महरालाई अदालतको सफाइसँगै उब्जिएका प्रश्न

 फागुन ५, २०७६ सोमबार २०:३१:५ | अमरेन्द्र यादव
unn.prixa.net

फाइल फाेटाे

गएको दशैँमा घटस्थापनाको राति तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार गरेको भन्ने समाचार वनको डढेलोझैँ जब फैलियो, त्यसले सबैलाई स्तब्ध बनायो । यति ठूलो सार्वजनिक पदमा बसेको व्यक्तिमाथि बलात्कारको आरोप लागेको यो घटना नेपालको इतिहासमै पहिलो थियो । 

सुरुमा महराले यस्तो कुकृत्य गरको हो भन्नेमा धेरैले विश्वास गर्न सकेनन् ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जब यो प्रसङ्ग छ्यापछ्याप्ती आयो अनि प्रहरीले तत्परता देखाएर महरालाई गिरफ्तार गर्‍यो र घटनास्थलबाट प्रमाणहरु सङ्कलन गरेर उहाँविरुद्ध मुद्दाको प्रक्रिया अगाडि बढायो । केही घण्टापछि पीडित महिलाले महरा आफ्नो पिता सामान भएको भन्दै बलात्कारसम्बन्धी आरोपबाट पछि हट्नुभयो । त्यसको केही घण्टापछि फेरि उहाँले मिडियासमक्ष बलात्कार प्रयास भएकै हो भन्दै केही कदम अगाडि बढ्नुभयो । साथै आफूमाथि कुटपिट समेत भएको भन्दै महराविरुद्ध किटानी जाहेरी दिनुभयो ।

त्यसपछि महराले सभामुख पदबाट राजीनामा दिनुपर्‍यो । उहाँले पद मात्र गुमाउनु परेन । इज्जत, प्रतिष्ठा र चरित्र रातारात खरानी भयो । उहाँ शून्यमा झर्नुभयो ।
बलात्कारको आरोप लागेको झण्डै चार महिनापछि काठमाण्डौ जिल्ला अदालतले उहाँलाई सफाइ दिएको छ । यसबीचमा महराले सभामुख पद मात्र गुमाउनुभएन । उहाँकै पार्टीका नेता अग्निप्रसाद सापकाेटा नयाँ सभामुखमा चुनिएर आएपछि उहाँको सभामुख पदमा फर्किने सम्भावना सकिएको छ । सभामुखको निर्वाचन अगाडि अदालतले सफाइ दिएको भए सभामुख पदका लागि उहाँ योग्य ठहरिन सक्नुहुन्थ्यो । उम्मेदवार भएर फेरि सभामुखमा चुनिनसक्नु हुन्थ्यो ।   

बलात्कार भएको भनिएको राति आफू रोशनी शाहीको घर नगएको बयान बारम्बार अभियुक्त महराले दोहोर्‍याउनुभयो । महराविरुद्ध प्रहरीसमक्ष किटानी जाहेरी दिनुभएकी शाहीले अदालतमा न्यायाधीशसमक्ष महराबाट बलात्कार त टाढाको कुरा, त्यो राति महरा आफ्नो घरमै नआउनुभएको बयान दिनुभएको थियो । यही बयानको आधारमा महराले सफाइ पाउनुभयो । 

अदालतको फैसलालगत्तै शाहीले फैसलाको स्वागत मात्रै गर्नुभएन, महरा राजनीतिक षड्यन्त्रको शिकार भएको बताउनुभयो । यसरी पीडित भनिएको महिलाले आफूविरुद्ध आएको फैसलाको स्वागत गर्नु आफैमा अनौठो हो । यस्तै अनौठो सबैलाई त्यति बेला लागेको थियो जब महरामाथि बलात्कारको आरोप लगाएको केही घण्टापछि शाहीले आफूले मानसिक असन्तुलनको अवस्थामा मिडियामार्फत् बलात्कारको आरोप लगाएको बयान दिनुभएको थियो । 

बलात्कारको आरोप लगाउने शाही पनि महराकै माओवादी पार्टीको पृष्ठभूमिकी हुनुहुन्छ । माओवादीको भूमिगत राजनीतिदेखि नै महरा र शाहीबीच चिनजान र नजिकको सम्बन्ध थियो भन्ने कुरा स्पष्ट भइसकेको छ । उहाँहरुको सम्बन्धमा ठाकठुक परेर वा केही तलमाथि भएर शाहीले भनेजस्तै मानसिक असन्तुलनको अवस्थामा महरामाथि मिथ्या आरोप लगाउनुभयो कि शाहीले भनेजस्तै महरा राजनीतिक षड्यन्त्रको शिकार हुनुभयो । यो पक्ष ज्यादै विचारणीय छँदैछ ।

तर सबभन्दा विचारणीय पक्ष के हो भने गम्भीर प्रकृतिको आरोपमा अदालतबाट सफाइ पाएपछि महराले गुमाउनुभएको पद र प्रतिष्ठाको भरपाई कसले गर्ने ? त्यो भरपाई सम्भव छ कि छैन ? यदि सम्भव छ भने त्यसको भरपाई कसरी हुन्छ र कहिलेसम्म हुन्छ ? र अर्को सबभन्दा महत्वपूर्ण प्रश्न–अदालतबाट सफाइ पाएपछि महराले साँच्चिकै शाहीलाई बलात्कार प्रयास गर्नुभएको थिएन भन्ने नयाँ तथ्य समाज र देश, दुनियाँले पत्याउँछन् त ?     

अन्तिम अपडेट: फागुन ३०, २०८०

अमरेन्द्र यादव

करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय यादव राजनीति र समसामयिक विषयमा लेख्न रुचाउनुहुन्छ ।  

1 Comments

  • Suman Bhattarai

    Feb. 17, 2020, 9:20 p.m.

    झुटो बयान दिएर कसैको अपमान गर्ने लाई मुद्दा चल्छ कि चल्दैन?

  •  0 Reply

तपाईको प्रतिक्रिया