राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने
मंसिर १०, २०८१ सोमबार
लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका–२ घनपोखराका कृष्णप्रसाद घिमिरेका जिजु–बाजे, बाजे र बुवा गरी तीन पुस्ता घुम्ती भैँसीगोठमै रमाए । उनीहरुले घुम्ती भैँसीगोठबाटै जीवन गुजारा गरे । तर धेरै कमाउने सपना बोकेर घिमिरे वैदेशिक रोजगारीमा हानिनुभयो । मलेसिया पुग्नुभयो । त्यहाँ उहाँले दुःख धेरै गर्नुभयो । तर आम्दानी खासै भएन ।
‘विदेशमा साह्रै दुःख पाइयो । त्यसैले गाउँ फर्केर बाउ–बाजेले अँगालेको बाटो रोजेर म यो पेसामा लागेको छु,’ लमजुङको घिँचेस्थित घुम्ती भैँसीगोठमा भेटिनुभएका घिमिरेले भन्नुभयो ।
‘विदेशमा साह्रै दुःख पाइयो । त्यसैले गाउँ फर्केर बाउ–बाजेले अँगालेको बाटो रोजी म यो पेशामा लागेको छु,’ लमजुङको घिँचेस्थित घुम्ती भैँसीगोठमा भेटिनुभएका घिमिरेले भन्नुभयो ।
मालिक पनि, गोठालो पनि
घुम्ती भैँसीगोठका मालिक र गोठालो दुवै हुनुहुन्छ घिमिरे । गोठमा अहिले साना–ठूला गरी झण्डै १ सयको हाराहारीमा भैँसी छन् । आफ्नोसहित १५ घरधुरीका भैँसी उहाँको गोठमा छन् ।
‘४० वटा जति मेरै भैँसी छन् । अन्य १४ घरधुरीका भैँसी पनि छन् । कसैका ३/४ वटा भैँसी छन् भने कसैका १७ वटासम्म छन्,’ घिमिरेले भन्नुभयो, ‘हिउँदको बेला बेसीमा झर्दा भैँसी धनीले ३/४ वटा भैँसी घरमा लगेर राखेका छन् । बर्खामा ती सबै भैँसी लेकतिर लाग्छन् । बर्खामा मेरो गोठमा १ सय ५० वटासम्म भैँसी हुन्छन् ।’
वार्षिक कमाइ पाँच लाख
भैँसीगोठबाट घिमिरेले वार्षिक झण्डै ५ लाख कमाइ गर्नुहुन्छ । ‘दूध, दही र घ्यू बिक्रीबाट वार्षिक साढे ४ लाखसम्म कमाइ हुन्छ,’ उहाँले भन्नुभयो ।
भैँसी धनीले गोठमा भैँसी पाल्न दिएसँगै घिमिरेलाई राशनपानी पनि दिन्छन् । दूध, दही र घ्यू बिक्रीको पैसा घिमिरेले भैँसी धनीलाई बुझाउनु पर्दैन । भैँसी र पाडापाडी बिक्री गरेको पैसा भने घिमिरेले भैँसी धनीलाई बुझाउनुपर्छ ।
भैँसीगोठ हिउँदमा तल बेसीतिर झर्छन् । बर्खाको समयमा भने माथितिर सर्छन् । घिमिरेका अनुसार हिउँदमा मार्दा, प्रोभी, घोप्टे, सिने र घिँचेमा खर्क सारिन्छ । घिँचेबाट खर्क बिस्तारै रब्लेफाँट, धाँदु, किन्जे खोला, प्रोभी, मार्दा, सिंकु हर्सिङ, हुम्रुङ, किचमिचे र थिम्रुङ हुँदै सिन्की खोलासम्म पुग्छ । ‘४ हजार मिटर उचाइसम्म हाम्रो घुम्ती गोठ पुग्छ,’ उहाँले भन्नुभयो ।
हिउँद, बर्खा र उकाली–ओराली नभनी भैँसीगोठमै उहाँको जीवन व्यतित भइरहेको छ । भैँसीगोठमा दुःख कति छन् कति । तर दुःख भएता पनि आम्दानी पनि लोभलाग्दो नै छ । उहाँका अनुसार दुःख गरेअनुसारको कमाइले सारा दुःख बिर्साइदिन्छ । यसैको आम्दानीले घिमिरेले आफ्नो परिवारको गर्जो टार्नुभएको छ । छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिनुभएको छ ।
श्रीमतीको अटुट साथ
घिमिरेलाई यस व्यवसायमा श्रीमती टुकमाया घिमिरेको उत्तिकै साथ, सहयोग छ । भैँसीगोठ जहाँ जान्छ, घिमिरेसँगै श्रीमती पनि त्यही पुग्नुहुन्छ । घिमिरे दम्पतिले घुम्ती गोठमा १० वर्ष बिताइसक्नु भएको छ ।
भैँसीगोठमा दुःख ज्यादा छ । तर श्रीमान्को साथमा आफ्नै देशको पाखापखेरीमा श्रम–पसिना बगाउन पाउँदा श्रीमती टुकमाया पनि खुशी हुनुहुन्छ ।
‘घर, परिवारको साथ रहेर दुःख गर्दापनि खुशी लाग्छ । सुख मिल्छ,’ घिँचेस्थित घामपानीबाट बच्न बनाइएको त्रिपालको टहरामा कृष्णप्रसादलाई खाना पस्किँदै टुकमायाले भन्नुभयो ।
गोठमा उत्पादित दूध, दही, घ्यू र महीबाट बनाइएका छुर्पी गोठ बेसी सर्दा गोठमै बिक्री हुन्छ । अन्य समय दुग्ध उत्पादन बिक्रीका लागि घिमिरे आफैँ बजार जानुहुन्छ ।
घिमिरे बजार गएको बेला टुकमायाले एक्लै भैँसीगोठको हेरविचार गर्नुहुन्छ । ‘गोठमा उत्पादित घ्यू, दही, दूध र छुर्पी बजारमा छोपाछोप हुन्छ । उत्पादनले राम्रो मूल्य पनि पाउँछ,’ घिमिरेले भन्नुभयो, ‘प्रति माना ७ सय रुपैयाँको दरले घ्यू बिक्री हुन्छ ।’
लेकमा उत्पादन बढी
घिमिरेका अनुसार तुलनात्मक रुपमा खर्क लेकतिर सरेसँगै उत्पादन बढ्छ । ‘बेसीमाभन्दा लेकमा उत्पादन बढ्छ । लेकतिर खर्क सरेको बेला दैनिक ६ मानासम्म घ्यू उत्पादन हुन्छ,’ घिमिरेले थप्नुभयो ।
घुम्ती गोठमा भैँसी पाल्न दिएका भैँसी धनीले भैँसी र पाडापाडी बिक्रीबाट आएको केही पैसा घुम्ती गोठवालालाई दिइने गरेको भैँसी धनी विष्णुबहादुर गुरुङले बताउनुभयो ।
‘भैँसी गोठालालाई छुट्टै तलब त हुँदैन । तर हामी भैँसी धनीले राशनपानी दिन्छौँ । भैँसीको दूध, दही र घ्यू हामीलाई बुझाउनु पर्दैन । भैँसी र पाडापाडी बिक्रीको पैसा भने सम्बन्धित भैँसी धनीलाई बुझाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामीले दुहुनो भैँसी बेचेर आएको पैसामध्ये एक हजार रुपैयाँ र राँगो बेच्दा ५ सय रुपैयाँ गोठालोलाई दिन्छौँ ।’
गुरुङ पनि पुरानो भैँसीगोठालो हुनुहुन्छ । ‘पहिले म पनि भैँसी गोठालो थिएँ । अहिले त उमेर ढल्कदै गयो । दुःख गर्न सकिँदैन । त्यसैले भएको केही भैँसी पनि घुम्ती गोठमा पाल्न दिएको छु,’ ६० वर्षे गुरुङले भन्नुभयो ।
लमजुङमा ३ सयको हाराहारीमा घुम्ती गोठ
लमजुङमा घुम्ती गोठमा धेरै संख्यामा भेडाबाख्रा र गाईभैँसी रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार लमजुङमा भेँडाबाख्रा र गाईभैँसीका लागि ३ सयको हाराहारीमा घुम्ती गोठहरु रहेका छन् । गोठबाट राम्रै आम्दानी पनि भइरहेको उहाँले बताउनुभयो ।
‘लमजुङमा गाईभैँसी र भेडाबाख्राका लागि ३ सयको हाराहारीमा घुम्ती गोठ छन् । तीमध्ये झण्डै ४० वटा घुम्ती भैँसीगोठ छन् । प्रत्येक गोठमा १० देखि ९० वटासम्म भैँसी पालिएका छन्,’ उहाँले भन्नुभयो, ‘ठूला भैँसीगोठका गोठालाले वार्षिक ५ लाखसम्म कमाइ गर्छन् । त्यसभन्दा पनि ठूलो भैँसीगोठको वार्षिक आम्दानी १५ लाखसम्म हुन्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।