अत्यावश्यक अवस्थामा मात्रै जाँडरक्सी खाए/नखाएकाे जाँच गरिने

ट्राफिक सचेतना कक्षा स्थगित

 चैत ७, २०७६ शुक्रबार १५:४७:१५ | उज्यालो सहकर्मी

काठमाण्डौ - कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणका कारण ट्राफिक प्रहरीले अत्यावश्यक अवस्थामा मात्रै  जाँडरक्सी खाए/नखाएकाे जाँच गर्ने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यान दिएर मापसे जाँच गर्ने तरिकामा परिवर्तन गरिएको बताउनुभयो । 

अत्याधिक मात्रामा जाँडरक्सी सेवन गरी गाडी चलाएको भेटिए अस्पतालमा लगेर परीक्षण गरी आफन्तको जिम्मा लगाइने उहाँले बताउनुभयो । उहाँले पहिले जस्तो मेसिन लगाएर जाँच नगर्ने तर चालकले जाँडरक्सी खाएकाे आशङ्का लागेमा अस्पताल लगेर जाँच गर्ने व्यवस्था गरिएको बताउनुभयो ।

जोखिमको अवस्थामा प्रहरीले जाँच खुकुलो बनाएको मौका पारी जाँडरक्सी खाएर गाडी नचलाउन समेत ढकालले आग्रह गर्नुभयो । महाशाखा प्रमुख ढकालले ट्राफिक प्रहरीले कोरोनाको सङ्क्रमणबाट बच्न शुक्रबारदेखि जनचेतनाको अभियान सञ्चालन गरिएको बताउनुभयो ।

उपत्यकाका ८० भन्दा बढी ठाउँमा ट्राफिक प्रहरीको टाेली परिचालन गरी कोरोना सङ्क्रमणको जोखिमबाट बच्ने जनचेतनामूलक अभियान सञ्चालन गरिएको बताउनुभयो । 

‘मास्क लगाऔँ, भिडभाड नगरौँ, हात धोऔँ’ लेखिएका ब्यानरसहित नागरिकमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

ट्राफिक प्रहरीले उपत्यकामा सञ्चालन हुने सार्वजनिक गाडीमा भिडभाड हुन नदिन र गाडीको सरसफाइमा ध्यान दिन यातायात व्यवसायीहरुलाई सचेत गराएको छ । ट्राफिक प्रहरीभित्र पनि कोरोना भाइरसको सचेतना कार्यक्रम गरी सावधानी अपनाइएको छ ।

विभिन्न जाँचमा परी लाइसेन्स, ब्लूबूक लिन जानेहरुलाई दिइने सचेतना कक्षासमेत तत्काल स्थगित गरिएको र सचेतना कक्षा पछि लिनेगरी तत्काललाई लाइसेन्स र ब्लूबूक उपलब्ध गराइने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया