नमुना परीक्षण गराएका सबैको रिपोर्ट ‘नेगेटिभ’

 चैत ७, २०७६ शुक्रबार १३:४४:५ | डा. रुना झा
unn.prixa.net

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चैत २ गते आइतबारसम्म चार सय ६७ जनाको नमुना परीक्षण गरेको छ । कोरोना भाइरससम्बन्धी सबै जनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ । सुरुमै एक जनामा ‘पोजेटिभ’ देखिएको थियो । उनी निको भइसके ।  

सरकारले सङ्क्रमितको सङ्ख्या लुकाउन प्रयोगशालालाई दबाब दिएको भन्ने कुरा सरासर गलत हो । हामीले प्रमाणको आधारमा भन्ने हो । नमुना परीक्षणबाट कोरोना सङ्क्रमित हामीले भेटेका छैनौं । तपाईंहरुले कतै त्यस्तो सङ्क्रमित देख्नुभएको छ भने सरकारलाई बताइदिनुस् । 

बाहिरका देशहरुमा हेर्नुभयो भने कोरोना भाइरस एकदमै छिटो फैलिने रोग हो । परिवारका सबै सदस्यलाई हुने, त्यसपछि समुदायमा सर्ने, अफिसमा काम गर्नेलाई हुने र त्यसको सम्पर्कमा आउने अन्यलाई सर्ने रोग हो । त्यसैले यसलाई लुकाएर लुकाउन सकिँदैन । 

सरकारले भाइरस लुकाउन सक्दैन । समुदायले पनि भाइरस लुकाउन सक्दैन । कोरोनाको बिरामी यदि घरमा छन् भने उसलाई सरकारले पनि लुकाउन सक्दैन । कोरोना सङ्क्रमितलाई कसैलाई देख्नुभएको छ भने सरकारलाई जानकारी गराइदिनुस्, सहयोग हुन्छ । 

नेपालमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमण एक जनाभन्दा बढीमा प्रमाणित भएको छैन । कसैलाई सङ्क्रमणको आशंका लाग्यो भने उसले सिधै प्रयोगशालामा आएर नमुना परीक्षण गराउन सक्दैन । आशंका लाग्यो भने पहिला डाक्टरलाई देखाउने हो । त्यसपछि आइसोलेसनमा बस्ने हो । आइसोलेसन फेसिलिटीबाट उसको नमुना परीक्षणको लागि हाम्रोमा आउँछ ।

धेरैजसो नमुना परीक्षणका लागि टेकुमा रहेको शुक्रराज सरुवा तथा ट्रपिकल अस्पतालबाट हाम्रो प्रयोगशालामा आउँछन् । किनभने धेरै आइसोलेसनका बिरामी त्यहाँ नै हुन्छन् । त्यसको अलावा अन्य अस्पतालबाट पनि नमुना सङ्कलन गरेर परीक्षणका लागि आउने गरेका छन् । 

जब चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलियो । त्यहाँबाट १ सय ७५ जना नेपालीलाई ल्याएर क्वारेण्टाइनमा राखियो ।  क्वारेण्टाइनमा  रहेकाहरुको नमुना परीक्षण हाम्रो उत्तरदायित्व थियो र यसलाई म हाम्रो सौभाग्य पनि ठान्छु । किनभने हामीले देशको लागि केही गर्ने मौका पायौं । तर त्यो हाम्रो नियमित कामकै हिस्सा थियो ।

त्यसको लागि हामीले केही थप भौतिक र प्राविधिक बन्दोबस्त गर्नुपर्‍याे । हाम्रो प्रयोगशालाबाट भक्तपुरको खरिपाटीमा रहेको क्वारेण्टाइन टाढा भएकोले हामीले केही थप गाडीको व्यवस्था पनि गर्नुपर्याे । 

नमुना परीक्षणको क्रममा ‘मोलिकुलर’ परीक्षण धेरै झन्झटिलो हुन्छ । एउटै नमुना परीक्षण गर्न ४ देखि ८ घण्टासम्म समय लाग्छ । त्यसपछि ‘डबल स्योर’ हुनलाई हामीले दुई दुई वटा जिन हेर्छौं । क्वारेण्टाइनमा रहेकाको नमुना परीक्षण हामीले एकै चोटि गरेनौं । किनभने एकै चौटि परीक्षण गर्दा कुनै बिग्रियो भने फेरि सबै गर्नुपर्ने हुन्छ । त्यसैले चार ‘लट’ मा बाँडेर हामीले नमुना परीक्षण गरेका थियौं । 

यो मौसमी रुघाखोकीको मौसम हो । त्यसैले यसले चाप बढ्छ भन्ने हामीलाई पहिलेदेखि अनुमान थियो । कोरोना परीक्षणको चापभन्दा पनि हामीलाई मानसिक रुपमा यसले व्यस्त बनाइदिएको छ । भविष्यमा कोरोना भाइरसको सङ्क्रमण फैलियो भने त्यसको तयारीका लागि अचेल हाम्रो दिनचर्या बित्ने गर्दछ । क्वारेण्टाइनमा हामीले ठूलो सङ्ख्यामा नमुना परीक्षण गरेका थियौं । त्यसबाहेक हामीले प्रयोगशालामा दैनिक पाँच जनाभन्दा बढीको परीक्षण गरेका छैनौं । भोलि सय जनाको परीक्षण गर्नुपर्ला, दुई सय जनाको वा हजार जनाको गर्नुपर्ला भने कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामीले तयारी गरिरहेका छौं । 

आजको मितिमा प्रयोगशालाभित्रको कामभन्दा पनि मानसिक तयारीको काममा बढी समय बित्ने गरेको छ । मौसमी रुघाखोकीको नमुना परीक्षण गर्ने काम धेरै वर्षदेखि भइरहेको छ । त्यसैले कोरोना भाइरसको नमुना परीक्षण ‘रुटिन’ काम जस्तै हो । यो नेपालको सबभन्दा आधुनिक उपकरणहरु भएको प्रयोगशाला हो । कुनै निजी अस्पतालमा पनि यो स्तरको सुविधा छैन । त्यसकारण थेग्न सक्ने हामीसँग राम्रै क्षमता छ । कति अस्पतालमा एउटा पनि प्रयोगशाला हुँदैन । हामीसँग ‘मोलिकुलर’ परीक्षण गर्नकै लागि ६ वटा प्रयोगशाला छन् । हाम्रो एउटा प्रयोगशाला अहिले सञ्चालनमा छ । आवश्यकता पर्‍यो भने अन्य प्रयोगशाला पनि सञ्चालनमा ल्याइने छ । 

नेपालमा कोरोनाको सङ्क्रमण ठूलो मात्रामा फैलियो भने चिकित्सकीय हिसाबले थेग्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा म भन्न सक्दिनँ । आजकै मितिमा दुई लाख जनामा सङ्क्रमण भयो भने के गर्ने भनेर चिन्ता गरेर पनि भएन । केही हदसम्मको लागि तयारी गरिएको छ । आजको मितिमा इरान वा इटालीको जस्तो अवस्था भयो भने कसरी सम्हाल्ने भन्नेसम्मको तयारी गर्न सकिन्छ । पूरा देशकै तीन करोड नागरिकलाई सङ्क्रमण भयो भन्ने विषयमा सोचिएको छैन । 

नेपालमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ तर प्रयोगशालाले पत्ता लगाउन सकेको छैन भन्ने कसैले भन्छ भने उसले किन भन्छ थाहा छैन । त्यस्तो कोरोना सङ्क्रमित नागरिक तपाईंहरुले खोजेर ल्याइदिनुपर्‍यो । त्यस्तो सङ्क्रमितलाई तिमीहरुले नेगेटिभ रिपोर्ट दियौ भनेर हामीलाई भन्नुस् । त्यस्तो सङ्क्रमित व्यक्तिले अरु दश जनालाई सारिदियो भन्ने प्रमाण छ भने हामीलाई दिनुस् । तर अनावश्यक र गलत हल्ला कसैले फैलाउँछ भने त्यसलाई खण्डन गरिरहनुपर्ने आवश्यकता म देख्दिनँ । 

(राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झासँग अमरेन्द्र यादवले गर्नुभएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. रुना झा

डा. झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक हुनुहुन्छ ।

1 Comments

  • महेश पाैडेल

    March 20, 2020, 4:13 p.m.

    लगातार १० दिन देखी यत्रतत्र काेराेना भाईरस टेष्ट रिपाेर्ट सम्बन्धमा मात्र यहि तथ्यांक देखाईरहेकाे छ र याे २ गतेकाे डक्टरकाे अन्तर्बार्ताकाे अंश हाे भने सायद १ गते सम्मकाे तथ्याङ्क हाेला यस्ताे अबस्थामा यहि सरकार नियन्त्रित तथ्यांककाे हवाला दिएर आजसम्म पनि पुनः प्रकाशित गराईरहेकाे छ?तथ्यहरुले प्रस्ट गरिरहेछ १० दिन देखि नेपालमा नयाँ टेष्ट भा कै छैन? त्यस अगाढिकाे भनिएकाे याे तथ्याङ्क पनि फेब्रिकेटेड हाेईन र सहि हाे भन्नेमा विश्व स्वास्थय संगठन देखि देशभरिकै आम ब्यक्तिहरु पुर्ण शंका ब्यक्त गर्दछन।कतै हामी नेपाली जनता माथि धाेखा त हुँदै छैन।टेष्ट शुरु भयााेाे भनिए देखिनै याे ४६७ काे संख्यानै नबढेपछि वा नगरे पछि नेगेटिभ वा पााेजेटिभ छैन भन्न मिल्छ? मिडिया पनि चनाखाे र राज्यकाे चाैथाे अंग जसरीनै परिचालित हुनु पर्याे।खाेजी पत्रकारीता पनि गर्नु पर्याे,रा.स.स. वा सरकारी मुखपत्रहरुबाट मात्र चुहिएकाे रिपाेर्टमा मात्र चलेर याे विषम परिस्थितिमा जिम्मेवारी पुरा हुँदैन।

  •  0 Reply

तपाईको प्रतिक्रिया