सबैभन्दा उत्तम विकल्प प्रत्यारोपण नै हो

 फागुन ३०, २०७६ शुक्रबार १४:२८:१० | प्रा. डा. प्रेमराज ज्ञवाली
unn.prixa.net

प्रधानमन्त्रीजस्तो व्यक्तित्वलाई नेपालमै मिर्गौला प्रत्यारोपण गर्दा हामीलाई धेरै हौसला मिलेको छ । विश्वास बढेको छ । खुसी लागेको छ । सरकार प्रमुखजस्तो व्यक्तिले आफ्नै देशको चिकित्सक र अस्पताल छान्नु हाम्रो लागि ठूलो गौरवको कुरा हो । प्रधानमन्त्रीमा नेपालमै गरिएको मिर्गौला प्रत्यारोपणले समग्रमा देशैभरि धेरै सकारात्मक सन्देश गएको छ । नेपाली अस्पतालहरु सुविधासम्पन्न छैनन् र नेपाली चिकित्सकहरु सक्षम छैनन् भन्ने जुन भ्रम जनमानसमा फैलिरहेको थियो, त्यसलाई तोड्न यसले महत्त्वपूर्ण भूमिका खेलेको छ । 

हामीहरु प्रधानमन्त्रीसँग पहिला पनि सम्पर्क र भेटघाटमा थियौँ । आफ्नो रोगको बारेमा उहाँको हामीसँग कुराकानी भइरहन्थ्यो । हामीले पनि विगत साढे एघार वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्दै आइरहेका छौँ । उहाँमा मिर्गौला प्रत्यारोपण गर्न सक्षम छौँ भन्ने हामीलाई आत्मविश्वास थियो । उहाँ पनि देशप्रेमी मान्छे, आफ्नै अस्पताल रुचाउने मान्छे, आफ्नै नागरिक र आफ्नै चिकित्सकलाई विश्वास गर्ने मान्छे हुनु भएकोले यो सम्भव भयो । 

हामीले सुरुदेखि नै प्रधानमन्त्रीलाई नेपालमै मिर्गौला प्रत्यारोपण गर्न सल्लाह दिन्थ्यौँ । बाहिरभन्दा नेपालमा प्रत्यारोपणको सफलता दर कम छैन । बरु बाहिरको भन्दा हाम्रो दर राम्रो छ । आफ्नै देशमा प्रत्यारोपण भयो भने आफ्नै देशको अस्पतालको इज्जत बढ्छ । आफ्नै देशका चिकित्सकहरुको मनोबल बढ्छ भन्दै हामीले उहाँलाई नेपालमै मिर्गौला प्रत्यारोपण गर्न आग्रह गर्दथ्यौँ । हाम्रो आग्रहलाई स्वीकार गरेर प्रधानमन्त्रीले हामीमा आत्मविश्वास र गौरव बढाइदिनुभयो । 

हामीलाई कहिल्यै पनि डर लागेन । प्रधानमन्त्रीमा मिर्गौला प्रत्यारोपण गर्न सक्दैनौं भन्ने हामीलाई कहिल्यै पनि लागेन । साधारण व्यक्तिमा गरिने अपरेशन र प्रधानमन्त्रीमा गरिने अपरेशनमा केही पनि फरक हुँदैन । त्यसैले हामीमा आत्मबल थियो । हामी सक्षम पनि छौं भन्ने हामीलाई लागिरहेको थियो । त्यो हामीले गरेर देखायौँ । विगत साढे एघार वर्षमा हामीले शिक्षण अस्पतालमा झण्डै सात सय मिर्गौला बिरामीको अपरेशन गरेकै हो । सबै बिरामी यहीँ छन् । सबै परिणाम हाम्रा आँखा अगाडि नै छन् । त्यसैले हामी हच्किएको र डराएको होइन । 

मेरो जिन्दगीमा पहिलो पटक सरकार प्रमुखजस्तो स्तरको मान्छेको अपरेशनमा म संलग्न भएको हुँ । बाहिरको वातावरण, मिडियाका साथीहरु र हाम्रो साथीहरुबाट जुन शुभकामना र हौसला हामीलाई प्राप्त भयो, त्यसले अलिकति मानसिक दबाब बढेको थियो । नत्र हाम्रो सीप र क्षमतामा हामीलाई पूर्ण आत्मविश्वास थियो । 

डिस्चार्ज भएर बालुवाटार भएपछि उहाँ भिडभाडबाट बच्नुपर्छ । खासगरी भिडभाडको प्रत्यक्ष सम्पर्कबाट बच्नुपर्छ । सङ्क्रमण सर्न सक्ने डर भएकोले त्यसबाट बच्नको लागि हामीले उहाँलाई सल्लाह दिन्छौँ । बालुवाटार गइसकेपछि पनि उहाँलाई हामीहरुले प्रत्यक्ष निगरानीमा राख्छौँ ।  

हर्निया र एपेन्डिसाइटिसजस्ता साधारणभन्दा साधारण अपरेशन गर्दा पनि मान्छे तीन, चार दिन बेडमा सुतेका हुन्छन् । पाँच, सात दिनसम्म 'ऐया ऐया' भन्दै हिँडेका हुन्छन् । हामीले प्रधानमन्त्रीको दोस्रो मिर्गौला प्रत्यारोपण गरेका छौँ । यो त्यति सजिलो अपरेशन होइन । तर उहाँको आत्मबल र उहाँमा लगाइएको मिर्गौलाले यति राम्रोसँग काम गरिरहेको छ कि साधारणभन्दा साधारण अपरेशनबाट कसरी मान्छेहरुले ‘रिकभर’ गर्छन्, त्यसरी नै उहाँको स्वास्थ्य सुधार भइरहेको छ । 

चिकित्सकीय भाषामा 'बेड रेस्ट' भनेको ओछ्यानमा सुत्नु हो । हामीले उहाँलाई ओछ्यानमा सुत्न भन्दैनौं । उहाँ अहिले नै बेडबाट उठेर हिँडडुल गरिरहनुभएको छ भने बालुवाटारमा गएर बेड रेस्ट गर्नु आवश्यक छैन । तर उहाँले सङ्क्रमणबाट अलिकति सचेत हुनुपर्दछ, त्यति मात्र हो । 

अन्य मिर्गौला रोगी र प्रधानमन्त्रीमा धेरै समानता छन् । तर उहाँको शल्यक्रियापछिको स्वास्थ्य प्रगति हामीले सोचेभन्दा छिटो र राम्रो भइरहेको छ । मिर्गौलाले राम्रो काम नगर्दा हप्तामा एक चोटि वा दुई चोटि डायलासिस गरेर  प्रधानमन्त्रीले १६ देखि १८ घण्टासम्म निरन्तर काम गरिरहनुभएको थियो । केही दिनमा पूर्ण रुपमा सामान्य अवस्थामा फर्किसकेपछि उहाँको काम गर्ने क्षमता त्योभन्दा पनि बढी हुन्छ । तर अलिकति उहाँले आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ । आफ्नो स्वास्थ्यको लागि उहाँले अलिकति समय आराम गर्ने र ठिक समयमा काम गर्ने गर्नुपर्दछ । 

संसारमा सबभन्दा पहिलो सफल मिर्गौैला प्रत्यारोपण सन् १९५४ मा अमेरिकाको बोस्टनमा सम्पन्न भएको थियो । त्यसको ठिक ५४ वर्षपछि सन् २००८ सालमा नेपालमा मिर्गौैला प्रत्यारोपण सुरु भयो । सन् २००८ सालसम्म हामीलाई मिर्गौला प्रत्यारोपणको अनुभव थिएन । हाम्रा चिकित्सकहरु त्यसका लागि तयार थिएनन् । नेपालमा पढ्ने ठाउँ थिएन । हामी विदेश गएर पढेर आयौँ । मिर्गौला प्रत्यारोपणमा एक जना मात्र चिकित्सकको दक्षता र अनुभवले काम गर्दैन । धेरै किसिमका विशेषज्ञ चिकित्सकहरुले काम गर्छन् ।

हामी विभिन्न देशमा पढेर आएपछि मिर्गौला प्रत्यारोपण गर्न तयार भयौँ भन्ने लाग्यो । तर त्यस बेला कानुनी उल्झनहरु यस्ता थिए कि कुनै पनि दक्ष र अनुभवी चिकित्सकले मिर्गौला प्रत्यारोपण गर्न सक्दैन्थ्यो । बाहिरबाट हामी पढेर आइसकेपछि कानुनी जटिलताहरु हटाउन लगायौँ । आफ्नै देशमा मिर्गौला प्रत्यारोपण गर्न सक्यौँ भने नेपाली बिरामी र पैसा विदेश जान पाउँदैन भन्नेमा हामीले धेरै नेता र मन्त्रीलाई 'कन्भिन्स' गर्‍यौं । फलस्वरुप बेइजिङ ओलम्पिक शुभारम्भको दिन नेपालमै पहिलो सफल मिर्गौला प्रत्यारोपण गर्‍यौँ ।

नेपालभरिमा लगभग १५/१६ सय जनामा मिर्गौला प्रत्यारोपण भइसकेको छ । त्रिवि शिक्षण अस्पतालमा मात्रै सात सयको हाराहारीमा हामीले मिर्गौला प्रत्यारोपण गरिसकेका छौँ । 

हामीले राम्ररी बुझ्यौँ भने मिर्गाैला प्रत्यारोपण गर्न अब विदेशतिर जान आवश्यक छैन । भारतका बिरामीहरु हाम्रो देशमा आइरहेका छन् । हाम्रोमा सस्तो छ । सफलता दर राम्रो छ । यहाँ आउन, खान र बस्न सस्तो पर्छ । त्यसैले विदेशबाट मिर्गौलाका बिरामी नेपाल आउने प्रचलन सुरु भएको छ । तर अझै पनि नेपालबाट विदेश जाने दुई किसिमका बिरामी छन् । 

हाम्रो नेपालमा नातामा पर्ने बिरामीले मात्रै मिर्गौला दान गर्न पाउँछ । त्यसबाहेक अन्य मान्छेको मिर्गौला निकालेर हामीले प्रत्यारोपण गर्न सक्दैनौँ । यसरी नातेदारबाट मिर्गौला पाउने सम्भावना नभएपछि बिरामीहरु विदेश जान्छन् । अर्को जसले हामी नेपाली चिकित्सकलाई विश्वास गर्दैनन्, त्यस्ता मिर्गौला रोगी प्रत्यारोपण गर्न विदेश जान्छन् । तर नेपालमै मिर्गौला प्रत्यारोपण गराएर प्रधानमन्त्रीले नेपाली चिकित्सक र यहाँको स्वास्थ्य सेवाप्रति विश्वास प्रकट गरिसक्नुभयो । 

मिर्गौला दान मिर्गौला प्रत्यारोपणको सबभन्दा जटिल पक्ष हो । नेपालको कानुनले सबभन्दा पहिला के सुनिश्चित गरेको छ भने धनीमानी मानिसले गरिब मानिसको मिर्गौला किन्न नपाओस् । मसँग पैसा छ भन्दैमा मैले एक जनाको मिर्गौला किन्ने, अर्को व्यक्तिको कलेजो किन्ने र अर्कोको मुटु किन्ने नैतिक र कानुनी कुरा होइन । यो मानव शरीर हो । भगवानले दिएको शरीर हो । सबै मानिसलाई भगवानले यो पृथ्वीमा बाँच्न पठाउनुभएको छ । सबैको अधिकार एउटै हुन्छ । मानव अङ्ग पैसाको चलखेलमा लेनदेन हुनु हुँदैन ।  

मिर्गौला दानसम्बन्धी नेपालको कानुन भारतको भन्दा धेरै उदार छ । भारतमा आफ्नो नाता पर्ने करिब १० जना नातेदारले मात्रै मिर्गौला दिन पाउँछन् भने नेपालमा नातामा पर्ने ३९ जनासम्मले मिर्गौला दिन पाउँछन् । नेपालमा कानुन अलि खुकुलो बनाउनुको कारण के हो भने मिर्गौलाको खरिद/बिक्री नहोस् । यसको उद्देश्य के हो भने गरिब नागरिकलाई ललाइफकाइ, पैसाको प्रलोभनमा पारेर वा जबरजस्ती उसको अङ्ग निकालेर कसैमा प्रत्यारोपण नहोस् ।  

मिर्गौला बिग्रिँदा बिरामीसँग दुई वटा विकल्प हुन्छन् – एउटा प्रत्यारोपण र अर्को डायलासिस । सबभन्दा सजिलो विकल्प निश्चित रुपमा प्रत्यारोपण नै हो । दुवै मिर्गौला फेल भएको मान्छेको लागि सबैभन्दा उत्तम विकल्प मिर्गौला प्रत्यारोपण नै हो । किनभने मिर्गौला प्रत्यारोपण गरिसकेपछि मान्छे सामान्य जीवनमा फर्किन्छ । खानपिन केही बार्नुपर्दैन । 

दोस्रो, आफ्नो पेसा अनुसारको सबै काम उसले गर्न सक्छ । डायलासिसको झन्झटबाट मुक्त हुन्छ । र समग्रमा हेर्ने हो भने मिर्गौला फेल भएको मान्छेलाई डायलासिसमा राखिएको भन्दा मिर्गौला प्रत्यारोपण गरिएको मान्छेको आयु धेरै लामो हुन्छ । त्यसैले मिर्गौला प्रत्यारोपण नै यसको सबैभन्दा मुख्य उपचार हो । 

नेपालमा लगभग वर्षमा तीन हजार मानिसको मिर्गौला फेल हुन्छ । त्यसमध्ये २१ सय जनाको दुवै मिर्गौला पूर्ण रुपमा फेल हुने गरेका छन् । हरेक वर्ष २१ सय जना बिरामी थपिँदै जाने हो भने १० वर्षमा २१ हजार जना बिरामी हुन्छन् । यसको अनुपातमा नेपालमा अस्पतालको सङ्ख्या कम छ । त्यसमा पनि त्रिवि शिक्षण अस्पतालस्तरको अस्पतालको सङ्ख्या एकदमै कम छ । 

हामीले विगत १२ वर्षमा १५/१६ सय जनामा मिर्गौला प्रत्यारोपण गरेका छौँ । एक वर्षमा २१ सय जनाको मिर्गौला प्रत्यारोपण गर्न आवश्यक छ । सबैको मिर्गौला प्रत्यारोपण शिक्षण अस्पताल, वीर अस्पताल र मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले मात्रै गरेर सक्दैन । यस्तो स्तरको अस्पताल सातै प्रदेशमा कम्तीमा एउटा/एउटा हुनुपर्छ । यस्तो मिर्गौला प्रत्यारोपण केन्द्र बनाउन सक्यौँ भने मिर्गौला बिरामीलाई धेरै राहत हुन्छ ।

संसारमा कुनै पनि यस्तो देश छैन जहाँ डायलासिस निःशुल्क होस् । कुनै पनि देश छैन जहाँ मिर्गौला प्रत्यारोपण निःशुल्क होस् । तर नेपालमा डायलासिसको खर्चमा सरकारले ठूलो राहत दिने गरेको छ । यस्तै मिर्गौला प्रत्यारोपणमा ४/५ लाख रुपैयाँ सरकारले सहयोग गरेको हुन्छ । जे होस् नेपाल मात्रै यस्तो देश हो जहाँ मिर्गौलाका बिरामीलाई सरकारले यसरी सहयोग गरेको छ ।

हो, सरकारले गरेको सहयोग कम हुन सक्छ । उनीहरुलाई अरु सहयोग चाहिन सक्छ । तर हामीले के बुझ्नु पर्दछ भने नेपालजस्तो गरिब देशले मिर्गौलाको बिरामीलाई यति धेरै मद्दत गरिरहेको छ ।   

(सर्जरी तथा युराेलाेजी विशेषज्ञ ज्ञवालीसँग उज्यालाे सहकर्मीले गर्नुभएकाे कुराकानीमा आधारित) 

अन्तिम अपडेट: असार ९, २०७७

प्रा. डा. प्रेमराज ज्ञवाली

ज्ञवाली सर्जरी तथा युराेलाेजी विशेषज्ञ हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया