पाल्पाकाे तानसेन बजारमा 'कृषि एम्बुलेन्स'

 बैशाख ८, २०७७ सोमबार ८:३३:८ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पाको सदरमुकाम तानसेन बजारमा कृषि एम्बुलेन्स सुरु भएको छ । सस्तो भाउ र ताजा तरकारी घरघरमै उपलब्ध गराउन कृषि एम्बुलेन्सको सुरुवात भएको हो ।

तानसेन नगरपालिकाद्वारा गठित तानसेन युवा परिषद्ले मदनपोखरामा उत्पादित तरकारी बजारसम्म ल्याएर आइतबारदेखि बिक्री वितरण सुरु गरेको छ । मदनपोखराका किसानहरुको तरकारी मदनपोखरा सङ्गम बहुउद्देश्यीय सहकारीले सङ्कलन गरी तानसेन युवा परिषद् मार्फत बिक्री वितरण गरिएको हो ।

आइतबार तानसेन टुँडिखेल मैदानबाट २४ टन तरकारी बिक्री भएको जानकारी दिँदै युवा परिषद्का अध्यक्ष गुराँस आत्रेयले सोमबार बिहान ९ बजेदेखि ११ बजेसम्म घरघरमै पुर्‍याउने जानकारी दिनुभयो । किसानसँग खरिद गरिएकै मूल्यमा उपभोक्तालाई तरकारी प्रदान गरिएको अध्यक्ष आत्रेयले बताउनुभयो ।

एकै स्थानबाट तरकारी बिक्री गर्दा बढी भिडभाड हुने भएपछि सामाजिक दुरी कायम गरी सोमबारदेखि घरघरमै तरकारी पुर्‍याइने छ । तरकारी बिक्रीका लागि गाडीमा तेल र तरकारी प्याक गर्न नगरपालिकाको आर्थिक सहयोग छ । काउली प्रतिकेजी २०, बन्दा प्रतिकेजी १० र काँक्रो प्रतिकेजी ३५ रुपैयाँका दरले बिक्री गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया