माैसम : देशभर नै चिसाे घट्दै, एकै दिनमा ५ डिग्री सेल्सियससम्म तापक्रम बढ्याे

 फागुन ३, २०७६ शनिबार ११:४५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभरकै न्यूनतम तापक्रम बढेसँगै चिसो कम हुँदै गएको छ ।

देशका विभिन्न ठाउँको न्यूनतम तापक्रम हिजो शुक्रबारको तुलनामा आज बिहान साढे ५ डिग्री सेल्सियससम्म बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भैरहवाको तापक्रम सबैभन्दा धेरै बढेको छ ।

हिजो शुक्रबार न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको भैरहवाको आज बिहानको तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । यस्तै काठमाण्डौ र विराटनगरको तापक्रम ४-४ डिग्री सेल्सियसले बढेको छ ।

हिजो शुक्रबार न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको विराटनगरको आज बिहानको तापक्रम १२ डिग्री सेल्सियस तथा काठमाण्डाैको तापक्रम १० डिग्री सेल्सियस पुगेको छ ।

राति बादल लागेकाले बिहानको तापक्रम बढेको मौसमविद्ले बताएका छन् । सामान्यतया राति बादल लाग्दा बिहानको तापक्रम बढ्ने र राति आकाश खुल्ला भए बिहानको तापक्रम घट्ने गर्छ ।

अहिले काठमाण्डाैसहित पहाडी क्षेत्रको मौसम बदली भएको छ । तर पानी पर्ने संभावना भने नरहेको मौसमविद् विभूति पोख्रेलले बताउनुभयो । पहाडी क्षेत्रको मौसम एकैछिन खुलेपनि फेरि बादल लाग्ने तर अरु ठाउँको मौसम भने सफा नै हुने उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया