैठी’ नाटक प्रदर्शन हुनेछ । बिहीबार सुदूरपश्चिमबाट पुष्पा अवस्थीको लेखन तथा झकेन्द्र बिसीको निर्देशनमा ‘लेली सज्जा’ प्रदर्शन हुने आयोजकले जानकारी दिएको छ ।
महोत्सवको अवसरमा साहित्यकार गणेश रसिक राईलाई सम्मान गरिएको छ । संस्थानले ५० हजार रुपैयाँ नगदसहित रसिकलाई सम्मान गरेको हो । महोत्सवको उद्घाटनअघि ठूलो टुँडिखेलबाट झाँकीसहितको र्यालीले बजार परिक्रमा गर्दै कार्यक्रम स्थल सिटी हल पुगेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।