विदेशिएका नेपाली रेमिट्यान्सको माध्यम मात्रै होइनन्, परिवर्तनका आधार पनि हुन्

 चैत २६, २०७६ बुधबार १३:२६:४४ | मेरो कथा मेरो भोगाई

लेखनाथ सुवेदी,रुपन्देही / हाल, पोर्चुगल ।

वृद्ध बुवाआमा, जीवन संगिनी, साथीभाइ र जन्मभूमि सबै छाडेर अमिलो मन बनाएर भक्कानिदै परदेशिने रहर कसको हुन्छ र सरकार ? 

विश्व कोरोनाको संकटबाट भयभित हुँदा प्रवासमा लाखौं नेपाली युवाहरु अहिले डरैडरको जीवन बिताइरहेका छ्न । हरियो पासपोर्टमा वैदेशिक रोजगारीको प्रवेशाज्ञा लिएर हजारौं युवा आफ्नो सुनौलो भविष्यको सपना सजाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चढ्छन् ।

घरपरिवारको  लागि केही गरौंला, दुई छाक भए पनि मिठोमसिनो खाउँला, एकसरो कपडा भए पनि लगाउँला, आफ्ना बाबुनानीहरुलाई राम्रो शिक्षा दिउँला, उनीहरुको सुनौलो भविष्य बनाउँला, चाडपर्व र खुसीयालीमा आफ्नो घर परिवारमा केही थान भए पनि खुसीका पार्सल पठाउँला भन्दै मिठो सपना बोकेर परदेशिएकाहरुको जीवन परदेशमै पो सकिने हो कि ?

लाग्छ ती सुनौला सपनाहरुमा डढेलो पो लाग्ने हो कि ? घर, परिवार र साना ती नाना बचेराहरुका खुसी माटोमै मिसिने पो हुन् कि ? यस्तै–यस्तै अनेक पीर र डरैडरको जीवन बिताइरहेका छन्, मजस्तै हजारौँ नेपाली युवाहरु परदेशमा । 

भोक ठूलो कि रोग ठूलो ? रोजीरोटीको लागि विदेशिनु रहर थियो या बध्यता ? अहिले लाखौं युवाको मनमा यही प्रश्न खड्किरहेको छ । आफ्नो गाउँठाउँ, परिवार र साथप्भाइबाट टाढा रहेर यो परिस्थितिमा  अभाव झेलेर परदेशमा बस्न कसलाई रहर होला र सरकार ? 

सबै सपनाहरु अहिले एकै ठाउँमा कुन्ठित छ्न् । काम गुमेको छ । दिनरात व्यस्त देखिने बाटोहरु सुनसान छ्न् । भिडभाड देखिने रेस्टुरेन्ट, होटेल,  बार र सुपरमार्केट्हरु सबै बन्द छन् । समाचारमा देखिएझैं विश्वलाई नै आतंकित पार्ने गरी मान्छेहरु मरिरहँदा, अभाव र संकटका कुरा सामाजिक सञ्जालमा आइरहँदा परदेशीका मनहरु पनि आतंकित भएका छन् । परदेशीका सपनाका दियोहरु अहिले निभेका छन् ।

यो विपतमा परदेशमा भन्दा आफ्नै देशमा सुरक्षित हुने आशामा आफ्नो देश फिर्ता हुँदै गर्दा सिमानामा भोकभोकै बस्न बाध्य हजारौँ युवाहरुका आवाज किन सुन्दैन सरकार ? आफ्नो नागरिकलाई आफनो देश भित्रिन दे भन्दै सरकारसँग बिन्ती गरिरहेका आवाजहरु र ज्यानको बाजी लगाएर महाकाली नदी तर्दै गरेका दृश्यले कसको मन नछोला र ?

राज्यलाई संकट पर्दा नागरिकले देश बचाउनुपर्छ । आफ्ना नागरिक समस्यामा पर्दा त्यसको जिम्मा राज्यले लिनुपर्छ ।

परदेशिएका नेपाली रेमिट्यान्सका माध्यम मात्रै होइनन्, परिवर्तनका आधार पनि हुन् । यो विपत्तीमा स्वदेश फिर्ता हुन चाहने नेपाली नागरिकलाई अवरोध नगरियोस् । राज्यले समय र परिस्थिति अनुरुपको व्यवस्था गरोस्
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया