महभीर झरनाको आकर्षणमा रमाउँदै नेपाली पर्यटक(फोटो फिचर)

 फागुन १७, २०७६ शनिबार ११:२०:७ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – अग्लो पहाडको टुप्पोबाट तल जमिनतिर छङ्छङ आवाज निकाल्दै बग्ने गर्छ झरना । झरनादेखि केही मिटर टाढाबाट भिरालो पहाडमा लडिबडी खेल्दै बगेको झरनालाई एकोहोरो हेरिरहँदा शीरको टोपी र पछ्यौरी खसेको पत्तो हुँदैन । झरनासँगैकाे हरियाली रमणीय दृश्यमा आँखा घुमाउन पाउँदा निकै आनन्द आउँछ । अझै झरनाको पानीमा डुबुल्की मार्दा झन् कति आनन्द लाग्दाे हाे ! 

यस्तोखाले आकर्षण भएको झरना उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तानमा पर्दछ । यसलाई हिस्तानको महभीर झरना भनिन्छ । पर्यटकीय आकर्षण र सम्भावना बोकेको महभीर झरनाले हिजोआज पर्यटकहरुको ध्यान तानेको छ ।

हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक नजिकै रहेको यस झरनाले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याएको हो । निकै आकर्षक, सुन्दर र मनमोहक झरना पहाडको माथिबाट कलकल गर्दै बग्छ । 

महभीर झरना पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुको मुख्य रोजाइमा पर्न थालेको छ । म्याग्दी सदरमुकाम बेनीबजारदेखि २ घण्टाको यात्रामा महभीर झरनामा पुगिन्छ । बेनी–जोमसोम सडकको नजिकै पर्ने भएकाले झरनामा प्रायः पर्यटकहरु सवारीसाधन रोकेरै जाने गरेका छन् । पहिलेको समयदेखि नै प्राकृतिक रुपमा रहेको यस झरना कञ्चन र सफा छ ।

पछिल्लो समय झरनालाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्नकै लागि भए पनि पर्यटकहरु महभीर झरनामा जान्छन् । 

आफ्नो आँखै अगाडिबाट झरनालाई नियाल्न पाइने र मोबाइलमा सेल्फी फोटो तथा भिडियो खिच्न मिल्ने भएको हुँदा पर्यटकका साथै किशोरावस्थाका युवायुवतीहरु झरनामा पुगेर मज्जाले रमाउने गरेका छन् । अग्लो तथा भिरालो पहाडको टुप्पोबाट एकनासले तल जमिनतिर खसिरहने झरना हेर्दा आनन्द आउने पर्यटकहरुसँग अनुभव छ ।

महाभीर झरनाले हिस्तान गाउँमा थप रौनकथपेको हुँदा केही वर्षयता आन्तरिक पर्यटकहरुको आगमनमा पनि वृद्धि हुँदै जान थालेको छ । 


    
झरनामा पुगेर प्रकृतिसँगै रमाउन पाउँदा आफूलाई निकै आनन्दको अनुभूति भएको म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक कमला जिसीले सुनाउनुभयो ।

हिस्तानको प्रमुख पर्यटकीय गन्तव्य मानिने महाभीर झरनाको लम्बाइ मात्र झण्डै ३ सय मिटरभन्दा बढी रहेको अनुमान गरिएको छ । प्राकृतिक रुपमा उत्पत्ति भएकाे यस झरनाको मुख्य मुहान हिस्तान गाउँको गोरखर्क भन्ने ठाउँमा पर्दछ ।

पर्यटकीय सम्भावना बोकेको महाभीर झरनाको पर्यटन पवर्द्धनका लागि अन्नपूर्ण गाउँपालिकाले पहल गरिरहेको जनाएको छ । अघिल्लाे वर्ष शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङबाट तीनलाख रुपैयाँको बजेटमा झरनासम्म पुग्ने पदमार्ग निर्माण, घेरबार, बस्नका लागि बेन्च र फलफुलका विरुवाहरु रोपिएको हिस्तानका वडाध्यक्ष गमबहादुर फगामीले बताउनुभयो । 

वर्षातकाे समयमा ठूलो हुने झरना गर्मीयाममा भने केही सानो स्वरुपमा परिवर्तन हुन्छ । 

हिस्तानको महाभीर झरनासँगै अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा नारच्याङ झरना र दानामा रुप्से झरना प्रमुख पर्यटकीय गन्तव्यको आकर्षणका रुपमा रहेका छन् । हिमाली जिल्ला म्याग्दी आफैँमा पनि सुन्दर छ । यहाँ रहेका पर्यटकीय झरना, तालतलैया र धार्मिक स्थलहरुको विकास गर्न सकेमा धेरैभन्दा धेरै पर्यटकहरुलाई म्याग्दीमा भित्र्याउन सकिने प्रशस्तै सम्भावना देखिन्छ । 

अन्नपूर्ण गाउँपालिकाको भ्रमणमा निस्कनुभएकी आन्तरिक पर्यटक जमुना आचार्यले झरनामा जाँदा शारीरिक थकान मेटिनुका साथै रमाइलो र आनन्दको महसुस गर्न पाएको बताउनुभयो । झरनाको आसपास पर्याप्त पूर्वाधार निर्माणका साथै प्रचार-प्रसार गर्नसके आन्तरिक र बाह्य पर्यटकहरु बढ्ने उहाँले बताउनुभयो ।

यसैबीच नेपाल भ्रमण वर्ष–२०२० सुरु भएकाले स्थानीयले पर्यटकीय क्षेत्रको विकास गर्न माग गरेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया