अन्तर्राष्ट्रिय विमानस्थलको काममा कोरोनाको असर : कामदार र उपकरण चीनमै रोकिए

 माघ २७, २०७६ सोमबार १४:४:३३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसले अहिले चीन मात्रै नभइ विश्वका धेरै देश प्रभावित भइरहेका छन् । नेपालमा कोराना भाइरसको महामारी नफैलिए पनि यहाँका धेरै विकास निर्माणका आयोजनाको काम अस्तव्यस्त बन्न थालेको छ । चिनियाँ कम्पनीले ठेक्का पाएका र चिनियाँ कामदारले काम गरिरहेका नेपालका अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र विस्तार आयोजना कोरोनाकै कारण प्रभावित भएका छन् । 

पोखरा विमानस्थलमा ८५ जना कामदार आएनन्, फर्किएकालाई अलग्गै ठाउँमा राखियो

सन् २०२१ को जुलाइमा निर्माण सक्ने लक्ष्यका साथ धमाधम काम भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम कोरोना भाइरसका कारण प्रभावित भएको छ । तोकिएको समयभन्दा ६ महिनाअघि नै काम सक्ने लक्ष्यका साथ काम भइरहेको पोखरा विमानस्थलमा ठेकेदार कम्पनी चाइना इन्जिनियरिङ, सीएमसी कम्पनीका एक सय ८० जना चिनियाँ कामदार थिए । नयाँ वर्ष मनाउन ४० जना कामदार चीन गएका थिए । त्यसमध्ये १३ जना मात्रै आएका छन् ।

चीनबाट फर्किएका कामदारलाई विमानस्थलले ५ वटा 'आइसोलेशन' कक्षको व्यवस्था गरेको छ । 

फर्किएका १३ जनामध्ये ३ जनालाई विमानस्थलले १४ दिनसम्म छुट्टै ठाउँमा राखेर अरुको सम्पर्कमा राख्न दिएन । उनीहरुलाई विमानस्थल आयोजनाकै एउटा कुनामा छुट्टै बस्ने व्यवस्था मिलाइएको थियो । डाक्टरको निगरानीमा राखेर १४ दिनपछि बल्ल अरुको सम्पर्कमा रहेर काम गर्न दिइएको छ । 

यस्तै १० जना कामदारलाई अहिले पनि अरु कामदारभन्दा अलग्गै राखिएको आयोजना प्रमुख विनेश मुनकर्मीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । उनीहरुलाई पनि डाक्टरको निगरानीमा १४ दिन छुट्टै राख्ने र कुनै लक्षण नदेखिएमा काममा लगाउने उहाँले बताउनुभयो । 

अहिले काम गरिरहेका र थप गरी ८५ जना कामदार चीनबाट आउनुपर्नेमा उनीहरु उतै रोकिएका आयोजना प्रमुख मुनकर्मीले जानकारी दिनुभयो । 

‘फेब्रुअरी २ तारिखदेखि विमानस्थलसम्म पुग्ने पहुँच मार्ग ढलानको काम सुरु हुनुपर्ने थियो, अरु फिनिसिङका काम पनि सुरु हुनुपर्ने थियो र भुक्तानीको काम पनि हुनुपर्नेमा कोरोनाको कारण रोकिएको छ’ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले उज्यालो अनलाइनसँग भन्नुभयो । 

कोरोनाको कारण ढिलाइ भएको काम चिनियाँ कामदार आएपछि राति काम गरेर भए पनि पूरा गरिने आयोजनाले जनाएको छ । 

‘अहिलेकै अवस्थामा हामीले राति काम गरेर भए पनि तालिका परिवर्तन नगर्ने पक्षमा छौँ, कोरोना नियन्त्रणमा आउन समय लागेमा भने तालिका पक्कै प्रभावित हुनेछ’, मुनकर्मीले भन्नुभयो । 

आयोजनाको काम अहिले ५५ प्रतिशत सकिएको छ । आउँदो डिसेम्बरसम्म आयोजनाको सिभिलतर्फ रन वे, ट्याक्सी वे, पार्किङ वे, कन्ट्रोल टावर, टर्मिनल भवन लगायतका संरचनाको काम सक्ने र उपकरणको काम पनि सक्ने आयोजनाको तयारी छ ।  त्यसपछि उपकरण परीक्षणको काम गर्ने र सरकारलाई तोकिएको भन्दा छिटो विमानस्थल हस्तान्तरण गर्ने आयोजनाको तालिका रहेको छ । 

गौतमबुद्ध विमानस्थलको रन वे मा लाइट जडानको काम ठप्प, तालिका फेरि सर्न सक्ने

२०७२ सालयता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकिने म्याद अहिलेसम्म चार पटक सरिरहेको छ । अहिले चौथोपटक थपिएको म्यादअनुसार आउने मार्चको अन्तिमसम्म विमानस्थलको काम सक्नुपर्नेछ । यसै पनि मार्चमा काम सक्न सकस भइरहेको अवस्थामा कोरोना भाइरसको कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा काम झनै प्रभावित भएको छ ।  

भैरहवामा ४० जना चिनियाँ कामदारले काम गरिरहेकोमा १५ जना नयाँ वर्ष मनाउन चीन गएका थिए । कोरोनाका कारण यहाँबाट गएका र थप कामदार आउन सकेका छैनन् । जसका कारण अहिले द्रूतरुपमा काम हुनुपर्ने रन वे मा लाइट जडानको काम, एसीको काम र ब्यागेज ह्याण्ड्लिङ्गकाे काम हुन सकेको छैन । उपकरण पनि आएका छैनन् । 

‘कामदार नआउँदा एसी, ब्यागेज ह्याण्डलिङ्ग सिस्टम र लाइटिङको काम प्रभावित भएको छ, मैले सुनेअनुसार त्यहाँका कारखाना, ट्रान्सपोर्टमा काम रोकिएको छ, नाका बन्द जस्तै छन्, फ्लाइट रोकिएका छन्, मान्छे मात्रै होइन उपकरण पनि आएका छैनन्’, आयोजना प्रमुख प्रवेश अधिकारीले उज्यालो अनलाइनसँग भन्नुभयो ।

अझै केही दिन चीनबाट कामदार नआएमा र उपकरण नआएमा तालिका प्रभावित हुने अधिकारीको भनाइ छ । 

त्रिभुवन विमानस्थल विस्तारको काम सुरु हुन सकेन 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे को उत्तरतर्फ पाकिङ क्षेत्र विस्तार गर्ने र ट्याक्सी वे लाई सार्ने काम गर्नको लागि पनि कोरोना भाइरसको प्रभाव देखिएको छ । कामको लागि ठेक्का पाएको चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पाेरेशनले अहिले मोबिलाइजेसनको काम गर्नुपर्ने भए पनि त्यो गर्न सकेको छैन । 

‘कोरोना भाइरसको कारण चीनबाट आउनुपर्ने मान्छे आएका छैनन्, त्यसले गर्दा काम नै सुरु हुन पाएको छैन, भाइरसको सङ्क्रमण लम्बियो भने यो काममा पनि धेरै असर पर्नेछ’, त्रिभुवन विमानस्थल क्षमता विस्तार आयोजनाका निर्देशक मुरारी भण्डारीले उज्यालो अनलाइनसँग भन्नुभयो । 

कोरोनाका कारण प्रभावित तालिकाको पूर्ति हुन्छ : अधिकारी

नेपाल नागरिक उड्डयन प्राधिकरणको राष्ट्रिय गौरवका आयोजना हेर्ने निर्देशक प्रदीप अधिकारीले कोरोनाका कारण विमानस्थल निर्माण र विस्तारमा प्रभाव परेको र यसको पूर्ति हुने बताउनुभएको छ ।

‘पोखरामा काम गरिरहेको कम्पनीले कोरोनाको कारण मेरा मान्छे नेपाल आउन नपाउँदा तालिका प्रभावित हुन सक्छ कि भनेर इमेल पठाएको छ तर कोरोना नियन्त्रण भएपछि या कामदार नेपाल आएपछि अहिले प्रभावित भएको कामको तालिका मिल्ने गरी कामको गति बढाउने आश्वासन दिएको छ’ अधिकारीले उज्यालो अनलाइनसँग भन्नुभयो । 

यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनामा कोरोनाले पारेको प्रभावको पनि पूर्ति हुने गरी काम हुने उहाँको दाबी छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया