बीमा समिति र अस्पतालबीच विवाद : सेवाग्राही उपचारबाट बञ्चित

 फागुन १५, २०७६ बिहिबार १८:३४:१० | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश २ को स्वास्थ्य बीमा बोर्ड र प्रादेशिक अस्पतालबीचको विवादका कारण सेवाग्राहीहरु स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । अस्पताल र बीमा समितिबीचकाे आपसी विवादका कारण स्वास्थ्य बीमा गराएका बिमितहरु मर्कामा परेका हुन् ।

अस्पतालले करीब २ महीनाभन्दा बढी समयदेखि स्वास्थ्य बीमाकर्तालाई औषधि नदिइ फर्काएको सेवाग्राहीको गुनासो छ । बोर्डले समयमा बजेट उपलब्ध नगराएको र हकदाबी गरेअनुसारको रकम उपलब्ध नगराएको भन्दै अस्पतालले सेवाग्राहीको उपचार गर्न इन्कार गरेको हो ।

अस्पतालमा उपचार गराउन आउनु भएका महोत्तरी सोनमाका भुवनेश्वर रायले बीमा शर्तअनुसार अस्पतालले उपचार नगरेको भन्दै गुनासो गर्नुभयो । एक वर्षसम्म ५० हजार बराबरको उपचार पाउनेभन्दै २५ हजारको बीमा गराउनु भएका उहाँले उपचार र औषधी केही नपाएकाे बताउनु भयाे। 

धनुषा हंशपुर गाउँपालिका-७ का रजाबुल कवारीको पनि उस्तै पीडा छ । समितिबाट कार्ड बनाएको २ वर्षमा पनि सन्तोषजनक उपचार नपाएपछि उहाँ निजी अस्पतालमा उपचार गराइराख्नुभएको छ ।

प्रादेशिक अस्पताल खरीद एकाइ समितिका अध्यक्ष डा. जामुनप्रसाद सिंहले औषधी किन्दा लाग्नेभन्दा कम मूल्य बोर्डले दिने गरेको बताउनु भयो । ‘बोर्डले २७ प्रकारका औषधी सेवाग्राहीलाई दिन निर्देशन दिएको छ । तर ती सबै बजारमा पाउन मुस्किल छ’, उहाँले भन्नुभयो । अस्पतालले बोर्डबाट १० लाख रुपैयाँ लिन बाँकी रहेको उहाँको भनाइ छ ।

बीमा बोर्डका प्रदेश - २ संयोजक रवीन्द्रप्रसाद कुशवाहाले भने सेवा नदिने अस्पतालले सम्झौता रद्द गर्नुपर्ने जवाफ दिनुभयाे । अस्पतालले दिएको सेवा र औषधी बापतको पैसा लिन ढिलो हकदावी गर्दा समयमा पैसा नपाएको उहाँले बताउनुभयो । 

सरकारले सर्वसाधारणलाई सहज होस् भन्ने उदेश्यले ४८ जिल्लामा स्वास्थ्य बीमा सञ्चालन गरेको छ । कार्यक्रम अनुसार बोर्डले धनुषा, महोत्तरी, सिरहा, पर्सा र रौतहट गरी पाँच जिल्लाका विभिन्न सरकारी अस्पतालसँग सम्झौता गरेको छ ।

सरकारी स्तरबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम अनुसार स्वास्थ्य बीमा  गरिएको भए पनि समिति र प्रादेशीक अस्पतालबीच सरकारी बीमा व्यवस्थाबारे विवाद  उत्पन्न भएको हो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया