कोरोना जाँच गर्न भन्दै पक्राउ गरेर कतारले गर्‍यो १५० नेपाली श्रमिकलाई डिपोर्ट

 चैत ७, २०७६ शुक्रबार १४:३:५५ | महेश्वर नेपाल

काठमाण्डौ – कतारमा कार्यरत रोल्पाका राम प्रकाश सुनार गएको बुधबार घरमा पैसा पठाउन सनैयामा रहेको ग्राण्ड मल जानु भयो । पैसा पठाउने रेमिट्यान्समा पहिले पहिले पैसा पठाउँदा पाएको भौचर दिनुभयो र त्यही खातामा पैसा जम्मा गरिदिन भन्नुभयो । 

भोलिपल्ट बिहीबार काममा भएको बेला मोबाइलमा फोन आयो । रामप्रकाशलाई फोन गर्ने व्यक्ति थिए, रेमिट्यान्स कम्पनीका स्थानीय प्रतिनिधि । उनले खाता नम्बर गलत भएको र खाता नम्बर सच्याउन आउन फोनमा आग्रह गरे । 

शुक्रबार बिदाको दिन रामप्रकाश ग्राण्ड मलमा रहेको रेमिट्यान्स कम्पनीमा जानै लाग्दा सनैयामा रहेको लेबर क्याम्पको ४ नम्बर गेट अगाडिबाट पक्राउ पर्नुभयो । कोरोना  भाइरसको सङक्रमण चेक गर्न भनेर प्रहरीले पक्राउ गरेको भए पनि आफूलाई जेलमा लगेर डिपोर्ट गरिएको रामप्रकाशले बताउनुभयो । 

‘हामीहरुलाई जेलमा लगेर राख्यो, न त हाम्रो कोरोना चेक नै भयो, के कारणले समातेको भनेर प्रश्न गर्ने हिम्मतसम्म गर्न सकिएन,’ उहाँ भन्नुहुन्छ, ‘केही सोध्न खोज्यो कि लात्ताले हानिहाल्ने ।’

रामप्रकाशलाई कतारले डिपोर्ट गरेपछि खाता नम्बर गलत भएको पैसा के हुने हो भन्ने चिन्ता एउटा छ भने अर्को चाहिँ पाँच वर्ष कतारमा काम गरेको मेहनत यसै गयो भन्ने छ । 

‘रेमिट्यान्स कम्पनीको मान्छेले फोनमा हुँदैन नभनेको भए सायद आज फर्किनु पर्दैनथ्यो कि, जेलमा भएको मान्छे जान पाइनँ,’ उहाँ सोध्नुहुन्छ, ‘अब म के गर्नु’कतारको औद्योगिक क्षेत्र सनैयाबाट नेपालीसहित अन्य देशका नागरिकलाई भिडभाडमा गएको भनेर कतार प्रहरीले पक्राउ गरेको थियो । 

गुल्मीका देवीबहादुर पेशाले सवारी चालक हुनुहुन्थ्यो । गएको शुक्रबार उहाँ पनि श्रीमतीलाई पैसा पठाउन आफ्नो गाडी साइड लगाएर स्टार्ट नै बन्द नगरी रेमिट्यान्स कम्पनी जानु भएको थियो । पैसा पठाएर गाडी पार्क गरेको ठाउँमा जाँदा उहाँलाई पनि प्रहरीले पक्राउ गर्‍यो । 

‘कोरोना चेक गर्नु छ, यहाँ आइज भन्यो, जाँदा त समातेर सिधै प्रहरी चौकी लगेर भेडाबाख्रा झैँ राख्यो,’ देवीबहादुर गुनासो गर्नुहुन्छ, ‘मेरो गल्ती के भयो भन्ने अहिले नेपाल आउने जहाज चढ्दा पनि मैले बुझेको छुइनँ ।’

देवीबहादुरले कतारमा काम गर्न थालेको १७ वर्ष भयो । आफू घर फर्किन पाए पनि आफूजस्तै धेरै साथीहरु कतारकै जेलमा रहेको सुनाउँदै उहाँ भन्नुहुन्छ, ‘नेपाली यसरी पक्राउ गर्दै डिपोर्ट हुँदा पनि किन हाम्रो दूतावासले चासो दिएन ?’

तनहुँ खैरेनीका नरबहादुर राना बिदाको बेला सधैँ भलिबल खेल्न सिक्नुहुन्थ्यो । तर यो सिकाई यसपालि भने गलत सावित भइदियो । बिदाको दिन दुई पाकिस्तानी साथीसँग भलिबल खेल्दाखेल्दै उहाँ पक्राउ पर्नुभयो । 

‘प्रहरी पाकिस्तानी थिए, हामी सँगै खेलेका पाकिस्तानीलाई प्रहरीले तेरो टिममा कोे को छन् भनेर सोध्यो, उसले चार जना नेपाली देखाइदियो, हामी पक्राउ पर्‍यौँ, उनीहरु बचे, ’नरबहादुरले भन्नुभयो । 

भलिबल खेल्दै गरेका नरबहादुरसहितका साथीलाई कोरोनाको जाँच गर्न पर्‍यो भन्दै बोलाइयो । तीमध्ये कति त मार्केट गएर आएका थिए । भलिबल खेल्ने ठाउँ कचरा मार्केट नजिकै पर्छ । 

नरबहादुर भन्नुहुन्छ, ‘किनमेल गरेर फर्किएकाहरुको झोलामा दाल, चामल तरकारीहरु थिए, उनीहरुको सबै सामान फाल्न लगाएर गाडीमा हालेर जेल लग्यो ।’

ग्राण्डमलतिर घुम्न निस्किएका पोखराका गणेश विक, रोल्पाका रेशमबहादुर पुन मगर र उनका साथीहरु आफूहरुलाई के कारणले पक्राउ परिएको भन्ने कुरा थाहै नभएको बताउँदै भन्नुहुन्छ, ‘कोरोना चेकको लागि भनेर लिएर गयो प्रहरीले, चेक नै गरेन । चेक गरेर रिपोर्ट दिएको थियो भए त हुन्थ्यो ।’

उहाँहरुजस्तै १५० जनालाई कतार सरकारले डिपोर्ट गरी बिहीबार राति नेपाल फर्काइदिएको छ । कोरोनाको जाँच गर्न भन्दै सबैलाई पक्राउ गरिएको भए पनि जाँच नै नगरी डिपोर्ट गरिएको उनीहरु बताउँछन् । 

जेल लगेपछि प्रहरीले सरसामान र पासपोर्ट लिन आ–आफ्नो क्याम्पमा लिएर गएको र त्यसपछि स्वदेश फर्काइदिएको उनीहरुको भनाइ छ । 

यसरी पक्राउ परेर डिपोर्ट हुनेहरु कोही  कम्पनीले तलब दिए पनि ग्राचुइटी (उपदान) भने नदिएको बताउँछन् ।

कतारको श्रम कानुन अनुसार बेसिक तलब को पहिलो ५ वर्ष २१ दिन प्रति वर्षका दरले, ५ देखि १० वर्ष काम गरेकालाई २८ दिनका दरले र १० वर्षभन्दा बढी काम गरेका श्रमिकलाई ३५ दिनका दरले ग्राचुइटी दिनु पर्ने प्रावधान रहेको छ ।

 

बिनाकारण डिपोर्ट गरेको भन्दै न्याय माग्न आफूहरु नेपालमा रहेको कतारी दूतावासमा जाने डिपोर्ट (देश निकाला) भएर आएका श्रमिकहरु बताउँछन् ।

कतार सरकारले भिडभाडमा गएको भन्दै पक्राउ गरिएकामध्ये १ सय ५० जना नेपाली श्रमिकलाई बिहीबार डिपोर्ट गरी नेपाल पठाएको छ । डिपोर्ट गरिएकाहरु कतार एयरवेजको उडान नम्बर ६४४ बाट काठमाण्डौ आइपुगेका छन् ।

भिडभाडमा नजानू भन्ने जानकारी नपाएको उनीहरु बताउँछन् । भन्छन्, ‘यस्तो नियम थाहा पाएको भए, बाहिर जाने थिएनौँ ।’

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • Min Prasad Koirala

    May 26, 2020, 7:17 a.m.

    ठिक र गजब गर्यो त्याहाको सरकार ले। नेपाली ले न्युज बनाउदा कतार लाई गलत र नेपालिलाइ माथी पारेर बनाउनु स्वाभाबिक हो तर कोरोनाको महाबिपत्ती को बेला आफुखुसी लखरलखर डुल्दा रास्ट्र र सम्पुर्ण नागरिक जोखिम मा पर्न सक्छन। मैनौ भैसक्यो सारा बिश्व अक्रान्त छ अझै भिडभाड मा नजाने सुचना पायनौ अरे लाजको पसारो। अब गाउँ बस्ने /लकडाउन पालना गर्ने/सामाजिक दुरि कायम गर्दै उत्पादन मा लाग्ने.....

  •  1 Reply

तपाईको प्रतिक्रिया