फागुन २१ गते प्रधानमन्त्रीले अर्को खड्गाे पार गर्नुभयो

 फागुन २२, २०७६ बिहिबार १४:२४:१३ | अमरेन्द्र यादव
unn.prixa.net

आफ्नो जीउमा बुधबार दिउँसो प्रत्यारोपण गरिएको दोस्रो मिर्गौलाले काम गर्न थालेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा अर्को खड्को पार गर्नुभएको छ । त्यसो त ओलीको जीवन अभाव, राजनीतिक सङ्घर्ष र पटकपटकको अस्वस्थतामा बितेको छ । प्रधानमन्त्री ओलीको मिर्गौला १२ वर्षअघि पहिलो पटक खराब भएपछि उहाँले निरन्तर स्वास्थ्यसम्बन्धी झमेला बेर्होनु परेको छ ।

विसं २०६४ सालमा प्रत्यारोपण गरिएको मिर्गौलाले केही महिनाअघि काम गर्न छाडेपछि उहाँले डायलासिस गराइरहनु भएको थियो । पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्नुअघि पनि उहाँले विभिन्न स्वास्थ्य समस्या र अभाव झेल्नुपरेको थियो ।

बाल्यकालमै आमाको निधन

प्रधानमन्त्री ओलीको जन्मथलो तेह्रथुमको इवा गाउँ हो । उहाँ विसं २००८ साल फागुन ११ गते मोहनप्रसाद र स्वर्गीय मधुमायाको जेठो छोराको रुपमा जन्मिनुभयो । जन्मेको डेढ वर्षमै उहाँले आमा गुमाउनुभयो । गाउँकै तत्कालीन प्रणामी प्राथमिक विद्यालयमा उहाँले पढाइ सुरु गर्नुभयो ।

ओली २०२० सालमा परिवारसँगै बसाइ सरेर झापा झर्नुभयो । सुरुङ्गाको कन्काइ नदी किनारमा बसोबास गर्ने ओलीको परिवारको आर्थिक अवस्था राम्रो थिएन । सानै छँदा कन्काई नदीमा आएको बाढीले ओलीको घरजग्गा बगाएर उहाँको परिवार सुकुम्बासी भएको थियो । एक किसिमले ओली परिवारको उठिबास भएर उहाँको जीवन गरिबी र अभावतिर धकेलिएको थियो । आमाको मायाबाट बञ्चित हुनुभएका ओलीलाई हजुरआमा, हजुरबुवा र बुवाले हुर्काउनुभएको थियो । 

१४ वर्षे जेल जीवन

कम्युनिस्ट नेताको रुपमा पञ्चायत विरोधी आन्दोलनमा लाग्दा प्रधानमन्त्री ओलीले १४ वर्ष जेल जीवन बिताउनुपर्‍यो । पहिलो पटक उहाँ २०२७ सालमा गिरफ्तार हुनुभएको थियो । विसं २०३० सालसम्म उहाँ १० पटकसम्म गिरफ्तार हुनुभयो । विसं २०३० सालदेखि विसं २०४४ सालसम्म उहाँले १४ वर्ष जेल जीवन बिताउनुभयो ।

त्यस अवधिमा उहाँले रौतहटको गौर जेल, वीरगञ्ज थाना, भद्रगोल जेल र नख्खुको केन्द्रीय कारागारलगायतमा जेल जीवन बिताउनुपर्‍यो । कठोर काराबासका कारण उहाँको खानपान र स्वास्थ्यको राम्रो हेरचाह भएन । त्यही कारणले उहाँको मिर्गौलामा समस्यालगायत स्वास्थ्यमा विभिन्न समस्या देखिन थाल्यो । 

पहिलो प्रत्यारोपण २०६४ मा 

प्रधानमन्त्री ओलीले १२ वर्षअघि २०६४ सालमा दिल्लीको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराउनुभएको थियो । पहिलो मिर्गौला प्रत्यारोपणपछि उहाँले राजनीतिमा झन् बढी सक्रिय हुनुपर्‍यो । चिकित्सकहरुका अनुसार पहिलो मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्य सामान्य अवस्थामा रहेन । किनभने मिर्गौला प्रत्यारोपण गराएका बिरामीले जीवनभर औषधि सेवन गर्नुपर्छ । यसबीचमा उहाँलाई उच्च रक्तचाप र पायल्सजस्ता रोगले पनि दुःख दिए । पछिल्लो समय विभिन्न औषधि सेवन गरिरहेका कारण सुगरको मात्रा बढेर उहाँले थप दुःख पाउनुभयो ।  

मेनिन्जाइटिसको रोगी

प्रधानमन्त्री ओलीलाई झण्डै सात वर्षअघि मेनिन्जाइटिस रोगले समातेको थियो । पहिले त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभयो । त्यसपछि ग्राण्डी अस्पतालमा भर्ना हुनुभयो । ग्राण्डीमा पनि निको नभएपछि उहाँ उपचारको लागि बैङ्कक जानुभयो । कडा खालको मेनिन्जाइटिस भएकोले उहाँलाई निरन्तर लामो समयसम्म टाउको दुख्ने समस्या थियो । 

सिङ्गापुरमा उपचार

पछिल्लो पटक मिर्गौलामा समस्या देखिएपछि उहाँ गएको साउन १८ गते सिङ्गापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गर्न जानुभयो । महिना दिन नबित्दै ओली फेरि सिङ्गापुरको त्यही अस्पताल जानुभयो । मिर्गौलासम्बन्धी एण्टिबडीको मात्रा बढेका कारण त्यसलाई शरीरबाट निकाल्न र मिर्गौलाको क्षमता बढाउने उपचारका लागि उहाँ सिङ्गापुर जानुभएको थियो । भदौ ५ गते दोस्रो पटक सिङ्गापुर जानुभएको ओली १५ दिनपछि स्वदेश फर्किनुभयो ।

‘प्लाज्माफेरेसिस’ गरिए पनि उहाँको स्वास्थ्यमा सुधार भएन । त्यसैको परिणाम स्वरुप प्रधानमन्त्रीको मिर्गौला फेरि बिग्रिएको निष्कर्ष निकालियो र उहाँले हप्तामा दुई/तीन पटक डायलासिस गराउन सुरु गर्नुभयो ।  

एपेन्डिसाइटिसको शल्यक्रिया

प्रधानमन्त्री ओलीको नियमित डायलासिस चल्दै थियो । यसबीचमा मङ्सिर १३ गते अचानक उहाँलाई मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना गरियो । लगत्तै उहाँको एपेन्डिसाइटिसको शल्यक्रिया गरियो । त्यसबेला उहाँले १० दिन अस्पतालको बेडमा बस्नुपरेको थियो । चिकित्सकहरुका अनुसार त्यसबेला उहाँलाई जटिल अवस्थामा अस्पताल पुर्‍याइएको थियो । त्यहीबेला डाक्टरहरुले उहाँलाई दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न सल्लाह दिएका थिए ।

दोस्रो पटक प्रत्यारोपण

गएको कार्तिक १३ गतेदेखि प्रधानमन्त्री ओलीको डायलासिस चल्दै थियो । त्यही दिनदेखि डाक्टरहरुले नियमित डायलासिस वा अर्को प्रत्यारोपणमध्ये एउटा विकल्प रोज्न सुझाव दिएका थिए । प्रधानमन्त्रीले अर्को प्रत्यारोपण रोज्नुभयो । दोस्रो प्रत्यारोपण झनै जटिल हुने भएकोले प्रधानमन्त्रीले धेरैसँग सरसल्लाह र भेटघाट गर्नुभएको थियो । 

प्रधानमन्त्री ओली गएको सोमबार अस्पताल भर्ना हुनुभयो । भान्जी पर्ने समीक्षा सङ्ग्रौलाले आफ्नो दाहिने मिर्गौला दान गर्नुभयो । गएको बुधबार उहाँमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरियो । मिर्गौला प्रत्यारोपण गर्न डाक्टरहरुलाई पाँच घण्टा लाग्यो । लगत्तै डाक्टरहरुले प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको सुखद् जानकारी दिए ।

यसरी प्रधानमन्त्री ओलीले फागुन २१ गते आफ्नो जीवनको अर्को खड्को पार गर्नुभयो । उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना ! 

अन्तिम अपडेट: चैत २३, २०८०

अमरेन्द्र यादव

करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय यादव राजनीति र समसामयिक विषयमा लेख्न रुचाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया