सिन्धुपाल्चोकका सय जनाभन्दा बढीमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखियो

 माघ २९, २०७६ बुधबार ८:१२:३ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – जुगल गाउँपालिका ३ मा एक सय जनाभन्दा धेरैमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ ।

गएको बिहीबारदेखि गाउँपालिकाका एक सय जनाभन्दा धेरै व्यक्ति कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोका कारण थलिएका गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीसहित औषधि र माक्स पठाइसकेको छ । गाउँपालिकामा डाक्टर नभएकाले बिरामीको स्वास्थ्य परीक्षण गर्न छिमेकी गाउँपालिका जलबिरे स्वास्थ्य इकाइका डाक्टर पिताम्बर खनाललाई लैजान लागिएको पनि उहाँले बताउनुभयो ।

यस्तै गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई स्वास्थ्य परीक्षणको लागि विशेषज्ञसहितको टोली पठाउन अनुरोध पनि गरिसकेको छ । मन्त्रालयले बुधबार यसबारेमा थप छलफल गर्ने भएको छ ।

बिरामी भएका व्यक्तिलाई अरुसँग सम्पर्कमा नआउन र छुट्टै बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठले विषय विज्ञसँग नियमित संवादमा रहेकाले नआत्तिन पनि सबैसँग अनुरोध गर्नुभएको छ । 

यसैबीच सरकारले बुधबार चीनमा रहेका नेपाली लिन जाने जहाजको चालक दलका सदस्यलाई तालिम दिने तयारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन तथा जहाजमा अपनाउनुपर्ने सुरक्षाका विषयमा तालिम दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो  ।

त्यस्तै बिहीबार विमानस्थलमा जहाजको बाहिरी काममा खटिने कर्मचारीलाई तालिम दिने मन्त्रालयको तयारी छ । चीनबाट नेपाल फर्कन आवेदन दिएका एक सय ८० जनालाई आउँदो शनिबार नेपाल ल्याउने सरकारकाे योजना छ ।

चीनबाट ल्याउनुअघि त्यहाँको विमानस्थलमा पनि जाँचिने र नेपालमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पनि उनीहरुको स्वास्थ्य परीक्षण हुने भएकाले सङ्क्रमित ल्याउन लागेको भन्ने हल्लाको पछि नलाग्न पनि सरकारले आग्रह गरेको छ ।

उनीहरुलाई नेपाल ल्याइसकेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को बाध्यकारी नियमअनुसार १४ दिन क्वारेन्टाइनमा राख्न लागिएको हो । १४ दिन क्वारेन्टाइनमा राखेपछि उनीहरुलाई परिवारको जिम्मा लगाइनेछ । 

अन्तिम अपडेट: चैत १६, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Chandra Budhathoki

    Feb. 12, 2020, 12:33 p.m.

    सतर्क हुनु पर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया