दिलीप महतोको हत्यामा संलग्न तीन जना आरोपित जेल चलान

 फागुन २, २०७६ शुक्रबार १५:२८:२२ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - मिथिला नगरपालिकाका दिलीप महतोको हत्यामा संलग्न तीन जना आराेपिलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । घटनामा संलग्न रहेका अन्य तीन जना आरोपितलाई भने धरौटीमा रिहा गरिएको छ । 

जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासबाट क्रसर सञ्चालक विपिन महतो, टिप्पर चालक मुनिन्द्र महतो, लोडर चालक 'रञ्जित' भनिने जितेन्द्र महतोलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

आरोपितमध्ये दिलीपसँगै खोलामा गएका रोशनकुमार यादव, घटनामा संलग्नता देखिएका सत्यनारायण महतो र शत्रुधन महतोलाई जनही २५ हजार रुपैयाँ धरौटी लिइ साधारण तारेखमा रिहा गरिएकाे जिल्ला अदालत धनुषाले जनाएको छ ।

अदालतले क्रसर सञ्चालक विपीन महतो, टिप्पर चालक मुनिन्द्र महतो र सह–चालक जितेन्द्र महतोको संलग्नताको आधार र प्रमाण देखिएकाले थुनछेक बहसका लागि थुनामा राख्न आदेश दिएको छ । 

रोशनकुमार यादवलाई घटनालगत्तै खबर गरेको र रोशन–दिलीपबीच कुनै किसिमको वैमनश्यता नरहेको देखिएको कारण तारेखमा छाडिएको हो । यस्तै सत्यनारायण र शत्रुधनलाई घटनामा प्रत्यक्ष संलग्नता नदेखिएकाले तारेखमा रिहा गरिएको हो  ।

गएको पुस २५ गते बिहान घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न गएको बेला टिप्परले किचेर धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय युवक दिलीप महतोको हत्या भएको थियो । 

जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुलाई गएकाे पुस २७ गते राति पत्रकार सम्मेलन गरी दिलीपलाई फलामको लिभरले कोखामा घोची हत्या गरी घटनालाई दुर्घटनामा परिणत गर्न टिप्परले किचिएको जनाएको थियो ।

हत्याको दुई दिन नबित्दै प्रहरीले चुरियामाई प्रशाेधन उद्योगका सञ्चालक विपीन महतो, टिप्पर चालक मुनिन्द महतो, साथी रोशन महतो लगायत चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । 

त्यसको केही दिनपछि फेरि दुई जनालाई पक्राउ गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया