प्रदेश २ सरकारले फेरि संघीय सरकारविरुद्ध मुद्दा हाल्ने

 फागुन २३, २०७६ शुक्रबार १७:२०:१६ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश २ सरकारले स्वामित्व हस्तान्तरणका लागि फेरि संघीय सरकारविरुद्ध मुद्दा हाल्ने निर्णय गरेको छ ।

प्रदेश २ ले विरगञ्ज चिनी मीलको जग्गाको स्वामित्वका लागि संघीय सरकार विरुद्ध मुद्दा हाल्ने भएकाे हाे । शुक्रबार बसेकाे मन्त्रिपरिषद्को बैठकले संघीय सरकारले मिलको जग्गा कब्जा गर्न खोजेको भन्दै आफ्नो स्वामित्वमा ल्याउन सर्वोच्च अदालतमा मुद्दा हाल्ने निर्णय गरेको हो । यसअघि प्रदेश २ ले सागरनाथ वन परियोजनाको स्वामित्वका लागि संघीय सरकारविरुद्ध मुद्दा हालेकाे थियाे । 

अन्य सार्वजनिक जग्गालाई पनि प्रदेशको मातहतमा ल्याउन संघीय सरकारलाई आग्रह गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।

संविधानले सार्वजनिक जग्गा प्रदेश मातहत हुने ग्यारेन्टी गरे पनि  संघीय सरकार चासो नलिएपछि मन्त्रीपरिषदबाटै निर्णय गरी जग्गा प्राप्तिको पहल थालिएको उहाँले बताउनुभयाे । 

रौतटहको गौरमा राइस मिलको जग्गाको स्वामित्व प्रदेश सरकारकाे मातहतमा ल्याउने प्रक्रिया अघि बढाउन कानूनमन्त्री यादवको नेतृत्वमा एक कार्यदल गठन गरिएको छ । कृषिसँग सम्बन्धित महत्वपूर्ण कार्यालयहरु संघीय सरकारले आफ्नै मातहत राखेकाे भन्दै प्रदेशकाे २काे मातहतमा ल्याउन पहल थालिएकाे छ । 

मत्स्य विकास केन्द्र, नक्टाझिज कृषि फर्म, नवलपुर कृषि फर्म जस्ता महत्वपूर्ण कार्यालयहरु अझैपनि संघीय सरकारले आफ्नै मातहतमा राखेको प्रदेश सरकारको आराेप छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया