सर ! मलाई पास हुनैपर्छ नभन्नू है

 चैत २७, २०७६ बिहिबार ११:५९:३ | रिजन मडै
unn.prixa.net

सर ! मलाई पास हुनैपर्छ भनि जबर्जस्ती नगर्नू है 
किनकि मेरो साथी पास भएपछि बिदेसिएको छ 
गाउँका विकृति छुटाउन नपाउँदै छुटिन्छ  
सानो छँदा आमाले काखमा लेखाएको गुन तिर्न नपाउँदै 
रोजगारीको लागि भौतारिन्छ ।

सर प्लिज मलाई पास हुनैपर्छ नभन्नू है 
किनकि बालापनको दोस्ती अझै मजबुत बनेको छैन  
सुख, दुःख अझै साट्न पुगेको छैन 
होमवर्क मिलेर बनाए झैँ जिन्दगी मिलाएको छैन ।

सर मलाई पास हुनैपर्छ नभन्नू है 
किनकि उसलाई पछ्याउँदै म अगाडि हिँड्न पाउँदिन 
गीत गाउँदै अरुको खिसिट्याउ उडाउन मिल्दैन 
ऊ बस्ने ठाँउ मलाई बस्न मन लाग्दैन ।

सर प्लिज मलाई पास हुनैपर्छ नभन्नू है 
किनकि म कक्षाको अङ्कमा फेल भए पनि जिन्दगीमा पास हुनेछु 
नतिजामा फेल भए पनि समाजमा पास हुनेछु 
म जस्तै हाम्रा सपना सिउनमा पास हुनेछु  ।

प्लिज सर मेरो साथी र मलाई नछुटाइदिनू 
हामी पास भए त बिदेसिन्छौँ 
त्यसैले त सर  
मलाई पास हुनैपर्छ नभन्नू है ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

रिजन मडै

मडै बैतडीका स्थानीयवासी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया