चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
गोरखा - गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकका बासिन्दाले धुमधामका साथ मकैकाे बिहे गरेका छन् ।
एकसाता अघि नै जैसीलाई साइत हेराएर लाप्राकवासीले आज मकैको बिहे गरेका हुन् । धान नफल्ने र मकै नै मुख्य अन्नबाली भएकाले उनीहरुले बिहे गरेर मात्र मकै रोप्ने गर्छन् । लाप्राकमा मात्र नभै धार्चे गाउँपालिकामा पनि लगन पारेर मकैको बिहे हुने गरेको छ ।
बिहे गरेर मकै छरेमात्रै उब्जनी हुने परम्पराअनुसार धुमधामसँग मकैकाे बिहे गरेको स्थानीयले बताएका छन् । धार्चे ५ लप्सीबोट र गुम्दा तथा धार्चे ७ लापु गाउँमा एक साता अघिनै मकै बिहे भैसकेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो ।
सिङ्ला, उहिया, खोर्ला, लापुमा पनि धुमधामले मकै बिहे भइसकेको उहाँले जानकारी दिनुभयो । मकैको बिहे गरेपछि मात्रै पाखोबारीमा मकै छर्ने क्रम सुरु हुने गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।
‘मकैको बिहे नगरी बारीमा छर्न हुँदैन भन्ने मान्यता रहेको लाप्राकका मारसिं गुरुङले बताउनुभयो । मकैबिहे नगरी मकै छर्दा घोगामा दाना नलाग्ने र लागेपनि मकै पुड्को हुने उहाँको भनाइ छ ।
परापूर्वकालदेखि चलेको चलनलाई नयाँ पुस्ताले पनि निरन्तरता दिएको गुरुङले बताउनुभयो । वि.सं. १८१५ सालदेखि गाउँलेलाई अनिकालबाट जोगाउन देवी देउतालाई पुकार्दै मकै बिहे गर्ने चलन शुरु भएको उहाँको भनाइ छ ।
यसरी भयाे मकैको बिहे
गाउँका जैसी अर्थात पुरोहितले बिहेको साइत निकालेर परम्परागत प्रक्रिया अनुसार मकै बिहे गर्ने चलन छ । परम्परा अनुसार केही दिन अघि मकैको घोगा जमिनमा गाडिएको थियो । त्यो मकै फेरि जमिनबाट निकालेर बाजागाजा सहित गाउँले जम्मा भएर गाउँ परिक्रमा गरेका थिए ।
‘एउटा सानो केटालाई दुलाहा पनि बनाएर लैजान्छाैँ’, स्थानीय मारसिं गुरुङले भन्नुभयो ‘छुलेकङ्बाट दुलाहालाई डोलीमा बोकेर गाउँका सबै घरको जन्ती गयौँ । गाउँको पुछार हुँदै मनिडाँडा मुनिबाट फिसीकङमा पुग्यौँ । त्यहाँ एउटी केटीलाई दुलही बनाएर राखेको थियो । अनि दुलही लिएर आयौँ ।’
जन्तीको क्रममा गाउँलेले मादल, ढ्यांग्रो, झ्याली लगायतका बाजा बजाएर नाचगान गरेका थिए । छुलेकङ्बाट निस्केको जन्ती फिसीकङबाट दुलही लिएर घट्टेखोलाबाट पुरानो स्कुल हुँदै लाप्राकगाउँ घुमेर ठूलो आँगनमा पुगेपछि बिहे सकिएको स्थानीयले बताएका छन् ।
बिहे सकिएपछि साँझमा मकैको बिभिन्न परिकार बनाएर भोज खाने चलन रहेको गुरुङले बताउनुभयो । ‘बिहान नै सबैको घरबाट एक÷एक घोगा मकै र पैसा उठाएका थियौं’, उहाँले भन्नुभयो, ‘गाउँलेले मिलेर त्यो मकै भुट्छन् । दुलही लिएर ठूलो आँगनमा आएपछि सबैलाई त्यो मकै खुवाउनुपर्छ ।’
मकैको बिहेमा जन्ती जानेको मुखमा धेरथोर त्यो मकै पर्नुपर्छ भन्ने मान्यता रहेको उहाँले बताउनुभयो । भोजपछि घाटु नाच देखाउने चलन छ । उनीहरुले सामुहिक रुपमा असिना, पानी, खडेरीबाट अन्न जोगाइदिन भगवानसँग प्रार्थना गर्ने चलन छ ।
मकैबिहेका लागि जमिनमा मकै गाडेपछि नझिकेसम्म गाउँलेले जमिन नखोस्रने गुरुङले बताउनुभयो । मकै बिहेको दिनमा गाउँमा कसैले पनि ढिकी, जाँतो, मेलापातको काम नगर्नेचलन रहेको उहाँको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।