‘परदेशमा ज्यान ठिक छ, मन भने आत्तिएको छ’

 चैत २६, २०७६ बुधबार २०:११:३२ | मेरो कथा मेरो भोगाई

कमल न्यौपाने, रुपन्देही । हाल, यूएई ।

म रोजगारीको सिलसिलामा अहिले यूएईको अल एनमा छु । पहिलेको र अहिलेको दैनिकी फेरिएको छ । काम चलिरहेको छ । तर कोरोनाको कहरले नै समय छोट्टिएको छ । पहिले जस्तो धेरै काम गर्नु पर्दैन । त्यसो त यहाँको एउटा मलमा रहेको बैंकमा सेक्युरिटी गार्डको ड्युटी छ मेरो ।

काम भनेको अवलोकन गर्ने र गाईड गर्ने अनि केही समस्या भएको खण्डमा आफूभन्दा माथिल्लो निकायमा खबर गर्नु हो । अहिले कोरोनाको डरले मलहरु बन्द छन् र मैले काम गर्ने बैंक पनि बन्द छ । तर मेरो काम भने चलिरहेको छ । सुरक्षित र सावधानीका साथ आफ्नो काम गरिरहेको छु । 

यहाँ हरेक मानिसमा अहिले डर छ । सबैले आ– आफ्नो तरिकाबाट सावधानी अपनाइरहेका छन । मान्छेहरु एक अर्काको नजिक पर्न समेत डराइरहेका छन् । केही दूरी राख्दै हाई हेल्लो र सञ्चो बिसञ्चो सोध्ने काम भएको छ । 

यूएईमा भने हप्ता दिन अघिसम्म सङ्क्रमणं धेरै देखिएको थिएन । तर अहिले भने संक्रमितको सङ्ख्या बढ्दो क्रममा रहेकोले पनि मानिसहरु बडी त्रसित देखिएका छन ।

बिहान काममा आउदा र बेलुकी कोठामा पुग्दा शरीरको तापक्रम नापिएको छ र ड्युटीमा हुँदा पनि आफैले सुरक्षा सतर्कता अपनाएकोले पनि आफू सुरक्षित भएको लागेको छ । तर पनि सारा बिश्वभर कोरोनाको महामारी फैलिरहँदा मन भने पोलेको छ । 

परदेशमा छु, पलपल घरदेशको यादले तड्पाइरहेको छ । घरदेशमा समेत यतिबेला लकडाउनको अवस्था छ ।

सरकारले कोही कसैलाई पनि अति आवश्यक कामबाहेक आफ्नो घरबाट बाहिर ननिस्कनको लागि आग्रह गरेको छ ।

सुरुमा त सङ्क्रमित धेरै थिएनन्, तर अहिले बढेको छ । अहिले त घरदेशमा पनि कोरोनाको बिरामी भेटिएका छन् । डर लाग्छ कतै त्यता पनि फैलिंदै जाने हो कि भनेर । आफू यहाँ सुरक्षित भए पनि डर हुने रहेछ । हरेक पल घरकै बुवा र श्रीमतीसँग कुराकानी हुन्छ । 

घरका सबैलाई सुरक्षित साथ रहन अनुरोध गरेको छु । यूएईकै अबुधाबीमा रोजगारीको सिलसिलामा भाइ पनि छ । उसलाई पनि सम्झाइरहन्छु । घरबाट बुवाआमाले पनि दुवैजना आफ्नो ख्याल गर्नु भन्नुहुन्छ । 

समय समयमा साबुनपानीले हात धुनु, अनि जता पायो नछुनु र यो समय कोही कसैसँग पनि हात नमिलाउनु बरु जोकोही भए पनि नमस्कार गर्नु । मुखमा मास्क लगाउनु र धेरै ख्याल गर्नु । मैले पनि सधैंजसो हुन्छ भन्दै तपाईंहरु पनि ख्याल राख्नु है भनिरहन्छु । 

यहाँको सरकारी निकायहरुबाट सुरक्षाका लागि भरपुर प्रयास भएको छ । यस्तो व्यवस्था देख्दा चाहिँ परदेशमा भए पनि खुशी लाग्छ । आफ्ना नागरिक मात्र भन्दा पनि यहाँ काम गर्ने हरेकको सुरक्षाको निम्ति सम्बन्धित निकायहरुले काम गरेको पाएको छु ।

काममा जाँदा सबैले अनिवार्य मास्क र पञ्जा लगाउनुपर्ने, शारीरिक दूरी कायम गर्ने, अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कने, सार्वजनिक गाडीमा समेत कमभन्दा कम यात्रु राख्ने लगायतका धेरै निर्णयहरु स्वागतयोग्य छन् । विभिन्न सञ्जालमार्फत समय समयमा सुरक्षा सतर्कता अपनाउनका लागि सबैमा अनुरोध भैरहेको छ ।

खान बस्न त्यति समस्या भएको भने छैन । खानेकुरा पाइने मार्केटहरु खुलिरहेका छन् । सुपरमार्केट, हाईपरमार्केटहरु सुरक्षा सतर्कता अपनाउँदै आफ्ना ग्रहकहरुलाई सुबिधा दिइरहेका छन् । थोरै समय काम गर्नुपर्ने भएकाले फुर्सदको समयमा परिवार र साथीभाइसँग गफ गरेर बिताउँछु । समय समयमा समाचारहरु पनि सुन्ने गरेको छु । 

अति व्यस्त समयतालिका र भिडभाडका साथ अघि बढ्ने यो सहरहरु अचेल शान्त भएका छन् । बजारमा चहलपहल छैन । मानिसहरु पनि अति आवश्यक कामबाहेक बाहिर निस्किएका छैनन् । यो बेला सबैलाई आफ्नो काम, ज्यान र परिवारको माया छ । त्यसैले पनि यहाँको सरकारले जारी गरेको नियम मानिरहेको छु।

नेपालमा हुनेलाई पनि सरकारले जारी गरेको नियम पालना गर्नुहुन अनुरोध गर्दछु । भिडभाड नगर्नुहोला । केही समय घरमा जेजसो छ, तिनै खाएर जोहो गर्नुहोला । अवस्था सामान्य भइसकेपछि मन लागेको खानुहोला । मन लागेको ठाउँ जानुहोला । तर अहिले भने बसौं । तपाई बाहिर नगएर घरमै बस्दा कोरोना तपाईँको घरसम्म आउँदैन । यो परिस्थितीबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया