कोरोना सङ्क्रमणले विदेश भ्रमण जोखिमपूर्ण रहेको बेला सांसदहरु खाडीमा

 फागुन २४, २०७६ शनिबार १८:१:१७ | उमाकान्त पाण्डे

यूएई – घरेलु कामदारको अवस्थाबारे बुझ्न प्रतिनिधिसभाका १० जना सदस्यको टोली खाडीका विभिन्न देश पुगेको छ ।

विश्वभरि फैँलिदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण विदेश भ्रमण जोखिमपूर्ण रहेको बेला नेपाली सांसदहरुको टोली ओमान, आउदी अरब र युएई भ्रमणमा  छ ।  

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका पदाधिकारी एवं राष्ट्रिय मानव अधिकार आयोगका अधिकारीसम्मिलित टोली ओमान, साउदी अरब हुँदै शुक्रबार यूएई आइ पुगेको छ ।

कोरोना भाइरसको फैलिदो सङ्क्रमणको कारण खाडी देशहरुमा समेत उच्च भेटघाटमा कडाइ गरिएको छ । तर प्रतिनिधिसभा सदस्यहरुको जम्बो टोली फागुन १७ गतेदेखि खाडी देशहरुको १० दिने भ्रमणमा रहेको छ ।

टोलीका सदस्यहरुले ती देशका नेपाली दूतावासको संरक्षित गृहमा रहेका केही महिला कामदार तथा सम्बन्धित देशमा रहेका नेपाली संघसस्थाका प्रतिनिधिसँग भेटघाट तथा छलफल गरेका छन् । ओमान तथा साउदी अरबमा रहेका नेपाली प्रतिनिधिसँग समेत छलफल गरेको टोलीले यूएईमा शनिबार उही प्रकृतिको भेटघाट तथा छलफल गर्दै छ ।

साढे चार वर्ष पहिले सांसद प्रभु साहको नेतृत्वको टोलीले दिएको प्रतिवेदनका आधारमा खाडी देशमा घरेलु कामदार पठाउन रोकिएको थियो । त्यही रोकिएको बाटो खुलाउनका लागि अध्ययन गर्न भनेर सांसदहरुको टोली अहिले खाडी पुगेको छ । टोलीले नेपाल फर्केलगत्तै घरेलु कामदार खाडी देश पठाउने बाटो खोल्ने सरकारको तयारी छ ।   

प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवको नेतृत्वमा सांसदहरु भीमसेनदास प्रधान, गोपालबहादुर बम, दूर्गाकुमारी विश्वकर्मा, प्रमोद साह र सूर्यनारायण यादव भ्रमण टोलीमा हुनुहुन्छ । 

त्यस्तै, संसद सचिवालयका उपसचिवद्वय शिवदत्त बराल र केशवराज सुवेदी पनि टोलीमा हुनुहुन्छ । त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठक र शाखा अधिकृत रविलाल नेपाली पनि सांसदहरुसँग हुनुहुन्छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया