अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
कोरोना भाइरस (काेभिड–१९) को कारण अहिले संसारभरको जनजीवन प्रभावित भएको छ । एक सय २४ देशमा कोरोना फैलिसकेको छ । कोरोनाको प्रवेश नभएका देशमा पनि अनेक समस्या देखिइरहेका छन् ।
यसैकाे प्रभावका कारण बजारमा दैनिक उपभोग्य वस्तुको अभाव बढेको छ । अमेरिका र बेलायतका केही सुपरमार्केटमा ट्वाइलेट पेपरको लागि मारामार भइरहेको पनि हामीले देख्यौँ । दैनिक उपभोग्य वस्तुको अभाव र महँगी संसारका धेरै देशमा देखिएको छ । तर नेपालमा भने विदेशमा भन्दा धेरै नै फरक अवस्था देखिएको छ । यहाँ व्यापारीले सरकारी निकायकै अगाडि उपभोक्ता ठगिरहेका छन् । सात सय गुणा धेरै मूल्यमा सामान बेचिरहेका छन् । कालोबजारी, कृत्रिम अभाव र गुणस्तरहीन सामानको खुलमखुला बिक्री भइरहेको छ ।
उपभोक्ता जहिल्यै मारमा
नेपालमा चाडपर्व आउँदा होस्, खुसीयाली मनाउँदा होस् या सङ्कट आउँदा होस् अभाव, महँगी र कालोबजारी भएकै हुन्छ । भूकम्पका बेला व्यापक कालोबजारी भयो । सरकारले त्यसबाट पाठ सिकेर राम्रा नीति नियम बनाउला, बजार व्यवस्थित गर्ला, उपभोक्ता अधिकारको कार्यान्वयन गर्ला भन्ने अपेक्षा थियो तर त्यस्तो भएन ।
भूकम्पपछि नाकाबन्दी भयो, नाकाबन्दीमा उपभोक्ता चरण शोषणमा परे । हरेकजसो सामान व्यापारीले लुकाउने, अभाव देखाउने अनि तोकिएको भन्दा कयौँ गुणा धेरै मूल्यमा बेच्ने चलन झनै मौलायो । सरकारले बजार अनुगमनको औपचारिकता पूरा गर्यो, उपभोक्ता मज्जासँग ठगिए ।
संविधानमा असहमति जनाउँदै भारतले नाकाबन्दी लगायो । नेपालीले महँगी, कालोबजारी, अभावलगायतका समस्या झेले । उपभोक्ताको आशा थियो, अब त व्यापारीले ठग्दैनन् होला ।
तर संविधान कार्यान्वयनपछि पनि उपभोक्ता ठगिने क्रम रोकिएको छैन । अहिले कोरोना भाइरसको त्रासमा नागरिकले केही सामग्री स्टकमा राख्न खोजेकाले बढी नै माग भइरहेको छ । यही मौका छोपेर व्यापारीहरुले रातारात सामानको भाउ बढाएका छन् । सामान लुकाउन थालेका छन् । गुणस्तरहीन र 'लेबल' नभएका सामान बेच्न थालेका छन् । सरकारले अनुगमन भएको छ भन्छ, तर उपभोक्ताले साधारण मूल्यमा सामान पाएका छैनन् ।
हस्तक्षेप गर्न नसक्ने सरकार
नेपालमा व्यापारीले उपभोक्ता लुट्ने चलन पुरानै हो । कहिले उनीहरु आफै बहाना बनाउँछन् । कहिले देशमा परेको समस्यालाई मौकामा चौकाको रुपमा लिन्छन् । कुखुराका चल्ला मार्छन् अनि केही दिनमा भाउ पाँच सय गुणाले बढाउँछन् । ग्यास, लसुन, प्याजलगायतका सामग्री गोदाममा लुकाउने अनि बजारमा अभाव भएको देखाएर मूल्य बढाउने चलन बढ्दो छ । अहिले त मास्क (मुखावरण) र स्यानिटाइजर अनि विभिन्न प्रकारका औषधिमै उपभोक्ता ठगिएका छन् ।
सरकारसँग नेपालमा माग कति हो, आपूर्ति कति भइरहेको छ, देशमा उत्पादन कति छ, कुन वस्तुको आयातकर्ता को हो लगायतका जानकारी नै हुँदैन । सरकारले बजारलाई खुला र स्वतन्त्र छाडिदिएको छ, व्यापारीहरुले यसको मौका छोपेका छन् ।
यस्तो बेलामा सरकारले बजारमा हस्तक्षेप गर्न सक्नुपर्थ्याे । सरकारसँग साल्ट ट्रेडिङ कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड छ । कम्पनीले यो बेलामा लाखौँ थान मास्क, स्यानिटाइजर अन्य दैनिक उपभोग्य वस्तु किनेर बजारमा सस्तोमा बेचिदिएको भए, कालोबजारी गर्ने र बढी मूल्यमा सामान बेच्ने व्यापारीहरु आफै नियन्त्रणमा आउँथे । तर यी दुई सरकारी कम्पनीले बजारमा कुनै पनि किसिमको उपस्थिति देखाएनन्, हस्तक्षेप गर्न सकेनन् । फलस्वरुप व्यापारीले आफूलाई लागेको मूल्यमा सामान बेचेका छन्, लुकाएका छन्, उपभोक्ता थर्काएका छन्, सरकार मुकदर्शक बनेको छ ।
जरिबाना तिराएर पुग्दैन, जेल पठाउनुपर्छ
अहिले वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन गरिरहेको दाबी गर्छ । यति ठूलो शहरमा दैनिक ५/७ वटा फर्म र पसलमा अनुगमन हुन्छ । एक त विभागको अनुगमन नै प्रभावकारी छैन । अनुगमन गरेपछि व्यापारीलाई उसले गरेको अपराधअनुसारको सजाय र जरिबाना पनि हुन सकेको छैन ।
व्यापारीले सात सय गुणासम्म धेरै मूल्यमा सामान बेच्छन् तर विभागले दुई लाख रुपैयाँ जरिबाना तिराएर छाड्छ । त्यो व्यापारीको लागि दुई लाख रुपैयाँ ठूलो कुरा होइन, उसले भोलिदेखि फेरि ठग्न थाल्छ ।
सरकारले अहिले उपभोक्ता संरक्षण ऐन २०७५ मात्रै कार्यान्वयन गरेको छ । तर उपभोक्ता ठग्ने व्यापारीलाई कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अनुसार पाँच वर्षसम्म जेल सजायको व्यवस्था अनुसार कारबाही हुनुपर्छ । थोरै रकम जरिबाना तिरेर उन्मुक्ति दिने चलनले व्यापारीहरुले सजिलै ठग्न पाइरहेका छन् ।
विभागले हरेक दिन २/४ लाख रुपैयाँ जरिबाना तिराएका खबर फैलाएर सफलता हात पारेजस्तो गरे पनि त्यसले बजार नियन्त्रणमा कुनै भूमिका खेलेको देखिन्न ।
उपभोक्ता पनि सचेत र जिम्मेवार बन्नुपर्छ
हामी उपभोक्ताले पनि हल्लाको भरमा बजार जाने, सामान ल्याएर थुपार्ने, बढी मूल्य तिर्ने जस्ता काम गरिरहेका हुन्छौँ । सानो हल्ला चल्नेबित्तिकै दैनिक उपभोग्य वस्तु घरमा थुपार्ने चलनले गर्दा व्यापारीहरुले मनलाग्दी गर्न पाएका छन् । कमसेकम कुरा बुझेर बजार धाउने हो भने ठगिनुपर्दैन ।
अर्को कुरा चाहिनेभन्दा धेरै सामान किनेर घरमा स्टक राख्दा जोखिमहरु हुन्छन् । तपाईँले ग्यास स्टकमा राख्नुभएको छ भने घरमा धेरै सिलिण्डर ग्यास राख्दा सुरक्षा खतरा हुन सक्छ । त्यस्तै दाल, चामल, नुन तेललगायतका वस्तु लामो समय घरमै राख्दा उपभोग्य मिति गुज्रने, गुणस्तर नष्ट हुने लगायतका समस्या हुन्छन । गुणस्तर नष्ट भएका वस्तुको प्रयोगले हाम्रो स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।
अर्को कुरा उत्पादनको मिति, उपभोग्य मिति, लेबललगायतका जानकारी भएका सामान मात्रै किन्नुपर्याे । कुनै सामान किन्दा ठगिएको शङ्का लागेमा प्रहरी या वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा खबर गर्नुपर्छ । हामी ठगिएको जान्दा जान्दै पनि चुप लागेर बस्ने चलनले गर्दा ठग्नेहरुलाई हौसला मिलिरहेको छ ।
(उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनासँग अर्जुन पोख्रेलले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
तिमिल्सिना उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुनुहुन्छ ।