नक्कली लाइसेन्स बनाइदिएकाे आरोपमा एक महिला पक्राउ

 फागुन १५, २०७६ बिहिबार १६:५१:२७ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - नक्कली सवारीचालक लाइसेन्स बनाइदिने काममा संलग्न भएकाे आरोपमा जनकपुरबाट एक महिला पक्राउ परेकी छिन् ।

सर्वसाधारणसँग पैसा लिएर नक्कली मोटरसाइकल चालक अनुमति पत्र बनाउने गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-९ की रुवी मिश्रलाई पक्राउ गरिएाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेकी मिश्रलाई जिल्ला अदालत धनुषामा पेश गरी ४ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी पवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयाे ।

प्रहरीले सवारी जाँचका क्रममा महोत्तरीको गौशाला नगरपालिका-१२ बस्ने हरि नारायण भन्ने कृष्णदेव कुशवाहाको लाइसेन्स नक्कली फेला परेको थियो । त्यस सम्बन्धमा अनुसन्धान गर्दै जाँदा कृष्णदेवले आफूलाई रुवी मिश्रको छोरा चन्दन सिंहले ५ हजार रुपैयाँ लिएर लाइसेन्स बनाइदिएको बयान दिएका थिए ।

अनुसन्धानका क्रममा रुवी मिश्रले लाइसेन्स बनाइदिने नाममा चारवटा गाउँका सर्वसाधाराणका ६० हजार रुपैयाँ भन्दा बढी उठाएको तथ्य विभिन्न ठाउँबाट आएकाले उहाँलाई पक्राउ गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

मिश्रविरुद्ध ठगी आरोपमा पहिलेदेखि नै केही उजुरी रहेकाे र पक्राउपछि अझै उजुरी थपिन थालेको प्रवक्ता कार्कीको भनाइ छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया