मङ्गलबार दिनभर नै तुवाँलाे लाग्ने, बुधबार र बिहीबार पानी पर्ने सम्भावना

 फागुन ६, २०७६ मंगलबार ७:२३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मङ्गलबार पूर्वी पहाडको केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भेगमा न्यून चापीय प्रणालीकाे असर देखिएको छ । यही असरका कारण पहाडी भेगमा दिनभर बदली भइ पूर्वी पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो । 

यस्तै बुधबार देशभरि नै बादल लागेर पहाडका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने मौसमविद् पोखरेलले बताउनुभयो । आउँदो बिहीबार देशभर सामान्यदेखि मध्यमस्तरको पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशााखाले अनुमान गरेको छ । 

मङ्गलबार काठमाण्डौ उपत्यकाका धेरैजसो ठाउँमा दिनभर नै तुवाँलो लाग्ने मौसमविद्ले बताएका छन् । सामान्यतया तल्लो तहमा तातो हावा र माथितिर हावामा चिसोको मात्रा बढ्दै जानुपर्नेमा त्यसको उल्टो सतहमा चिसो र माथितिर तातो हावा रहेको कारण तुवाँलो रहेको मौसमविद् पोखरेलले बताउनुभयो ।

तुवाँलो हट्न पानी पर्नुपर्ने वा हावा तात्ने गरी घाम लाग्नुपर्नेमा त्यो दुवै नभएकोले मङ्गलबार पनि तुवाँलो लागिरहने उहाँले बताउनुभयो । 

तुवाँलोसँगै हावामा धुलो, धुवाँ र बालुवाको मसिनो कण धेरै रहेकोले घरबाहिर निस्कँदा मास्क (मुखावरण) लगाउन डाक्टरहरुले आग्रह गरेका छन् । बुधबार सामान्य पानी परेर तुवाँलो हट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया