सरकार ! कोरोनाविरुद्धको लडाइँ 'हतियार'विना सम्भव छैन

 चैत १८, २०७६ मंगलबार १४:३०:२९ | भानुभक्त निरौला
unn.prixa.net

सोलुखुम्बु - सेती प्रादेशिक अस्पतालमा रहेका सङ्क्रमित युवाले स्वास्थ्यकर्मीबाट आवश्यक उपचार नपाएको गुनासो सञ्चारमाध्ययममा आयो । धेरैले डाक्टरलाई गाली गर्न थाले । तर अवस्था फरक छ । स्वास्थ्यकर्मीहरु जिम्मेवारी निभाउन तयार छन् ।

तर उनीहरुका लागि आवश्यक सुरक्षा सामाग्री अझै पुर्याउन सकिएको छैन । स्वास्थ्य जाँच तथा उपचारका लागि पीपीईजस्ता अत्यावश्यक सुरक्षाकवच नहुँदा चिकित्सकले बिरामीको नाडी छाम्ने अवस्था छैन । 

गाउँघरको अवस्था नाजुक छ । ‘लकडाउन’को राम्रो निर्णय गरेको सरकारले यसको भरपुर उपयोग गर्ने विषयमा भने चुकेको छ । स्वास्थ्य सामाग्रीको आपूर्तिमा कमजोरी देखाएको सरकारी संयन्त्रले कोरोना परीक्षणको दायरासमेत बढाउन सकेको छैन । परीक्षणको दायरा बढाउनुको सट्टा प्रहरीलाई लाठी दिएर ठाउँठाउँमा खटाइएको छ । कम गुणस्तरको ‘फिभर गन’ लिएर अहेबहरुले ज्यानको बाजी थाप्दै गौँडातिर परीक्षण गरिरहेका छन् । 

परीक्षण कार्यमा खटिएका प्रहरी र स्वास्थ्यकर्मी स्वयं सङ्क्रमणको जोखिममा छन् । ठाउँठाउँमा खडा गरिएका स्वास्थ्य परीक्षण केन्द्रमा आवश्यक सुरक्षा र उपकरणको अभाव छ । त्यसैले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले ठूलो जोखिम मोलिरहेका छन् ।

पीपीई सेटको त कुरै छोडौँ । मेडिकल मास्कको समेत अभाव छ गाउँमा । कोरोनाको सङ्क्रमणबाट बच्न आधारभूत आवश्यकताको समेत आपूर्ति नहुँदा नागरिकले राज्यविहीनता महसुस गरेका छन् । ग्रामीण भेगका नागरिक सरकारको साथमा छन् । तर आमनागरिकसँग राज्यले कतिको दरिलो रुपमा उपस्थिति जनाइरहेको छ भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । 

गाउँमा बढ्दो जोखिम

विदेशबाट आएकाहरु यतिखेर गाउँमा सर्वाधिक खोजीको सूचीमा छन् । तर उनीहरुको स्वास्थ्य परीक्षण गर्ने आँट अहिलेसम्म स्वास्थ्यकर्मीहरुले गर्न सकेका छैनन् । किनभने  उनीहरुसँग सुरक्षा सामाग्र्री छैनन् । आफू सुरक्षित नभइकन विदेशबाट आएकाहरुको परीक्षण गर्न जोखिम हुने स्वास्थ्यकर्मीहरुको बुझाइ छ । 
विदेशबाट आएकाहरु क्वेरण्टीनमा नबसी गाउँघरमा घुमिरहँदा कतै गाउँमा सङ्क्रमण फैलिरहेको त छैन भन्ने चिन्ता गाउँलेहरुमा छ ।

कोरोनाको भय सहरभन्दा गाउँमा बढी छ । किनकी यहाँ विदेश र सहर दुवैतिरबाट मान्छे आएका छन् । उनीहरुले निर्बाध रुपमा भेटघाट गरिरहेका छन् । त्यसैले सहरियाहरुले ल्याएको कोरोना कोसेलीको त्रासले गाउँलेहरुको निन्द्रा हराइरहेको छ । 

पहिले सहर बढी असुरक्षित थियो । अहिले गाउँ बढी असुरक्षित छ । गाउँमा ‘लकडाउन’को कडाइका साथ पालना भइरहेको छैन । यो स्तम्भकार ‘लकडाउन’को तेस्रो दिन एउटा गाउँमा रिपोर्टिङको लागि पुग्दा गाउँलेहरु भेला भएर तास खेलिरहेका थिए । उनीहरुको जमघट हेर्दा तिहार सुरु भएकोजस्तो लाग्थ्यो । समूहमा भेला भएर तास र भलिबल खेल्नु ग्रामीण भेगको दिनचर्याजस्तै छ । त्यस्ता समूहलाई आजसम्म ‘लकडाउन’ले छोएको छैन । 

स्थानीय तहमा प्रयोगशाला 

हामी सङ्क्रमितको सङ्ख्या कम भएकोमा दङ्ग छौँ । एक हजारको हाराहारीमा परीक्षण गरेर आएको नतिजाकै आधारमा ढुक्क हुने अवस्था छैन । परीक्षणको दायरा बढाएर हरेक स्थानीय तहसम्म पुर्याउने हो भने मात्रै वास्तविक तथ्याङ्क आउन सक्छ । तीनै तहका सरकारले बजेटलाई एकीकृत गर्ने हो भने परीक्षण प्रयोगशाला स्थापना गर्न चुनौति छैन । केवल इच्छा शक्तिको आवश्यकता छ । 

अहिले पनि कतिपय स्थानीय सरकारले धेरै उदाहरणीय काम गरेका छन् । क्वरेण्टीन स्थापना, गाउँगाउँमा स्वास्थ्य परीक्षण र विपन्नलाई राहत प्याकेज वितरणजस्ता कार्य गरेर ती सरकारले नागरिकलाई राहत दिने प्रयास गरेका छन् । तर यतिले मात्रै सम्भावित महामारीको सामना गर्न निकै कठिन हुने देखिन्छ ।

विश्वका प्रभावित देशहरुको अभ्यासलाई हेर्ने हो भने नेपालको स्थिति भयावह नहोला भन्न सकिन्न । बेलायतका प्रधानमन्त्रीदेखि अमेरिकासम्म लाखौँको सङ्ख्यामा सङ्क्रमण फैलिनु र इटालीमा ज्यान गुमाउनेको सङ्ख्यालाई नियाल्दा हामीमा केही भइहाल्यो भने भगवान भरोसा बस्नुको विकल्प हुँदैन । 

पहिलो चरणमै रोकथाम गर्न प्रायः असम्भव भएको यो महामारीलाई दोस्रो चरणमा निमिट्यान्न पार्न राज्यले कामको गति बढाउन ढिलो गर्नुहुन्न । सुविधासम्पन्न प्रयोगशालाको स्थापना र उपचार कक्षको निर्माण तथा सञ्चालन अहिलेको टड्कारो आवश्यकता हो । तसर्थ विश्वासिलो र भरपर्दो संयन्त्र निर्माण गरी रोकथाममा लाग्ने हो भने कोरोनामाथिको विजय असम्भव छैन । 

अन्तिम अपडेट: जेठ १६, २०७७

भानुभक्त निरौला

भानुभक्त निरौला सोलुखुम्बुमा रहेको हिमाल एफएमका प्रबन्ध निर्देशक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया