‘परदेशीलाई आफ्नै समाजले कोरोना बनायो’

 चैत २३, २०७६ आइतबार १९:४८:५५ | मेरो कथा मेरो भोगाई

महेश नेपाल/सिन्धुपाल्चोक, हाल यूएई ।

म अहिले यूएईको अबुधाबी ईमिरेट्स अन्तर्गत अल ऐन भन्ने ठाउँमा छु । म यहाँ बस्दिनँ, यो देशमा काम गर्दिनँ भनेर स्वतन्त्र हिसाबले बस्न थालेको पनि १९ दिन भैसक्यो । म घर फर्कन चाहेर कानुनी रुपमा स्वतन्त्र भइसकेको मान्छेले पनि घर फर्कन पाइनँ । कस्तो बाध्यता भनौं या परिस्थिती ।

आजसम्म केही भएको छैन, आराम छु । यदि केही भइहाल्यो भने मलाई झन पछुतो हुनेछ । म आफ्नो देश फर्कन चाहँदाचाहँदै पनि फर्कन नपाउँदा मलाई केही भयो भने मेरो जन्म देशको संयन्त्रलाई पाप लाग्ने छ । जस्तो भए पनि म मेरै देशमा रोगसँग लड्न चाहन्थें । तर मलाई यहाँ बस्नुपर्ने बाध्यता छ ।

म पञ्छीजस्तो स्वतन्त्र हुन चाहेर सबै कुरो त्यागेर आउन खोज्दा पनि नपाउने किन होला ?

मेरै गाउँघर, पाखापखेरामा मरे पनि बाँचे पनि मेरै देश, मेरै आफन्त र मेरै माटोमा मर्न चाहन्थेँ । तर परदेशमा मानसिक र शारीरिक तनाव एक्लोपन हरेक कुरोले सताएको छ ।

म यो देशमाभन्दा मेरै भिरपाखोको हावापानीमा बढी सुरक्षित हुन्थें । मेरो रोगसँग लड्ने क्षमता र मानसिक रुपमा स्वस्थ पनि म मेरै देशमा हुन्थें जस्तो लाग्छ ।

हो पनि, अरुको लाख भन्दा त आफ्नाको काख नै प्यारो हुन्छ नि । कोरोनालाई त मेरो देशमा थिएँ भने आत्मबलले नै जित्थें जस्तो लाग्छ । तर के गर्नु परदेशमा निरीह भएर बाँच्न परेको छ ।

यहाँ जोखिम बढी छ । मेरो देश, मेरो माटो, मेरो हिमाल, मेरो जननी, मेरा आफन्त, शुभचिन्तक र जन्मभूमीलाई धेरै सम्झिरहेको छु ।

विदेश बस्ने हरेक नागरिकलाई अहिले कोरोनाको पोको भन्ने ठान्छन् समाजले । के हामी कोरोना हो र ?

हामीले कमाउँदा सबैको प्यारो । आज दुःखमा चाहिँ कोरोना ? कस्तो सोच ? हरेक देशले आफ्ना नागरिक विमान चार्टर गरी गरी लगेका छन् । तर हामी त टिकट काटेर फर्कन्छु देशले जारी गरेका नियम मान्छु भन्दा पनि एक्लै बस्न परेको छ ।

भिसा सकिएर बिरानो देशमा पिञ्जडामा झैं थुनिएकाहरु कहिले फर्कन पाउँछन् सरकार ? न खानाको टुङ्गो, न बस्नको टुङ्गो । यसरी कतिन्जेल बाचौंला र । कोरोना लागेर मरे पनि खान नपाएर अरु रोगले मरे पनि मृत्युको मूल्य उही होइन र ?

विदेशीलाई रोके पनि आफ्नो देशको अर्थतन्त्र धान्नेलाई त माया गर । विदेश बस्नेलाई किन कोरोना भाइरस नै भन्ने ठानेको ? किन हाम्रो गुन नेपाली समाज र सरकारले बिर्सिएको ?

भारतको नाका बन्द गर्नु, चीनको नाका बन्द गर्नु, बिमानस्थलमा चेक राम्रोसँग गर्नु, हामीलाई सेल्फ क्वारेण्टीनमा राख्नु, हामी मान्छौंं नि नियम । मेरो आफन्त अरु देशले चार्टर गरेर आफ्ना नागरिक लगेको जहाज हेर्दै मेरो बाटो कुरिरहेका छन् । रोइरहेका छन् । हामी यहाँ कोरोनाको जोखिमसँगै मानसिक यातना सहेर बसिरहेका छौं । हामी हाम्रो देश कहिले फर्कन पाउँछौं सरकार ?

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया